Comments Add Comment

कथा : याचना

बाहिर झरी परिरहेको छ । झरीको अविराम संगीत र बा’को खोकी यसरी समवेत सुनिइरहेको छ मानौं कुनै शास्त्रीय संगीतको जुगलबन्दी भइरहेको छ ।

बा भुइँतलाको ओछ्यानमा सुतिरहनुभएको छ । कुनाको खाटमा म असजिलो गरी पल्टिरहेको छु । बाको हरेक खोकी घरको चारभित्तामा ठोकिएर मसम्म आइपुग्छ र मेरो दुखाइलाई अझ बल्झाइरहन्छ । हरेक खोकीले बाको घाँटीको घाउ दुखाउँछ । बा बर्बराइरहनुहुन्छ । तर म भने दाँत कटटट गरेर पीडालाई दबाइरहेको छु । ओछ्यानमा आफूलाई सम्हाल्दै म घरि कोल्टे फर्किन्छु घरि उत्तानो पल्टिन्छु ।

घाउ निको हुन अझै एक हप्ता लाग्ने डाक्टरले बताएका थिए । तर, अस्पतालबाट डिस्चार्ज गरिसकेकोेले बा’ले पनि घरमै जाने जिद्दी गर्नुभयो । एकहप्ताको अस्पताल बसाइले बा दिक्क मानिसक्नुभएको थियो ।

भाउजू चुल्होमा आगो बाल्दै हुनुहुन्छ । दाउरा चिसो परेछ क्यारे, पीरो धुँवा पुत्याइरहेको थियो । जसले गर्दा भाउजू घरिघरि आँखा पुछिरहनुभएको छ । हुन सक्छ, यही धुवाँको बहनामा उहाँ मनैदेखि पिलपिलाइरहनु छ ।

बिचरी भाउजू, पूरै घरव्यवहार सम्हालिरहनु भएको छ । तैपनि कहिल्यै दुःख देखाउनु हुन्न, झर्कोफर्को गर्नुहुन्न । दाइजस्तै ज्ञानी र मायालु हुनुहुन्छ भाउजू ! दाइ–भाउजूको जोडी कस्तो मिल्थ्यो ! भाउजू देखेपछि मलाई दाजुको याद आइहाल्छ । भाउजू झन् कति सम्झिनु हुँदो हो दाजुलाई । मेरा आँखा रसाउँछन् ।

भतिज भाउजूलाई सानातिना कुरामा सघाइरहेको थियो । ऊ आमाले भनेको मान्छ । काट्टीकुट्टी उसको बाबुतिर गएकोछ केटो । दाजुका जस्तै आँखा । उसको अनुहार दाइको एसएलसीको फर्म भर्दा खिचेको फोटोसित ठ्याक्कै मिल्छ । दाजुलेझैं फिस्स हाँस्ने बानी छ । दाजुजस्तै जे पनि गर्न अघि सर्ने । एकछिन बस्दैन । दाइजस्तै फर्‍याकफुरुक गरिरहेको हुन्छ । साँच्चै मलाई ऊ दाजुकै फोटोकपिजस्तो लाग्छ । दाजुलेझैं उसले पनि मलाई धेरै माया गर्छ ।

भतिज यता र उता गरेको देखेर म दाजुलाई सम्झिन थालें ।

०००

‘बा, म नेपाली सेनामा छानिएँ नि ।’ घरको आँगनमा टेक्नासाथ दाजुले भन्नुभयो ।

तीनहप्ता अघि नेपाली सेनाको भर्ना खुलेको छ भन्दै दाजु सदरमुकाम लाग्नुभएको थियो । छनौट भएपछि उहाँ सरासर घर आउनुभएको रहेछ । निधारको पसिना पुछ्दै भन्नुभयो, ‘बा, तपाईंको छोरो अब सरकारको मान्छे भएको छ ।’

डुब्न लागेको घाम हेर्दै बा मुस्कुराउनुभयो । अनि आँखाबाट रसाएका आँसु पुछ्न थाल्नुभयो । दाजुले खुसीको कुरा सुनाउँदा पनि बा किन रोएका होलान् भनेर म अल्मलिएँ । बाले भन्नुभयो, ‘आज तेरी आमा भएकी भए कति खुसी हुन्थी !’

साँच्चै यो खबरले आमाको झन् कति आँसु बग्थ्यो होला ! म सोच्न थालेँ । आमाको सम्झनाले मेरा आँखा पनि रसाइसकेछन् । दाजुले आँसु पुछ्दै गरेको देखेपछि मैले पनि आँखामा हत्केला लगेर पुछें ।

म सानै छँदा आमा बित्नुभएको । त्यसपछि बाले हामी दाजुभाइलाई हुर्काउनुभयो । मलाई आमाको अनुहार याद छैन । दाजुले बेलाबेलामा यस्तो हुनुहुन्थ्यो भन्दा म आमाको अनुहार कल्पना गर्थें । खै किन हो, आमा पनि दाजुजस्तै हुनुहुन्थ्यो जस्तो लागेर दाजुमा नै आमाको प्रतिरूप भेटेझैं लाग्थ्यो मलाई । आमा बिछट्टै राम्री र दयालु हुनुहुन्थ्यो होला भन्ने मलाई लाग्थ्यो । आमा हुनुहुँदो हो त आज हामी कति धेरै खुसी हुन्थ्यौं होला ।

दाजु सेनामा भर्ना भएपछि घरमा बा र म रह्यौं । म स्कुल गएपछि घरको धेरैजसो काम बा एक्लैले गर्नुपर्ने भयो । यो देखेर दाजुले दुई वर्षभित्र बिहे गर्नुभयो । दाजु भन्नुहुन्थ्यो, ‘रमेश, तिमी धेरै पढेर अफिसर बन्नुपर्छ ।’

दाजु छुट्टीमा घर आउँदा यसरी सम्झाइ रहनुहुन्थ्यो । मेरो पढाइप्रति उहाँ जिज्ञासु हुनुहुन्थ्यो । मलाई चाहिने कुरामा उहाँको सक्दो सहयोग थियो । मेरो इच्छा पूरा गर्नुहुन्थ्यो । मैले पनि पढाइमा परिश्रम गरिरहेको थिएँ । दाजुको सपनामा मैले आफ्नो सपना मिसाएको थिएँ ।

०००

‘यो स्कुलको हेडसर कहाँ हुनुहुन्छ ?’ अचानक एकदिन स्कुलको चौरमा एकहुल आयो र तिनीहरूमध्ये एउटाले रूखो आवाजमा सोध्यो ।

चौरमा साना विद्यार्थीहरू खेलिरहेका थिए । हामी दश कक्षाकाहरू भने नजिकिँदो टेष्ट परीक्षाबारे छलफल गरिरहेका थियौं । बन्दुक बोकेका समूह देखेर साना भाइबहिनी डराएर एकैठाउँ जम्मा भए । एकछिन सन्नाटा छायो । सबैको होश उडेको थियो । हामीमध्ये कोही नबोलेपछि म अघि सरेर भनें, ‘ऊ त्यो कोठामा हुनुहुन्छ ।’

उनीहरू त्यतै लागे । हामी ट्वाल्ल परेर हेरिरहेका थियौं । हामी सास फेर्न बिर्सिएझैं भएका थियौं । एक–अर्कालाई हेर्दै ‘अब के हुने हो’को भावमा आँखैले सोधेझैं गरिरहेका थियौं ।

हामी घेरिएका रहेछौं । स्कुलको चारैतिर हतियारधारीहरू तैनाथ थिए । त्यसपछि त हाम्रो हंशले ठाउँ छोड्यो । हलचल नगरी उभिरह्यौं । हामी अनेक संशय र तनावले पिरिन थाल्यौं ।

केहीबेरपछि हेडसर पनि उनीहरूसँगै अफिस कोठाबाट बाहिरिनुभयो । उहाँको शिर निहुरिएको थियो । अनुहारमा औंसी छाएको थियो ।

चौरमा आएपछि हेडसर बोल्न खोज्दै हुनुहुन्थ्यो, तर उहाँलाई रोक्दै एकजना अघि सरेर बोल्यो, ‘भाइ–बहिनीहरू, हामी तपाईंहरूबाट एउटा सानो सहयोग चाहन्छौं । अहिले तपाईंहरूमध्ये दशजना हामीसँग हिँड्नुपर्छ । भोलि बिहान तपाईंहरूलाई सकुशल घर छाडिदिन्छौं ।’

उसले बोलिरहँदा हेडसरका आँखा रसाइसकेका थिए । हामीले नबुझ्ने अनौठा–अनौठा शब्द प्रयोग गर्दै झन्डै बीस मिनेट बोलेपछि उसले साना भाइबहिनीलाई कक्षाकोठामा जान र दश कक्षाकालाई त्यही बस्न निर्देशन दियो ।

हामी उभिएको धर्ती भासिएझैं लागिरहेको थियो । मैले आफ्नो वरिपरि आफ्ना साथीहरूलाई हेरेँ । सबैका आँखामा डर थियो । त्यही डरको बीच उनीहरूले हामीमध्ये दशजना छान्यो । म पनि छानिएँ ।

हामी दशजनाको अनुहार रुन्चे भएको थियो । रुन पनि डर लागिरहेको थियो । अनिशले आँसु पुछ्न पनि भ्यायो । त्यसपछि उनीहरूले झोला बोकाएर हामीलाई अघि लगाए । हामी लुरुलुरु बाटो लाग्यौं ।

उनीहरूले भनेजस्तो गरी हामीलाई घर फर्काएनन् । सधैंका लागि जंगल पस्ने कुरा आएपछि मलाई बाको याद आयो । दाजुले पढेर अधिकृत हुनु भन्नुभएको सम्झिएँ । एकहप्ता घर पठाइदेऊ भनेर याचना गरें, अनेक बिन्ती गरें, उनीहरूको सामु रोएँ । बा बिरामी हुनुहुन्छ भनेर ढाटेँ, तर मेरो केही लागेन । त्यसपछि मैले आफ्नो सपना माटोमा पुरिदिएँ, उनीहरूकै पारामा हिँड्न थालेँ ।

‘रमेश, तिमीले राम्रोसँग पढ्नुपर्छ । धेरै पढेर अफिसर बन्नुपर्छ ।’

दाजुको बोलीे बेलाबेला कानमा बज्थ्यो । पाँच वर्ष दाजुसँग भेट भएन । सोलुको लडाइँमा हाम्रो भेट हुन लेखेको रहेछ ।

भीषण युद्धपछि हामीले व्यारेक कब्जा गर्‍यौं । घाइते सहितका सैनिकहरू हाम्रो कब्जामा थिए । घाइतेहरू आर्तनाद दबाउने कोसिस गरिरहेका थिए । सद्देहरू चुपचाप थिए । व्यारेक भग्नावशेष बनेको थियो । जताततै भत्केका पर्खाल र डढिरहेको काठपात देखिन्थ्यो । पर्खालले लासहरू पुरिएका थिए ।

त्यही क्रममा एउटा दृष्यले मेरा आँखालाई अचल बनाइदियो । सपनामा पनि नसोचेको भइदियो । मेरो लागि त्यो अकल्पनीय क्षण थियो । दाजुको मृत शरीर भित्तामा टाँसिएको थियो । म चेतनाशून्य बन्न पुगेँ ।

पाँच वर्षअघि दाजुले मलाई अँगाल्नुभएको थियो । अहिले मैले अँगाल्दै बेस्सरी रोएँ । जिन्दगीमा यसरी कहिल्यै रोएको थिइनँ । आज मुर्छा परौंलाझैं भएँ । यो मेरो विवशता थियो ।

एक योद्धाले यसरी रुनु हुँदैनथ्यो । पार्टीको भाषामा म ‘वर्ग दुश्मन’को मायाले रोएको थिएँ । त्यसैले मैले आफूलाई सम्हाल्नु थियो ।

शान्ति सम्झौतापछि भारी मन लिएर घर पुगेको थिएँ । म अपराधबोधले थिचिएको थिएँ । मैले आफूलाई भन्दा बढी माया गर्ने दाजुलाई मारें भनेर कसरी भन्नु ? मभित्र छट्पटीले जरो गाडेको थियो ।

घरको आँगनमा सेतो सारीमा बेरिएकी भाउजूको सुकेको शरीर देखेर झसङ्ग भएँ । भक्कानिएर रुन मन लाग्यो । उहाँको अघिल्तिर घुँडा टेकेर माफ माग्न मन लाग्यो । तर मैले आफूलाई सम्हालेँ । पुरिँदै गएको घाउ किन उप्काऊँ ? म चुपचाप भएँ ।

भाउजूलाई नमस्कार गर्दा मभित्र आँधी चलिरहेको थियो । भाउजूले थाहा पाइसक्नु भयो कि भनेर डराइरहेको थिएँ । बालाई नदेखेर मन आत्तिरहेको थियो । मेरो आवाज सुनेर बा यसबेलासम्म बाहिर आइसक्नुहुन्थ्यो । तर उहाँ आउनुभएन ।

बरू पाँच वर्षको भतिज मूल ढोकामा देखा पर्‍यो । ऊ मलाई नौलो मान्छेलाई झैं हेरिरहेको थियो । नजिक पुग्दा ऊ भाग्यो ।

‘बा घरमा हुनुहुन्न ?’ भाउजूलाई सोध्नै पर्‍यो । भाउजूको जवाफ सुनेर म घरभित्र हतारिएर कुदेँ ।

बा ओछ्यानमा हुनुहुन्थ्यो । म बेपत्ता भएदेखि बालाई चिन्ताले खाएको रहेछ । दिनहुँ मेरो बाटो हेरिरहनुहुन्थ्यो रे । म फर्किने आश मरेको थिएन तर दाजु बितेको खबरले चाहिँ बालाई शिथिल बनाएको रहेछ । बाको हाड छालामात्र बाँकि थियो ।

मलाई देखेर बाका आँखा रसाए । मलाई एकोहोरो हेरिरहनुभयो । दाजुले आफू नेपाली सेनामा भर्ना भएको खबर सुनाउँदा बाको आँखामा आँसु आएको याद आयो । के बालाई दाजुको पनि यादले रुवाएको हो ? मेरो पनि आँखाबाट बर्रर आँसु बगेछ ।

पाँच वर्षपछि घर फर्केको थिएँ । बाको अवस्था देखेर म फेरि फर्केर नजाने भएँ । उपचार गर्दै म घरमा बस्न थालेपछि बाको मन पनि खुसी थियो । भाउजूले पनि हलुको महसुस गर्नुभएको थियो । जिम्मेवारीको बोझले थिचिएर आफ्नो दुःख सम्झिएर रुनेसमेत फुर्सद थिएन उहाँलाई ।

उपचारमा निक्कै खर्च लाग्यो । त्यहीबेला गणतन्त्र घोषणासँगै जनयुद्घका योद्घाहरूलाई सरकारी सेनामा समायोजन गर्ने निर्णय भयो । समायोजन गर्न नसकिनेलाई राहतस्वरूप केही रकम दिने निर्णयले मभित्र एककिसिमको आशा पलायो । बाको उपचार खर्चको लागि मेरो पाँच वर्षको योगदान उपयोगी हुने लाग्यो । त्यही आशले म शक्तिखोर पुगेर तीन महिना क्यान्टोनमेन्टमा बसेँ । तर, जतिसुकै पहल गरेपनि मेरो नाम कतै फेला पार्न सकिनँ ।

शान्ति सम्झौतापछि सम्पर्कमा नआएको भनेर उल्टै गुनासो सुन्न पर्यो । बिरामी बाको उपचारमा लाग्दा आउन नसकेको बताउँदा कसैले पत्याएनन् । मैले पाँच वर्ष घर नगई बन्दुक बोकेको सबैले बिर्सिदिए । ‘खोलो तर्‍यो लौरो बिर्सियो झैं’ व्यवहार गरियो ।

जिन्दगीमा यति धेरै हरेस कहिल्यै खाएको थिइनँ । मेरो पाँच वर्षको समय त्यसै खेर गयो । पहिलो पटक स्कुलबाट एकरातको लागि भनेर लगेको सम्झिएँ । त्यसपछि जिन्दगीले लिएको मोडलाई नचाहँदा नचाहँदै पनि सम्झाइदियो । आखिर मेरो जिन्दगीको सपना कतै फसिसकेको थियो ।

‘छोरा, मेरो उपचारको लागि तँ यसरी अब नभौंतारी’, घर पुग्दा बाले मेरो निन्याउरो अनुहार देखेर भन्नुभयो ।

‘बा, तपाईं चिन्ता नलिनुस् । तपाईंको उपचार गर्न म पछि हट्दिनँ । तपाईंले हाम्रो लागि जिन्दगीभर दुःख गर्नुभयो’, बाको हात समाउँदै भनेँ ।

मनमा चाहिँ मेरो आँधी चलिरहेको थियो । पढ्न नपाएर अयोग्य भएको थिएँ । जनयोद्घाको सूचीमा नाम नपरेर फेरि अयोग्य भएँ । अब जिन्दगी दिने बाको अगाडि पनि अयोग्य हुन चाहन्नथेँ ।

उपचार त गर्नैपथ्र्यो, तर कतैबाट सहयोग वा रिनै पनि मिल्ने अवस्था थिएन । आखिरमा भाउजूको सहमतिमा बारी बेचेरै बा’को उपचार गरियो । तर, दश वर्षपछि फेरि उही समस्या बल्झियो ।

अस्पतालमा डाक्टरले चेकजाँच गर्दा घाँटीको क्यान्सर भएको बताए । दैनिक परीक्षण गरेर एक महिनापछि सुनाइएको यो नतिजाले हामी रनभुल्लमा पर्यौं ।

डाक्टरले दुई महिनभित्रै अप्रेशन गर्नुपर्ने बताएपछि खर्च जुटाउन दौडधुप गर्न थालेँ । पार्टी, आफन्त र अरू सबै ठाउँमा कुरा गरें, तर कतैबाट सहयोग पाइनँ ।

‘अप्रेशन ढिला भयो भने हामी केही गर्न सक्दैनौं’, डाक्टरले चेतावनी दिएका थिए । बाको बढ्दो दुःखाइले झन् चिन्तित बनाउन थालेको थियो ।

सहयोग माग्दै भौंतारिनु मेरो दैनिकी बनेको थियो । बाको उपचारको लागि अलिकति बारी बेचिसकेका थियौं । भाउजू र भतिज त भन्थे, अरू पनि बेचेर उपचार गरौं । तर त्यसो गर्न मेरो नैतिकताले दिँदैनथ्यो । कसैले सापट देलान् कि भन्ने आशले हात फैलाइरहेँ । तर, गरिबलाई ऋण कसले पत्याउने !

त्यहीबेला पहिलाको बटालियन कमान्डरसँग भेट भयो । कमरेड आक्रोश दोस्रो संविधान सभाका सभासद थिए । पार्टी केन्द्रीय पनि सदस्य रहेछन् । उनलाई भेटेपछि ऊबेलाका घट्नाहरू आँखामा चलचित्रझैं आए । कताकता समस्या समाधानको आश पनि पलाएर आयो ।

मैले सहारा पाएँझैं उनलाई आफ्ना दुःखको बेलिबिस्तार लगाएँ । उनले क्रान्तिमा मेरो योगदानको सराहना गर्दै ढाडस र आश्वासन दिए । आखिरमा भने, ‘तपाईं मलाई घरमा आएर भेट्नुस् । के कसरी यो समस्या हटाउने छलफल गरौंला । चिन्ता नलिनुस्, उहाँ तपाईंको मात्र नभई सिंगो पार्टीकै बुबा हो ।’

उनका कुराले मलाई दिनसम्म भर दियो । म कमरेड आक्रोशको विशाल हृदय नजिक पुगेको थिएँ । उनलाई चाडै भेट्न आउँछु भनेर आफ्नो बाटो लागेपछि मलाई शक्तिखोरमा पाएको हैरानी यार आयो ।

मलाई विश्वास भयो– मानवता अझै बाँकी छ । आखिर जनयुद्धमा लागेको अब आएर काम लाग्नेभयो भनेर खुशी भएँ ।

डाक्टरको चेतावनीले मेरो निद्रा हरण गरेको थियो । मनमा त्यही कुरा खेलिरहन्थ्यो । त्यसैले आक्रोशले भने बमोजिम उनलाई भेट्न हतार नै गरेँ ।

तर, ठेगानामा भेट्न पुग्दा उनको व्यवहार पुरै बदलिएको थियो । अस्ति भेट हुँदा कार्यकर्ताको अघिल्तिर उनले बडो सहयोगी अनि कुशल नेताको व्यवहार देखाएका थिए ।

उनको ठूलो घरको लनमा बसेर म उनीमाथि पार्टीले गरेको अन्यायको कुरा सुन्न विवश भएँ । उनी आफ्नो भाग नमिलेकोमा ठूलो अन्याय महसुस गरिरहेका थिए । म रून मात्रै सकिरहेको थिइनँ । सामान्य अवस्थामा हुँदो हुँ त म त्यहाँ एक मिनेट पनि बस्ने थिइनँ होला । तर विवश थिएँ, आफ्नो कुरा चुहाउने मौका पर्खेर धैर्यपूर्वक उनका कुरा सुनिरहेको थिएँ ।

आखिरीमा बिन्ती बिसाउने मौका पाएँ ।

‘हेर भाइ, यस्ता समस्या बोकेर मकहाँ दिनको दशजना मान्छे आउँछन् । म कतिलाई सहयोग गरूँ ?’

उनी तपाईंबाट तिमीमा झरिसकेका थिए । मनमा आक्रोशको आगो दन्किइरहे पनि म निरीह र लाचार भइसकेको थिएँ ।

दाजु भइदिएको भए यो समस्या यति ठूलो हुँदैनथ्यो । दाजुको अभावमा मैले आफ्नो कर्तव्य पूरा गर्नु थियो ।

‘म आफ्नै बेचिन तयार छु, जिन्दगीभर तपाईंको सेवा गर्न तयार छु । तर, बाको उपचारमा सहयोग गराइदिनु पर्‍यो ।’

म हात जोडिरहेको थिएँ ।

उनी आँखा चिम्म गरेर एकछिन ध्यानमग्न भए । त्यसपछि एकदम गम्भिर मुद्रामा मेरो समस्याको समाधान सुझाए । त्यो सुन्दै मेरो मुटुले ठाउँ छाड्यो । ढुकढुकी बढेर आयो । तर, मेरो लागि त्यो एउटा मौका थियो । अन्तमा म मजबुरीको सामु घुडा टेक्न तयार भएँ ।

अन्ततः बा’को अप्रेशन भयो ।

०००

बाको अप्रेशनपछि म ढुक्क भएको छु । मैले छोराको कर्तव्य पूरा गरें । पार्टी र सरकारको नजरमा अयोग्य म कम्तिमा समाज र बाअगाडि योग्य बनें । त्यो खुशी बाको अनुहारमा देखेको थिएँ, अप्रेशन गर्न लैजाँदै गर्दा ।

बाको दुब्लो अनुहारमा छरिएको थोरै उज्यालोले पनि मलाई धेरै प्रसन्न बनाएको थियो । म भित्रको चिन्ता एकाएक हराएको थियो । केवल छोरो हुनुको गर्व महसुस गरिरहेको थिएँ ।

बाहिर अझै झरि परिरहेको थियो । बेलाबेला अकाश गर्जिन पनि थालेको थियो । बाको खोकी भने बन्द थियो । सायद बा निदाउनुभयो ।

मलाई घरिघरि दाजुको याद आइरहेको थियो । दाजु भइदिएको भए सायद यतिको दुर्घटना हुँदैनथ्यो, सबै सम्हाल्नुहुन्थ्यो । मलाई यस्तै लागिरहेको थियो । तर, आफैंले मारेको दाजु यतिबेला भइदिएको भए हुन्थ्यो भनेर कसरी सोच्न सकेको हुँला भनेर आफैलाई धिक्कार्न मन लाग्यो । आफूलाई धिक्कार्दै गर्दा अचानक फेरि पेटको बायातिर चस्स दुख्यो । रोक्दारोक्दै फुस्किहाल्यो ‘ऐया…!’

भाउजूले टाउको उठाएर हेर्नुभयो । भतिज कुद्दै आएर मलाई समाएर भन्यो, ‘के भयो अंकल ?’

म जिउ अररो पारेर आफूलाई सम्हाल्न खोज्दै थिएँ, तर सम्भव भएन । मेरो एउटा हात कोखातिर थियो । भतिजका आँखा त्यहाँ परेछन् । उसले एक हातले मलाई भर दिएको थियो । अर्को हातले मेरो हात पन्छायो । ऊ एक्कासी चिच्यायो, ‘मम्मी अंकलको यहाँ टाँका लगाएको छ !’

भाउजू कुद्दै आउनुभयो । म आँखा चिम्म गरेर अब हुने प्रतिक्रियाको लागि तयार भएँ ।

मेरो मृगौला निकाल्न चिरेको घाउ हेर्दै उहाँ विक्षिप्त हुनुभयो, ‘लौ न नि यो के गरेको बाबु तपाईंले ! बाको उपचारलाई आफ्नै जिउ बेच्नुभयो ? किन यस्तो गरेको…!’
भाउजू थ्याच्च बस्नुभयो । उहाँको रुवाइले मेरो मुटु चिर्न थाल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment