Comments Add Comment
महानगरका प्रवक्ता भन्छन् :

‘खुलामञ्चको भात अशोभनीय, मानिसलाई अल्छी बनायो’

'सरकारले दुःखी गरिबलाई सहयोग गर्ने विधि र प्रक्रिया बनाएको छ'

१७ कात्तिक, काठमाडौं । लकडाउनेदखि चलिरहेको खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएपछि काठमाडौं महानगरपालिकाको चर्को आलोचना भएको छ । तर, महानगरले भने खुलामञ्चमा खाना खुवाउँदा आफ्नो बेइज्जत भएको तर्क गरेको छ । र, खाना खुवाउने भए पार्टी प्यालेसहरुमा जान भनेको छ ।

विपन्नहरुलाई खाना खुवाउँदै आएका अभियन्ताहरुलाई काठमाडौं महानगरपालिकाको निर्देशन छ, ‘अब काठमाडौंका सार्वजनिक स्थानमा यसरी खाना वितरण नगर्नू ।’

तर, खुलामञ्चमा खाना खुवाएकै कारण धेरैले महामारीकालमा पेट भर्न पाएको अभियन्ताहरु बताउँछन् ।

सेवाभावले गरेको यो अभियानलाई महानगरपालिकाले किन रोक्न भन्यो ? महानगर आफैंले केही विकल्प सोचेको पो छ कि ? हामीले काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोललाई यसबारे जिज्ञासा राख्यौं । प्रस्तुत छ, प्रवक्ता ईश्वरमान डंगोलसँग गरिएको कुराकानीको सम्पादित अंश :

खुलामञ्चमा स्वतःस्फूर्त रुपमा अभियन्ताहरुले लकडाउनकै बेलादेखि समस्यामा परेका मजदुरलाई खाना खुवाउँदै आएका छन्, एकाएक आज किन रोक लगाउनुभयो ?

लकडाउनमा सडकहरु सुनसान थिए । समस्यामा परेकाले खान पाउन् भन्ने सबैको भावना र चाहना थियो । मानवीय हिसावले त्यतिबेला त्यो सही पनि थियो, आवश्यक पनि थियो । तर, अहिले पनि खुलामञ्चमा खाना खुवाउने काम हुँदैछ । खाना खुवाउँदा महानगरपालिकासँग कुनै समन्वय भएन । अनुमति पनि लिइएन ।

त्यहाँ बसपार्क पनि छ, मान्छेको बाक्लो आवतजावत छ । भीड लगाएर खाना खुवाउँदा संक्रमण बढ्न सक्छ । धुँवा धुलो हुने त्यो ठाउँमा खाना खुवाउनु उपयुक्त छैन । देख्दा पनि राम्रो भएन, विकल्प खोज्नुपर्छ भनेर नागरिकस्तरबाटै आवाज उठ्यो । त्यसैले खाना खुवाउने अभियन्तालाई विकल्पको खोजी गर्नुस् भनेका हौं ।

‘खुलामञ्चमा खाना खुवाउँदा महानगरको इज्जत गयो’ त्यसैले रोक्नुस् भन्नुभएको रहेछ नि त ?

नागरिकको इज्जत जोगियो भने महानगरको इज्जत जोगिने हो । यो काम अशोभनीय भयो । राजधानीकै मुटुमा यस्तो गर्दा के सन्देश जान्छ भनेर नागरिकहरुले पनि प्रश्न गर्नुभयो । उहाँहरुले व्यवस्थित रुपमा खुला नगरी खुवाउँदा हुन्छ भन्नुभयो ।

हुन त यो सेवा हो । तर, कतिपय मानिसलाई अल्छी पनि बनायो । अहिले गरीखान सक्ने अवस्था पनि छ । दिनभर रक्सी खाएर हिँड्नेहरु पनि त्यहीँ खाना खान आउँछन् भन्ने पनि छ । त्यसैले यसलाई सही लक्षित समूहसम्म पुर्‍याउनुपर्छ भन्ने हाम्रो पनि मत हो । र, नागरिकहरुको आवाज सुनेर निर्णय गरेका हौं ।

तपाईहरुले कुनै पनि सार्वजनिक स्थलमा खाना खुलाउन नदिएपछि कसरी लक्षित समूहसम्म पुग्ने ?

त्यस्ता काम गर्न प्रशस्त उपयुक्त ठाउँछन्, पार्टी प्यालेसहरु छन् । अनुकुलको ठाउँमा खुवाउँदा भइहाल्छ नि !

देश विदेशमा भएका मनकारीहरुबाट सहयोग उठाएर भोकाहरुलाई खाना खुवाएका छन् । उनीहरुलाई पार्टी प्यालेसतिर जाऊ भन्नु भनेको ‘खाना नखुवाऊ’ भनेको जस्तो भएन र ?

होइन । आवश्यक पर्‍यो भने महानगरपालिकाले पनि सहयोग गर्छ । हामीसँग अभियन्ताले समन्वय गर्नुपर्‍यो नि Û छलफल गर्नुपर्‍यो । आवश्यक स्वीकृति लिएर काम गर्नुपर्‍यो ।

अब अभियन्ताहरुले महानगरपालिकामा आएर निवेदन बुझाए भने चाहिँ खुलामञ्चमा खाना खुवाउन पाउँछन् ?

सरकारले नै दुःखी गरिबलाई सहयोग कसरी गर्ने भनेर विधि र प्रक्रिया बनाएको छ । यो महामारीमा पनि स्थानीय तहमार्फत एकद्वार प्रणालीमार्फत सहयोग गर्ने संघीय सरकारको निर्णय र नीति छ । यो प्रक्रियाभन्दा बाहिर त कोही पनि जानु भएन नि । जथाभावी र मापदण्ड विपरीत, प्रक्रिया मिचेर काम गर्नुभन्दा महानगरसँग समन्वय गर्दा राम्रो हुन्छ ।

महानगरलाई सोधेन भन्ने नाममा खाना खुवाउन रोक्दा महामारीमा प्रभावित मजदुरहरु त भोकै हुने भए नि ?

हामी कसैलाई भोकै रहन दिँदैनौं । खाना खुवाउने नाममा अव्यस्थित ढंगले काम पनि नहोस् भन्ने हो । फेरि पनि भन्छौं, उहाँहरुले महानगरसँग छलफल गर्नुपर्‍यो ।

जग्गाको लालपूर्जा छ भनेर सिधै घर बनाउन पाइँदैन । राज्यले तोकेको विधि प्रक्रियाहरु छन्, त्यो पूरा गर्नुपर्छ । सेवा त गर्न पाइन्छ । तर, सेवा गर्न पनि विधि र पद्दतिहरु स्थापित छन्, त्यसलाई पालना गरेर सेवा गर्दा सबैको भलाइ हुन्छ । त्यसमाथि हामीले मानव सेवा आश्रमसँग समन्वय गरेर महामारी प्रभावित दुःखी गरीबलाई उद्धार नै गरेर सेवा दिइरहेका छौं । यो कुरा भुल्न भएन ।

तर, महानगरको नियत सही देखिएन भनेर जनस्तरबाट तपाईहरुको निकै आलोचना भएको छ । अभियन्ताले खाना खुवाउने अभियानलाई रोकेनन् भने ?

कुन काम कुन ठाउँमा गर्न हुने, कुन ठाउँमा गर्न नहुने भन्ने तोकिएका हुन्छन् । प्रक्रिया, पद्दति, नियम त सबैले मान्नुपर्छ । मुख्य कुरा, महानगरसँग अनुमति लिनुपर्‍यो । त्यसअनुसार भएन भने त नियम कानूनले जे भन्छ, त्यसैअनुसार अघि बढ्नुपर्ने हुन्छ ।

प्रक्रिया-प्रक्रिया भनिरहँदा मजदुरहरु भोकभोकै हुने अवस्था आए महानगरपालिकाले जिम्मा लिन्छ ?

हामीले ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नाराका साथ विभिन्न काम गरेकै छौं । हिजो लकडाउन पनि १० औं हजारलाई खाना खुवाएकै हो, तथ्यांक हेर्दा हुन्छ । समस्यामा परेकाहरुलाई वडाहरुबाट राहत दिएकै छौं, मानवसेवा आश्रममार्फत खाना खुवाइरहेका छौं । सडकमा अलपत्रको उद्धार गरिरहेका छौं । त्यसैले यहाँ खाना खान नै नपाएर कसैले मर्नुपर्ने अवस्था आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment