+
+

छोराको मृत्यु भएको ५ महिना बित्दा पनि पारिश्रमिक नदिएको पीडितको गुनासो

ट्याक्टर नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १५:२८

१९ मंसिर, जनकपुरधाम । प्रहरी हिरासतमा मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाका परिवारले छोराको मृत्यु भएको ५ महिना बितिसक्दा पनि ट्याक्टर धनीले पारिश्रमिक नदिएको गुनासो गरेका छन् । ट्याक्टर धनीले छोराको मृत्यु पश्चात पनि उनको पारिश्रमिक बापतको रकम नदिएपछि पीडित परिवारले ट्याक्टर नै आफ्नो नियन्त्रणमा लिएका छन् ।

सवारी ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय सबैलाको थुनाभित्र रहेका २२ वर्षीय सदाको गत जेठ २८ गते मृत्यु भएको थियो । उनको शव इलाका प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको शव फेला परेपछि परिवारजन तथा स्थानीयले हत्या गरेको भन्दै प्रदर्शन गरेका थिए । घट्नाको छानबिन गर्न प्रदेश सरकारले भनेपनि छानबिन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

शम्भुले गाउँकै सञ्जय साहको नाममा रहेको प्रदेश २–०२–००१ त्–०२७५ नम्बरको ट्याक्टर चलाउँदै आएका थिए । शम्भुले चलाएको उक्त ट्याक्टरको ठक्करबाट जेठ १२ गते धनुषाधामकी ४२ वर्षीया सुमिन्द्रा देवी साहको ज्यान गएको थियो ।

शम्भुको मृत्यु पश्चात पनि ट्याक्टर धनी सञ्जयले पारिश्रमिक नदिएको भन्दै उनकी आमा सियालीदेवीसहितका परिवारजनले उक्त ट्याक्टर नियन्त्रणमा लिएका छन् । पटक–पटक माग्दा पनि छोराले काम गरे बापतको रकम नदिएको भन्दै ट्याक्टर नियन्त्रणमा लिएको मृतक शम्भुकी आमा सियालीदेवीले बताइन् ।

आफ्नो घर हुँदै जाँदै गरेको उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएको उनले बताइन् । ‘मेरो छोराले उनको ट्याक्टर चलाए बापतको ९ महिनाको पारिश्रमिक दिइएको छैन्,’ शम्भुकी आमाले भनिन्, “पैसा नदिएसम्म यो ट्याक्टरलाई यहीं सडाउँछु ।”

ट्याक्टर धनी साहले भने आफ्नो घरबाट ट्याक्टर लगेका बताए । उनले नौ महिनाको नभई एक महिनाको मात्रै पारिश्रमिक बाँकी रहेको बताए । ‘शम्भुलाई महिनाको १५ हजार मासिक तलब दिँदै आएका थियौं,’ उनले भने, “तर एक महिनाको त्यस बेला दिन बाँकी थियो ।”

उनल आफू रकम दिन तयार हुँदाहुँदै पनि बलजफ्ती रुपमा ट्याक्टर राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?