Comments Add Comment

दोधारमा अभिभावक : छोराछोरीलाई स्कूल पठाउने कि नपठाउने ?

२ वैशाख, काठमाडौं । छोरा र छोरीलाई लिन हरेक दिन विद्यालयको गेटमा पुग्दा कमला बस्नेत (परिवर्तित नाम) लाई भोलिदेखि सन्तानलाई विद्यालय पठाउन नपरे पनि हुन्थ्यो झैं लाग्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठूला शहरहरुमा एक महिना स्कूल बन्द गर्न सिफारिश गरेको खबर सुनेपछि विद्यालयमा अनलाइन माध्यममा जान अनुरोध पनि गरिन् । तर परीक्षाको तयारी भइरहेको भन्दै विद्यालय प्रशासनले नआत्तिन अनुरोध गर्‍यो । बिहीबार शंखमूलस्थित एक विद्यालयको गेटमा भेटिएकी उनले भनिन्, ‘मलाई त पठाउन नपरे हुन्थ्यो झैं भएको छ, तर स्कूल बन्द नभएकाले पढाइ छुट्ने डरले रोक्न सक्दिनँ ।’

छोराछोरी लिन स्कूल पुग्दा अरु अभिभावकको पनि राय बुझ्छिन् । अरु अभिभावक पनि उनी जस्तै दोधारमा देखिन्थे । नौ वर्षका नाति लिन विद्यालयमा पुगेकी काठमाडौ, शंखमूलकी ७१ वर्षीया रोमा कुँवर पनि हरेक दिन दोधारमा पर्ने गरेको सुनाउँछिन् । ‘अहिले नयाँ कोरोना देखिएको छ भन्छन् । नाति पुर्‍याउँ कि नपुर्‍याऊँ हुन्छ’, उनले सुनाइन् ।

‘अभिभावकहरु विभाजित देखिनुभएको छ,’ एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘कतिपय अभिभावक त्रसित भएर स्वास्थ्यभन्दा ठूलो केही होइन बन्द गर्नुपर्छ भनिरहनुभएको छ । कतिपयले बन्द गर्नुपर्ने अवस्था आएको छैन, खुल्नुपर्छ भनिरहनुभएको छ ।’

अर्की अभिभावक सवि श्रेष्ठ पनि विद्यालय बन्द हुनुपर्छ भन्ने पक्षमा छिन् । तर बन्द नहुँदा तीन कक्षामा पढ्ने छोरालाई ‘विद्यालय नजाऊ’ पनि भन्न नसनेको उनले बताइन् । ‘सरहरु विद्यालयमा जोखिम छैन भन्नुहुन्छ’ भन्छिन् ‘विद्यालयबाट संक्रमित हुने मात्र होइन, घरबाट संक्रमित भई विद्यालय जाने पनि जोखिम छ जस्तो लाग्छ । त्यही जोखिमले गर्दा अब विद्यालय पठाउने कि नपठाउने दोधारमा छु ।’

त्यही विद्यालयको गेटमा भेटिएका किरण महर्जन भने विद्यालय बन्द गर्नु समाधान नभएको जिकिर गर्छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ लागू गराएर विद्यालय खोल्नुपर्ने र अभिभावक पनि सचेत हुनुपर्ने उनको तर्क छ । ‘मलाई पनि विद्यालय पठाउँ कि नपठाऊँ त हुन्छ । तर यसो भन्दैमा विद्यालय बन्द हुनुपर्छ भन्दिनँ’ उनले भने, ‘विद्यालयमा स्वास्थ्य मापदण्ड ख्याल गर्न निरन्तर अनुरोध गर्दै आएको छु ।’

निजी विद्यालयहरुको प्रतिनिधिमूलक संस्था एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा पनि अभिभावकहरुबाट विद्यालय बन्द गर्नुपर्ने र गर्न नहुने दुुवै थरी माग आइरहेको बताउँछन् ।

‘अभिभावकहरु विभाजित देखिनुभएको छ’ उनले भने, ‘कतिपय अभिभावक त्रसित भएर स्वास्थ्यभन्दा ठूलो केही होइन बन्द गर्नुपर्छ भनिरहनुभएको छ । कतिपयले बन्द गर्नुपर्ने अवस्था आएको छैन, खुल्नुपर्छ भनिरहनुभएको छ ।’

नेपाल अभिभावक महासंघले भने एक कक्षादेखि सात कक्षासम्मका विद्यालय बन्द गर्न आह्वान गरेको छ । माथिल्ला कक्षाहरुको हकमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागू गरेर पठनपाठन गर्न सुझाएको छ । साथै संक्रमणको दर बढी भएको ठाउँमा स्थानीय तह सक्रिय भएर विद्यालयहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे–नगरेको अवस्था हेरेर बन्द गर्ने वा खोल्ने निर्णय लिनुपर्ने महासंघको भनाइ छ ।

बालबालिकाको स्वास्थ्य सुरक्षा प्रमुख भएको भन्दै अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘स्थानीय तह सक्रिय भएर विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने र त्यसका आधारमा सहयोग वा कारबाही गर्नुपर्छ ।’

उनकाअनुसार अभिभावक महासंघले पनि विद्यालयहरुमा जनस्वास्थ्यका मापदण्ड पालना भए नभएको अनुगमन गरिरहेको छ । ‘केही विद्यालयको अनुगमन गर्दा ढुक्क हुने अवस्था देखिएन’ उनले भने, ‘त्यही कारण एक कक्षादेखि सात कक्षासम्म बन्द गर्न र अरुलाई कडाईका साथ पालना गराउन स्थानीय तह तत्काल सक्रिय हुन जरुरी छ ।’

प्याब्सनका अध्यक्ष टीकाराम पुरीका अनुसार कतिपय विद्यालयमा भने विद्यार्थी तथा शिक्षकमा कोभिड–१९ को संक्रमण देखिएको आशंकामा विद्यालय बन्द भएका छन् ।

कतिपय अभिभावकले बालबालिका विद्यालय पठाउन छोडेका छन् । उनीहरुमध्ये ललितपुरकी सविना शाक्यले मंगलबारदेखि सात र दुई कक्षामा पढने छोराहरुलाई विद्यालय पठाउन छाडेकी छिन् ।

संक्रमित भेटिएर केही विद्यालय बन्द भएको समाचार पढेपछि डर लागेर बालबालिकालाई स्कूल पठाउन छोडेको बताइन् । भन्छिन्, ‘पहिले रोगबाट बच्नुपछ भनेर नपठाएको हो, रोग लागेन भनेर अर्को वर्ष पढिहाल्छ नि । विद्यालयमा पनि त्यही भनेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment