
२० कात्तिक, काठमाडौं । नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैंको माहौल सकिएको र कतिपय मुलुकमा कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय हवाई उडान पुनः सुस्ताउन थालेको छ ।
खासगरी यूरोप तथा अमेरिकी मुलुकमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । यससँगै ती मुलुकले पुनः प्रतिवन्ध सुरु गरेका छन् । त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार दशैंको समयमा अन्तर्राष्ट्रियतर्फ दैनिक २० वटासम्म उडान भएका थिए ।
तर, अहिले भने क्रमशः हवाई जहाजको उडान-आगमन सुस्ताएको छ । अहिले दैनिक एक दर्जन हाराहारी उडान हुने गरेको उनले जानकारी दिए । त्यसमा पनि उडान नेपालीहरू बढी रहेको खाडी मुलुकमा केन्दि्रत छ ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले यी रुटमा उडान गरिरहेका छन् । नेपालबाट सबैभन्दा बढी उडान हुने भारतीय गन्तब्य बन्द रहेका कारण संख्यात्मक रुपमा तत्काल अन्तराष्ट्रिय उडानले गति पाउने अवस्था छैन ।
नेपाल आउने यात्रुमा समेत अधिक संख्या नेपालीको रहेको केसीले बताए । विदेशीहरु काम विशेषले आउनेबाहेक अन्य भने नगन्य छन् ।
सरकारले १७ अक्टोबरबाट पर्यटन बोर्ड, पर्यटन विभाग र पर्वतारोहण तथा ट्रेकिङ कम्पनीको सिफारिसमा अनअराइभल भिसामा समेत विदेशी आउन सक्ने नियम कार्यान्वयनमा ल्याएको छ । जसले गर्दा पछिल्लो समय हिमाल आरोहणमा केही टोली आउन सुरू गरेका छन् ।
आन्तरिक उडानमा उत्साह
दशैं अगाडी यात्रुको उच्च चाप हुने समयमा खुलेको आन्तरिक उडानमा भने उत्साह छ ।
खासगरी सस्तो हवाई भाडा, दशैंको समयमा आन्तरिक पर्यटनमा देखिएको गतिविधि र लामो समय थुनिएर बसेका यात्रुको चहलपहल बढ्दा अहिले आन्तरिक उडानमा वायुसेवा कम्पनीले उल्लेख्य यात्रु पाएका छन् ।
त्यसमा पनि आफैंले ल्याएका ट्राभल प्याकेजहरुका कारण आन्तरिकमा यात्रुको संख्या बढेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आन्तरिकमा अहिले दैनिक ७० वटासम्म उडान हुने गर्छ । एयरलाइन्सहरूले समेत राम्रो अक्कुपेन्सीमा यात्रु पाइरहेका छन् ।
प्रतिक्रिया 4