Comments Add Comment
अनुभूति/सिक्किम :

सिक्किमे बोलीले तान्यो मन

एउटा मुलुक अर्कोमा गाभिएपछि पनि त्यहाँको समाजले आफ्नो धार्मिक, सांस्कृतिक पहिचान जोगाइरहेको छ । त्यो मुलुक जहाँ पुग्दा मलाई आफ्नै देशको कुनै भूभागमा पुगे जस्तो लाग्यो । त्यहाँका मृदुभाषी जनताको मुखबाट निस्केको नेपाली भाषाको शैली सुन्दा हामीले कतै आफ्नै भाषाप्रति अन्याय त गरिरहेका छैनौं भन्ने अनुभूति भयो ।

एउटा कालखण्डमा कुनै गडबडीको शिकार भएर भारतमा गाभिएको सिक्किमको समाजले आफ्नो भेषभुषा, संस्कृति, रहनसहनलाई भने उनीहरूकै भाषामा ‘डल्लै जोगाएको रहेछ नि हो !’ सिक्किमे रहनसहनमा नेपाली भाषा र संस्कृतिलाई महत्वपूर्ण स्थान रहेछ । त्यसलाई त्यहाँ सुरक्षित तरिकाले जोगाइएको रहेछ ।

सिक्किमे जनता भारत आफ्नो मुलुक र आफूहरू भारतीय भएको गर्वका साथ बताउँछन् । नेपाल र चीनसँग सिमाना जोडिएको सिक्किम २६ अप्रिल १९७५ मा भारतमा गाभिएको थियो । आफ्नो मुलुकलाई भारतमा गाभिनबाट जोगाउन त्यहाँका बासिन्दाले धेरै कोशिश गरे तर शक्तिशाली छिमेकीको अगाडि उनीहरूको केही चलेन ।

सिक्किम भारतको एउटा प्रान्त भएको झण्डै ५० वर्ष भयो । तर त्यहाँका बासिन्दा भाषा, रहनसहन, रीतिरिवाज, संस्कृति र परम्परा भने सिक्किमकै जोगाएर राख्न सफल छन् । त्यहाँ नेपाली, भोटिया, लेप्चा अनि भारतीय मूलका मानिसहरूको बसोबास रहेछ ।

संयोगवश कोभिड महामारीको समयमा देश बाहिर मेरो पहिलो भ्रमण यो रोमाञ्चक मुलुकका मिलनसार बासिन्दा बसोबास भएको क्षेत्रमा भयो । दुई महीनाअघि नेपालको मानवअधिकार पत्रकार संघले काँकडभिट्टामा आयोजना गरेको एउटा छलफलमा भाग लिन म पूर्वी नाका पुगेकी थिएँ ।

सो सम्मेलनमा भारतको पश्चिम बंगाल र सिक्किमका पत्रकारहरूसँग भलाकुसारी भयो । त्यही क्रममा सिक्किम जाने वर्षौदेखिको रहर जागृत भयो । मेरो एकजना मित्र र म सिक्किम जान कस्सियौं । कोभिडले अत्याउन थाले पनि अठोट गरेपछि नहट्ने बानीका कारण सावधानी अपनाएर जाने जमर्को गरियो । अनि पुगियो भारतको एक सुन्दर पहाडी प्रान्तमा ।

नेपालमै आजभोलि शुद्ध नेपाली बोल्ने र लेख्ने मान्छे भेट्न हम्मे पर्छ । तर, सिक्किममा भने नेपाली भाषाको प्रयोग यति मीठो लाग्यो कि त्यहाँका बासिन्दासँग सजिलै मोहनी लाग्यो ।

‘३० वर्षजति अगाडि जान पाएको भए त म यतै बिहे गर्थेँ  होला’ भन्न थालिन् मेरी साथी । हुन पनि त्यहाँ ‘दाजु’ मा लेग्रो तानेर, बहिनीलाई ‘बुनु’ र दिदीलाई ‘नाना’ भनेर बोल्ने ‘सिक्किमिज’ पारा एक सुमधुर संगीत जस्तै लाग्यो । ‘सबै’ भन्नु पर्‍यो भने ‘डल्लै’ भन्ने त्यहाँको शैलीले मन छोयो । ‘हामी सबै आएका छौ है’ भन्नु पर्‍यो भने ‘हामी त डल्लै आएका छौ है’ भन्ने ।

बोलीमा मात्रै होइन त्यहाँ नेपाली साहित्य सिर्जना पनि प्रखररूपमा भइरहेको पाइयो । ‘प्रधानमन्त्री ओलीको निमन्त्रणामा भानु जयन्तीमा नेपाल गएकी थिएँ, भानुभक्तलाई सिक्किममा त गल्ली गल्लीमा कदर गरिन्छ नि ! त्यसैले निम्तो आउने बित्तिकै म समारोहमा सहभागी हुन गएँ’ भनिन् दिलकुमारी भण्डारीले । उनी सिक्किमकी पूर्व सांसद समेत हुन् ।

सिक्किमका पूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीकी पत्नी दिलकुमारी, सिक्किमबाट दुई पटक सभासद् भइन् । सिक्किम भारतमा गाभिइसकेपछि नरबहादुर भण्डारी दुई पटक निर्वाचित मुख्यमन्त्री भए । त्यहीबेलादेखि सिक्किमको विकासमा संलग्न दिलकुमारीको मुख्य अभियान नेपाली भाषालाई सिक्किममा जोगाउने र भारतमा चिनाउने भन्ने थियो । सभासद् भएको बेलामा निरन्तर लागेर उनीसहितका नेपाली भाषीहरू नेपाली भाषालाई भारतको संवैधानिक भाषा बनाउन सफल भएका रहेछन् ।

सिक्किमका धेरै बासिन्दालाई नेपालमा भानुभक्त जस्तो नेपाली कविको कदर जति हुनुपर्थ्यो त्यति नभएको जस्तो लाग्दो रहेछ । मैले जति नेपालीलाई भेटें, उनीहरूमा नेपाली भाषाको प्रेम पाएँ । नेपाली किताब पढ्न मन पराउने, त्यसलाई माया र आदर गर्ने उनीहरूको भनाइले नेपाली भाषा साहित्यप्रतिको उनीहरूको रुचि झल्किन्थ्यो ।

समालोचक गिर्मी शेर्पा, कथाकारहरू महानन्द पौड्याल, राधाकृष्ण शर्मा, सानु लाला, पेम्पा तामाङ, कवि/कथाकार डा.राजेन्द्र  भण्डारी, पूर्ण राई, प्रा. रुद्र  पौड्याल, निबन्धकार समिरण पि्रयदर्शी आदिले नेपाली साहित्यलाई अगाडि बढाइरहेका रहेछन् ।

भारतको उत्तरपूर्वी इलाकामा रहेको सिक्किमको सिमाना उत्तर र उत्तरपूर्वमा चीन, पूर्वमा भूटान, पश्चिममा नेपाल र दक्षिणमा पश्चिम बंगाल पर्छ । सिक्किम सिलिगुडी कोरिडरसँग नजिक छ जसले बंगलादेश जोड्छ । करीब ७ लाख जनसंख्या भएको सिक्किम भारतको कम जनसंख्या भएको सानो राज्यमध्येमा पर्छ ।

भारतमा कोरोना महामारीको राम्रो व्यवस्थापन गर्ने राज्यमध्येमा सिक्किम पर्दछ । अप्रिल ९ सम्मको आँकडा अनुसार सिक्किममा ‘रिपोर्टेड केस’ ६ हजार ३८०, निको भएका ५ हजार ९८०, मृतक संख्या १३६ रहेछ । त्यसमा पनि ९५ प्रतिशतको मृत्यु अरू गम्भीर रोगको कारणबाट भएको रहेछ ।

अल इण्डिया रेडियो गान्तोकका पत्रकार विष्णु न्यौपानेका भनाइमा, ‘सिक्किम सरकारले सक्रिय कानून कार्यान्वयन र जनताले त्यसलाई अनुशासनपूर्वक पालना गर्ने गरेकोले यहाँ कोरोना महामारीको रोकथाम राम्रोसँग भएको हो ।’

हुन पनि महामारी शुरू हुनासाथ त्यहाँको स्वास्थ्य विभागले सिक्किमका हरेक अस्पताललाई महामारीको उपचार गर्न सक्ने बनायो । अनि जनजागरण र सचेतनाका कार्यक्रम तीव्र रूपमा अगाडि बढायो । न्यौपाने भन्छन्, ‘महामारीको समयमा स्वास्थ्यकर्मीको विनम्र व्यवहार र उनीहरूले काममा गरेको मिहिनेतप्रति हामी धेरै आभारी छौं ।’

 

काठमाडौंबाट सिलिगुडी हुँदै गान्तोक पुग्दा मनै चंगा हुने । त्यहाँको शहर र गाउँ-बस्तीको वातावरण सफा र स्वच्छ लाग्यो । सफा राखिएका आधुनिक घर र सडक पर्यटकलाई लोभ्याउने खालका छन् ।

नेपालमा भन्ने गरिएको तर नगरिएको ग्रामीण पर्यटनलाई सिक्किमले व्यवहारमै कार्यान्वयनमा ल्याएको रहेछ । गान्तोकलाई मात्रै पर्यटन आकर्षणको क्षेत्र नबनाई राज्यको कुना-कुनामा आकर्षक पूर्वाधारहरूको सिर्जना गरिएको रहेछ ।

गान्तोकस्थित महात्मा गान्धी रोड (एमजी रोड) ले त युरोपको आधुनिक सडकको झल्को दिने रहेछ । पेलिङ्गको चेरेञ्जी बुद्ध स्तूपा र गान्तोकको हनुमान टक भन्ने आकर्षक पर्यटकीय स्थल भरतीय सेना र जनता मिलेर बनाएका रहेछन् ।

त्यहाँ पुग्ने सबै पाहुनाले हनुमानको प्रसाद र तात्तातो चिया खान पाउने रहेछन् । दक्षिण सिक्किममा फेरि अर्को आकर्षण भनेको चारधाम र बौद्धपार्क राबोङ्ला रहेछन् । भारतको चार दिशामा रहेको चारधाम एकै ठाउँमा हुबहु मौलिक नै देखिने भएकोले छिमेकी राज्य र विदेशबाट पनि हिन्दूहरू दर्शनको लागि आउँदा रहेछन् ।

छाङ्गु, नाथुला पासको छेउ भारत-चीन सीमामा यस्तो दृश्य देखियो जुन दिल र दिमागमा जिन्दगीभरि नै एक अविस्मरणीय पलको रूपमा रहने भयो । चीनको सिमाना पुग्ने बेलामा हिउँले छोपिइएको पहाडले घेरेको छाङ्गु तालको वरिपरि घुम्दा एकैक्षण बसेर आँखा चिम्लिएर त्यो दृश्यलाई मनको क्यामरामा कैद गर्दा त महामारीको बेलामा सिक्किम जाने आँट गरेकोमा आफूलाई कत्ति पनि गलत गरे जस्तो लागेन ।

माथि उल्लिखित सबै पर्यटकीय स्थानहरू सिक्किम सरकारले बनाएको र संरक्षण गरेको रहेछ । त्यसमा साथ दिएर जनताले त्यसमार्फत आफ्नो रोजीरोटीको जोहो गरेका रहेछन् । नेपाल सरकार र नेपाली जनताले सिक्किमबाट सिक्नुपर्ने कुरा हो, यो ।

भाषा, संस्कृतिमा गौरव गर्ने र विकासमा सहभागी हुने, सरसफाइमा सधैं ध्यान दिने र प्रदेशको कुनाकाप्चासम्म पर्यटकीय आकर्षणको बनावट सिर्जना गर्ने काम सिक्किमले गरेको छ । त्यसबाट हामीले पनि पाठ सिक्न सक्छौं।

महामारीले मन र तन शिथिल पारेको बेला सावधानीका उपाय अपनाएर सिक्किम गइयो र एक सुमधुर याद, अनुभव र शिक्षा बटुलेर फर्कियो । यसो मौका मिलेको बेला शरीर र दिमाग स्वस्थ बनाउन तपाईं पनि एक पटक सिक्किम जाने हो कि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment