Comments Add Comment

महामारीबीच सेनाको एकीकरण मार्ग अभियान

३२५ किलोमिटर लामो दुई पदमार्ग पहिचान

४ असोज, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाबीच नेपाली सेनाले इतिहास संरक्षण अभियान चलाइरहेको छ । नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरुको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार गोरखा–धादिङ–नुवाकोट–काभ्रे–काठमाडौं ‘एकीकरण पदमार्ग’को सम्भाव्यता अध्ययन सकिएको छ । यसका लागि सेनाले इतिहासका प्राध्यापक दिनेशराज पन्तलाई समेत संलग्न गराएर लकडाउनअघि नै स्थलगत अध्ययन गरेको थियो ।

अध्ययन टोलीको प्रतिवेदनले दुईवटा पदमार्गको खाका प्रस्तुत गरेको सहायक रथी पौडेल बताउँछन् । उनका अनुसार, पहिलो पदमार्ग गोरखाबाट सुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रे पुग्छ । यो पदमार्ग १९६.५ किलोमिटरको हुनेछ । दोस्रोचाहिँ गोरखा, नुवाकोट, धादिङबाट काठमाडौंसम्म १२८.५ किलोमिटरको छ ।

यो पनि पढ्नुहोस पृथ्वीनारायण शाह काठमाडौं हिँडेको बाटोमा सेनाको पदयात्रा

प्रतिवेदनमा नेपाल एकीकरणको पृष्ठभूमि र तथ्य विश्लेषण, वर्तमान अवस्था, स्थानीयवासीका भनाइ, पदमार्ग संरक्षण र सम्बर्द्धनका लागि तत्काल गर्नुपर्ने कार्य तथा चनौतिहरुसमेत विश्लेषण गरिएको प्रवक्ता पौडेलले बताए ।

चार आयोजना सकिए

कोरोना महामारीका कारण काममा केही ढिलाइ भए पनि हालसम्म कार्यक्रम अन्तरगतका चारवटा आयोजना सेनाले सम्पन्न गरेको छ । गोरखा–काठमाडौं एकीकरण पदमार्ग सम्भाव्यता अध्ययन सकिएको छ भने सिन्धुलीगढी विकास बृहत् गुरुयोजनाको प्रोफाइल तयार भएको छ ।

पाल्पा दरबार संग्रहालयमा ऐतिहासिक शस्त्रअस्त्र कक्ष तयार भएको र काभ्रेमा पृथ्वीगढी भ्यू प्वाइन्ट निर्माण जारी रहेको सैनिक प्रवक्ता सहायक रथी पौडेलले बताए । ‘सिन्धुलीगढीमा संग्रहालय र बारामा एकता वाटिका निर्माणाधीन छन्’, उनले भने, ‘नेपाल एकीकरणको इतिहास सम्बन्धी पुस्तक गत फागुनमा विमोचन भइसकेको छ ।’

सिन्धुलीगढीमा निर्माणाधीन युद्ध संग्राहलयको काम ४५ प्रतिशत सकिएको उनले बताए ।

सेनाले नेपालका गढी, किल्ला र युद्धस्थलहरुको परिचयात्मक पुस्तकहरु पनि तयार गरेको छ । नेपाली सेनाले ऐतिहासिक एवं पुरातात्विक महत्वका वस्तु, सम्पदा, स्थल एवं दस्तावेजहरुको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गरेको प्रवक्ता पौडेल बताउँछन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन–२०७५’ को लक्ष्य नं. ६ मा नेपाल, नेपाली र नेपाली सेनाको इतिहास प्रबर्द्धन गर्ने विषय उल्लेख छ ।

सिन्धुलीगढी गुरुयोजना

नेपाली सेनाले सिन्धुलीगढी विकासको गुरुयोजना बनाउने कार्यको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो । जसअनुसार गत ११–१५ चैतसम्म कमलामाई नगरपालिका, बर्दबहादुर गण र आर्किटेक्निक स्टुडियोबीच समन्वय गरेर प्रारम्भिक सर्भे गरिएको थियो । त्यसबाट पदमार्ग र समाधी पार्कको पहिचान गरिएको थियो ।

गत २२–२४ जेठमा पुनः सर्भे गरेर गुरुयोजना तयार पारेको सैनिक प्रवक्ता पौडेलले बताए । उनका अनुसार सिन्धुलीगढीको ऐतिहासिक महत्व झल्काउने गरी योजना बनाइएको छ । सन् १७६७ को युद्धमा गोर्खाली फौजले अंग्रेज सेनालाई सिन्धुलीगढीमा हराएर फर्काइदिएको थियो ।

‘सिन्धुलीगढीको ऐतिहासिकतासँगै पर्यटन विकास पनि गर्ने उद्देश्यले गुरुयोजना बनेको छ’, प्रवक्ता पौडेल भन्छन्, ‘पदमार्ग, झरना, समाधी र गढी क्षेत्रको संरक्षण गर्दै समग्र विकास गर्नु गुरुयोजनाको लक्ष्य हो ।’

गुरु योजना अनुसार अहिले सोलाभञ्ज्याङमा रहेको मुख्य प्रवेशद्वारमै पर्यटकका लागि न्यूनतम सुविधाको व्यवस्था भएको छ । ऐतिहासिक क्षेत्रमा क्याफे, पार्क, रिसोर्ट, पिकनिक क्षेत्र, शौचालय, संग्रहालय, विश्रामस्थल पनि राख्ने गरी व्यवस्था गरिएको छ । (हेर्नुस् नक्सा)

गुरु योजनामा विभिन्न पर्व र उत्सव मनाउन पार्किङसहितको कार्यक्रमस्थल, हेलिप्याड, सुरक्षा क्याम्प, फोहोर व्यवस्थापन स्थल बनाउने र भविष्यमा बनाउनु पर्ने नयाँ संरचनाका लागि ठाउँ खाली राख्ने भनिएको छ ।

गुरु योजनामा सिन्धुलीगढीलाई ११ वटा क्लस्टरमा छुट्याइएको देखिन्छ । योजनाले पैदलमार्गलाई प्राथमिकता दिएको छ । त्यसका लागि लामो र छोटो गरी दुईवटा रुटको विवरण छ ।

बारामा एकता बाटिका बन्दै

सेनाको एकीकरण मार्ग कार्यक्रम अन्तरगत बारामा एकीकरण स्मृति उद्यान निर्माण भइरहेको छ । २७ वैशाखमा शिलान्यास भएको उद्यान तयार पार्न २१ करोड ९५ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान छ ।

यसका लागि यो आर्थिक वर्षमा नेपाली सेनाले ५ करोड र प्रदेश २ सरकारले २ करोड रुपैयाँ विनियोजन गरेका छन् । यो आर्थिक वर्षमा सेनाले देशभर १२ स्थानका गढीको संरक्षणका लागि रु. ४ करोड ९९ लाख बजेट छुट्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment