
आश्रम धर्म व्यवस्था हिन्दु धर्मको विशिष्ठ धार्मिक व्यवस्था हो । यो वैदिक धर्मको एउटा महत्वपूर्ण पक्ष पनि हो । सामान्यतयाः मानिसको आयु “शतायुर्वै पुरुषः” भनेर सय वर्ष मानिएको छ । सय वर्षको आयुलाई चार भागमा विभाजन गर्दा २५ वर्षको समयावधि एउटा आश्रममा पर्दछ । वैदिक मानवजीवनको एउटा सशक्त आधार आश्रम भएकोले यसको विवेचना हुनु अनिवार्य छ ।
ब्रह्मचर्याश्रम
उपनयन संस्कारपछि द्विजाति बटुले वेदको अध्ययन गर्दै ब्रह्म चिन्तन गर्ने हुनाले यसलाई ब्रह्मचर्याश्रम भनिएको हो । स्नान, सन्ध्योपासन, ब्रह्मयज्ञ, तर्पण, दण्डधारण, अग्निपरिचरण, गुरुशुश्रुषा, भिक्षाचर्यचरण ब्रह्मचारीका नियम हुन् । ब्रह्मचारीले मधु (मह), मांस (मासु) खान हुँदैन । कुनै स्त्रीको सङ्गत सम्भोग, गर्न पनि हुँदैन । ब्रह्मचारीका धर्ममध्येको स्त्रीसंसर्ग नगर्ने कुरालाई लिएर समाजमा अहिले पनि अविवाहित पुरुषलाई ब्रह्मचारी भन्ने चलन छ । यो जन्मेपछि २५ वर्षको समयावधिलाई दिइन्छ । ब्रह्मचर्याश्रम विद्या,बुद्धि आर्जन गर्ने विशिष्ट आश्रम हो । आफ्नो वीर्यको संरक्षण गर्दै अध्ययनमा लाग्नु यस आश्रमको विशिष्टता हो । यो आश्रम अहिले पनि अत्यन्त सामयिक रहेको छ ।
गृहस्थाश्रम
विवाहकर्म गरी पत्नी साथमा लिएर घरजम गरी बस्ने आश्रम गृहस्थाश्रम हो । सम्पूर्ण आयुलाई चारभागमा लगाएर पहिलो भाग ब्रह्मचर्याश्रममा रहेर गुरुकुलमा दोस्रो भाग विवाह गरेर गृहस्थाश्रममा विताउनु पर्ने बताइएको छ । गृहस्थले सन्तान उत्पादन गरेर,पितृ यज्ञ गरेर पितृऋण तिर्नुपर्दछ । यथाशक्ति यज्ञ पूजा गरेर देवऋण,स्वाध्यायन गरेर ऋषिऋण तिर्नुपर्दछ र ब्राह्मण, अतिथि तथा भिक्षुकहरूको सत्कार गरेर मनुष्यऋण तिर्नुपर्दछ । ब्रह्मयज्ञ, देवयज्ञ,भूतयज्ञ,पितृयज्ञ र मनुष्ययज्ञ यिनलाई पञ्चमहायज्ञ वैश्वदेवकर्म भनिन्छ । उल्लेखित यज्ञको यथाविधि अनुष्ठान गर्नु नै गृहथ्याश्रमको धर्म हो । २५ वर्षदेखि ५० वर्षसम्मको समयावधि गृहस्थाश्रमको हो । सबै आश्रमहरूमध्ये अन्य तीन आश्रम गृहस्थाश्रमबाटै परिपोषित हुने भएकोले अन्य तीन आश्रमभन्दा गृहस्थाश्रम श्रेष्ठ रहेको पनि बताइएको छ ।
वानप्रस्थाश्रम
सामान्यतया ५० वर्ष पुगिसकेपछि छोराछोरी आफ्नो जीविकामा लाग्न सक्ने भएपछि, वानप्रस्थाश्रममा जानुपर्दछ । आत्मज्ञानका निम्ति साधना गर्न नियमित तरिकाले घर भन्दा बाहिर अर्थात् वन तिरै समय व्यतित गर्नु वानप्रस्थाश्रम हो ।जब दाडी कपाल फुल्दछ तथा पुत्रको पुत्र अर्थात् नाति जन्मिन्छ गृहस्थ घरमा नबसेर जंगलतर्फ लागोस् । वानप्रस्थीको नियमको उल्लेख गर्दै ग्राम्य आहार र विलासिताका वस्तुहरूलाई त्यागेर पत्नीलाई पुत्रको साथमा छोडेर वा आफ्नै साथमा लिएर वनवासी हुनुपर्ने बताइएको छ । आयुको तृतीय भाग समाप्त गरेर सन्यासतर्फ लाग्ने निर्देश गरिएको छ । वेदको अध्ययन, देव पूजन ,अतिथि पूजन,ब्रत उपवास वस्नु,जाडामा पानीमा बसेर र गर्मीमा पञ्चाग्नि तापेर साधना गर्नु, तिर्थाटन गर्नु वानप्रस्थीहरूका धर्म हुन् । ५० देखि ७५ वर्ष सम्मको समयावधि वानप्रस्थाश्रम हो ।
सन्न्यासाश्रम
समग्र घर परिवार, धन सम्पत्ति छोडेर केवल मोक्षको अभिष्टमा हिँड्ने वानप्रस्थी मात्र सन्न्यासाश्रममा प्रवेश गर्न सक्छन् । सम्पूर्ण वस्तुलाई त्यागेर मोक्षमार्गमा लागेका व्यक्तिको आश्रम नै सन्न्यासाश्रम हो । भिक्षा माग्ने पात्र, रुखमुनिको वास, कन्थाको पहिरन, सहायकको अभाव र सम्पूर्ण प्राणी प्रतिको उपेक्षा चाख नै सन्यासीका लक्षण हुन् । अध्ययनका निम्ति ब्रह्मचर्य अनिवार्य कुरा हो । अध्ययन अनुसन्धान विनाको जीवन जिउन धेरै असहज हुन्छ । आफ्नो अध्ययन अनुसन्धान पछि घर फर्केर विवाह गरी गृहस्थ धर्म चलाउनु पर्दछ ।
असल सन्तान उत्पादन गरेर समाजलाई राम्रो बनाउन सकिन्छ । आफुले कर्म गरेर दान धर्ममा लगाउने कुरा पनि महान् हो । छोराछोरीलाई काम गरेर खानसक्ने तुल्याई वैवाहिक दायित्व सुम्पिदिई तिर्थाटन अथवा आत्मज्ञानका निम्ति घर त्याग्नु राम्रो पक्ष हो । वैराग्य उत्पन्न भएर सम्पूर्ण कुरा त्यागी सन्न्यासी बन्नु अझ आदरणीय पक्ष रहेको छ ।
प्रतिक्रिया 4