
१४ पुस, काठमाडौं । तपाईं परीक्षा दिँदै हुनुहुन्छ र त्योबेला कसैले हल्ला गर्यो भने के गर्नुहुन्छ ? सामान्यतया परीक्षा हलमा हल्ला हुँदैन वा गर्न दिइँदैन । त्यही भएर सामान्तः हल्ला नहुने वातावरण सम्बन्धित विद्यालय वा कलेजले मिलाएकै हुन्छ ।
तर, मंगलबार काठमाडौंमा फरक दृश्य देखियो । प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसमा अध्यनरत स्नातकोत्तर तह दोस्रो वर्षका करिब सात सय विद्यार्थीले मंगलबार ‘प्रतिगमन विरोधी’ भाषण सुन्दै परीक्षा दिन बाध्य भए ।
दिउँसो एक बजेदेखि चार बजेसम्म आरआर क्याम्पसमा परीक्षा थियो । ठीक त्यही समयमा आरआर क्याम्पस नजिकै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको प्रदर्शनसहितको विरोधसभा थियो ।
यता आरआर कलेजमा परीक्षा सुरु भयो, उता विरोध सभामा भाषण ।
विरोध सभामा सहभागीहरू आरआर क्याम्पस गेट हुँदै पद्मोदय मोडसम्मै पुगेका थिए । नेताहरूको भाषण सुन्न सहज होस् भनेर सडकका खम्बामा माइकहरु राखिएका थिए ।
आरआर क्याम्पस प्रमुख जीभन्धर ज्ञवाली भन्छन्, ‘विरोध सभा भएपछि ध्वनि प्रदूषण नहुने भन्ने त भएन तर, विद्यार्थीहरू परीक्षामै केन्द्रित थिए ।’
क्याम्पस प्रमुख ज्ञवालीका अनुसार कतिपय विद्यार्थीहरू जामका कारण भीड छिचोल्न नसकेर समयमा परीक्षा हलमा पुग्न सकेनन् । ‘परीक्षा सुरू भएको आधा घण्टापछिसम्म पनि विद्यार्थीहरू हस्याङफस्याङ गर्दै आए । हामीले म्यानेज गर्यौं ।’
हल्ला भयो भनेर कसैसँग गुनासो गर्ने वा कार्यक्रम नै अर्को स्थानमा राख्न लगाउने गरी कुनै पहल गर्नुभएन त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘विद्यार्थी नेताहरूलाई भनेका हौं तर, कार्यक्रम रोकिएन ।’
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतमा रोकिएको आमसञ्चार र पत्रकारिता, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक शास्त्र जनसंख्या, अर्थशास्त्रलगायतका विषयको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा मंगलबार पनि थियो ।
परीक्षामा खटिएका एक शिक्षकले भने, ‘झ्याल लगाउँदा पनि डिस्टर्ब भइरह्यो ।’
विद्यार्थीहरूको परीक्षा चार बजेसम्म चल्यो । यता विरोधसभा पौने चार बजेसम्म रह्यो । विद्यार्थीले करिब १५ मिनेट मात्रै शान्त वातावरणमा परीक्षा दिन पाए ।
एकजना विद्यार्थीले गुनासो गरे, ‘ठ्याक्कै कार्यक्रम सुरु र हाम्रो परीक्षा एकै समयमा भयो । हामीले प्रश्नपत्र पाउँदा उद्घोषक कराउन थालिसकेका थिए । हाम्रो पेपर खोस्ने बेला उता प्रचण्डको भाषण पनि सकियो ।’
अलिअलि हल्ला भयो : अनेरास्ववियूका सहसंयोजक तामाङ
परीक्षा दिइरहेका विद्यार्थीहरुलाई विरोधसभाका कारण डिस्टर्ब भएको स्वीकार गर्छन् अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ – तर, अलि अलि ।
विरोध सभाको कार्यक्रम तय गर्दा त्यही समयमा परीक्षा हुँदैछ भन्ने आफुहरुलाई थाहा नभएको बताउँदै उनले भने, ‘आरआरमा मात्रै नभएर प्रदर्शनीमार्ग वरपर अरु कलेजहरु पनि छन्, सबैतिर हल्ला भयो होला अलिअलि ।’
अझ विरोधसभा गर्ने तय भएको थाहा पाएपछि परीक्षा नै सारेको भए हुन्थ्यो भन्ने तामाङको भनाइ छ । ‘आन्दोलनका कार्यक्रम तय भएको थाहा भएपछि परीक्षा सारेको भए पनि हुन्थ्यो । किनभने, सबै तहको परीक्षा चलेको छैन नि त । त्यसो हुँदा यो विकल्प पनि हुन सक्थ्यो’ उनले अनलाइनखबरसँग भने ।
तर, प्रदर्शनीमार्ग वरपरका कलेजमा पढ्ने र परीक्षा दिने विद्यार्थीहरूलाई होहल्ला पचिसकेको उनको जवाफ छ । ‘अर्को कुरा, यसअघि अन्य समयमा पनि विभिन्न समयमा प्रदर्शनीमार्गमा कार्यक्रमहरू हुने गरेका थिए र परीक्षा पनि हुन्थे । त्यसकारण यो चलिरहने कुराका रुपमा पनि लिइएको हो’ उनले भने ।
प्रतिक्रिया 4