Comments Add Comment

विश्व भू-राजनीतिका चर्चित घटना

१६ पुस, काठमाडौं । समग्रमा सन् २०२० त्यति राम्रो वर्ष बन्न सकेन । कोरोना भाइरस (कोभिड-१९) महामारीको मारमा विश्वका अधिकांश मुलुकहरु परे । तर, यस वर्ष भू-राजनीतिक तनाव भने उत्कर्षमा पुग्यो । यहाँ सन् २०२० मा देखिएको भू-राजनीतिक घटनाहरु उल्लेख गरिएको छ –

भारत-चीन तनाव

यस वर्ष एसिया क्षेत्रमा भारत र चीनबीचको तनाव निकै चर्चित मुद्दा बन्यो । वर्षको सुरुआती महिनादेखि नै सीमाको विषयमा दुई मुलुकबीच तनाव देखिए पनि जुन १५ मा भने भारतको लद्दाखस्थित चिनियाँ सीमामा दुई पक्षका सेनाको बीचमा झडप भयो । उक्त झडपमा परी २० भारतीय सैनिकको मृत्यु भयो ।

यद्यपि चीनतर्फका सैनिकको क्षतिबारे भने कुनै जानकारी दिइएको छैन । पछिल्लो ४५ वर्षमा भारत-चीन सीमामा कुनै सैनिकको मृत्यु भएको यो पहिलो घटना थियो । यो घटनासँगै चिसिँदै गएको भारत-चीन सम्बन्ध थप चिसियो ।

भारतले चीनसँग उक्त घटनाको बदला लिन चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने नियम ल्याएको छ । त्यस्तै भारतमा पनि चिनियाँ सामग्री बहिष्कारजस्ता कार्यक्रमहरु चलाइएको थियो ।

ताइवान-चीन तनाव

कोरोना भाइरस (कोभिड-१९) को महामारीसँगै चीन-ताइवानको विवाद पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चाको विषय बन्यो । ताइवानलाई चीनले आफ्नो भूमि भएको दाबी गर्दै आएको छ । तर, ताइवान आफूलाई एक स्वतन्त्र राष्ट्रको रुपमा उभ्याउन चाहन्छ । ताइवानमाथि यस वर्ष चीनले बढी नै दबाब बढायो । ताइवानमा चीनविरोधी राष्ट्रपति साई इंग वेन निर्वाचित भएसँगै ताइवान र चीनको विवाद पनि बढ्दै गएको छ । चीनले अहिलेसम्म धेरैपटक गरेर एक सयभन्दा धेरै लडाकु विमान ताइवानको क्षेत्रमा पठाइसकेको छ ।

सन् २०२० मा ताइवानको अमेरिकासँगको सम्बन्धको कारण पनि चीन-ताइवान सम्बन्ध बिगि्रएको हो । गत वर्ष अमेरिका र ताइवानबीच पाँच अर्ब डलरको हतियार खरिद सम्झौता भएको थियो । साथै अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा ताइवानलाई पनि समावेश गर्नुपर्ने पक्षमा वकालत गरेको थियो । त्यस्तै अमेरिकाले ४० वर्षमा पहिलोपटक आफ्ना

स्वास्थ्यमन्त्रीलाई ताइवान भ्रमणमा पठाएको थियो । जसको कारण चीनले ताइवानमाथिको दबाब बढाएको हो । केही समयअघि ताइवानकी राष्ट्रपतिले चीनबाट ताइवानले सैन्य चेतावनीको सामना गरिरहेको बताएकी थिइन् ।

प्रविधि युद्ध

सन् २०२० मा विश्वको भू-राजनीति तनावको मारमा प्रविधि क्षेत्र पनि पर्‍यो । यो क्रममा केही मुलुकहरुले भू-राजनीतिक तनाव भएका मुलुकमा बनेका प्रविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरे । चीनसँगको तनावको कारण भारतले एकसयभन्दा धेरै चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगायो । त्यस्तै अमेरिकाले पनि टिकटकमाथि प्रतिबन्धको निर्णय गर्‍यो । यद्यपि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

दुवै मुलुकहरुले चिनियाँ एपबाट मुलुकको राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको बताउँदै आएका छन् । यद्यपि उनीहरुको यो निर्णयमा राष्ट्रिय सुरक्षाको जोखिमभन्दा पनि राजनीतिक तनावले बढी महत्व पाएको देखिएको छ ।

भारत-अमेरिका बेका सम्झौता

सन् २०२० को सुरुआतमा अमेरिकासँग त्यति राम्रो सम्बन्ध नरहेको भारतले अन्तिम समयमा भने अमेरिकाप्रति झुकाव बढायो । भारतीय विदेशमन्त्री एस जयशंकारले असंलग्न परराष्ट्र नीतिले मुलुकलाई फाइदा नहुने बताए ।

उनको संकेत भारत अमेरिकाको साथ लिँदै चीनमाथि दबाब दिने दिशामा अघि बढेको भन्ने थियो । भारत र अमेरिकाको बीचमा गत अक्टोबर २७ मा बेका सम्झौता भयो । जसमा सैन्य विषयसँग सम्बन्धित महत्वपूर्ण डेटाहरु शेयर गर्ने सम्झौता भएको छ । भारतले अमेरिकी सेनासँग सैन्य अभ्यास पनि गरेको थियो ।

अमेरिका-तलिबान सम्झौता

अमेरिका र तालिबानबीच भएको सम्झौता पनि यस वर्षको महत्वपूर्ण घटना हो । अफगानिस्तानमा युद्ध सुरु भएको १८ वर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन तालिबानसँग सम्झौता गर्न सफल भयो । सम्झौतासँगै अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्न पनि सुरु गरिसकेको छ । अफगानिस्तानको जारी युद्धको कारण अहिले अहिलेसम्म एक लाख ५७ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । जसमध्ये ४३ हजारभन्दा धेरै आम नागरिकहरु छन् । साथै युद्धको कारण अहिले २५ लाख अफगानीहरु शरणार्थी बनेका छन् ।

अफगानिस्तान युद्धको क्रममा अमेरिकाका दुई हजार चारसयभन्दा धेरै सैनिकको मृत्यु भएको छ । साथै अमेरिकाका सहयोगी नेटोका एक हजार एकसयभन्दा धेरै सैनिकको अफगानिस्तान युद्धमा मृत्यु भएको छ । एक अनुमानअनुसार अमेरिकाले अफगानिस्तान युद्धमा अहिलेसम्म दुई अर्ब डलरभन्दा धेरै खर्च गरेको छ ।

इजरायलको बहराइन र यूएईसँग सम्बन्ध स्थापित

सन् २०२० को अगष्ट र सेप्टेम्बरको बीचमा संयुक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग सम्बन्ध सामान्य गर्ने घोषणा गरेको थियो । पछिल्लो २५ वर्षमा इजरायललाई मान्यता दिने यी पहिलो मुलुक हुन् । यसअघि सन् १९९४ मा जोर्डनले इजरायललाई मान्यता दिएको थियो । इजरायललाई मान्यता दिने अरब मुलुकहरुको निर्णयमा अमेरिकाले पनि समर्थन गरेको थियो ।

चीन-अष्ट्रेलिया तनाव

सन् २०२० मा चीन र अष्ट्रेलियाबीचको सम्बन्ध पनि तनावपूर्ण बन्न पुग्यो । कोरोना भाइरस (कोभिड-१९) को उत्पत्तिको विषयमा अनुसन्धान हुनुपर्ने माग गरेकै कारण चीन र अष्ट्रेलियाको सम्बन्धमा तनाव सुरु भएको थियो । यसको असर दुई मुलुकको व्यापारमा देखियो । यसै विषयलाई लिएर चीनले अष्ट्रेलियाबाट आउने सामग्रीहरुमा पनि रोक लगाउने निर्णय गरेको थियो ।

त्यस्तै अफगानिस्तानको युद्धमा अष्ट्रेलियाका सैनिकले युद्ध अपराध गरेको विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले ट्वीटरमा गरेको पोस्टको व्यापक विरोध भयो । यस विषयमा दुई मुलुक एकअर्कामाथि आरोप प्रत्यारोपमा उत्रिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment