+
+

‘प्रभु सेलेक्ट फण्डमा लगानी गर्नेले वार्षिक २० प्रतिशत प्रतिफल पाउँछन’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ५ गते ११:५८

पुँजी बजारमा अग्रणी मर्चेन्ट बैंकिङ कम्पनी हो प्रभु क्यापिटल । वर्तमान समयमा सबैभन्दा धेरै चुक्ता पुँजी रु. ८१.७१ कराेड रहेको यो संस्थाले हाल आफ्नो पुँजी तथा लगानी व्यवस्थापन अन्तरगत गरेर करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ । करिब १ वर्ष अघि निषेधाज्ञाकै बिच समृद्धि क्यापिटल सँग मर्जर भई अगाडि बढेको यो संस्थाले छोटो समयमै डीपी सेवा तथा लगानी व्यवस्थापन सेवाका साथै निष्कासन तथा बिक्री प्रबद्र्धन तर्फ व्यापक रुपमा सेवा विस्तार गर्दै अगाडि बढेको छ ।

यसै बीच चैत्र मसान्तसम्मको कारोबारका आधारमा कम्पनीले प्रतिसेयर ८१रुपैयाँ कमाउन सफल भएको छ भने क्यापिटलले आफ्नो लगानी व्यवस्थापन तर्फका आफ्ना ग्राहकहरुलाई समेत उच्च प्रतिफलप्रदान गर्नसफल बनेको छ । यसै बीच क्यापिटलले प्रभु बैंकको कोष प्रबद्र्धनमा आफू योजना व्यवस्थापक रहेर पहिलो पटक सामूहिक लगानी योजना निष्कासन गर्ने तयारी गरेको छ ।

प्रभु क्यापिटललेप्रभु म्युचुअल फण्ड अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्ड जेष्ठको ५ गतेबाट निष्कासनको तयारी गरेको छ । प्रस्तुत छ, यसै सन्दर्भमा हामीले प्रभु क्यापिटलका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः

आजबाट प्रभु क्यापिटलले ‘प्रभु सेलेक्ट फण्ड’ को बिक्री खुला गर्दैछ, यो फण्ड के हो ?

प्रभु सेलेक्ट फण्ड एक बन्द मुखी सामुहिक लगानी योजना हो । प्रतिइकाई १० रुपैयाँ अंकित दर रहेको यो योजना अन्तरगत१० करोड इकाईको बिक्री गरी १ अर्ब बराबरकोरकम संकलन गर्ने लक्ष्य रहेको छ ।

यसरी संकलन गरेर बनाइएको योजना अन्तरगत संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म सेयरमा लगानी गरिनेछ । यसरी लगानी गर्दा अधिकतममा ३० वटा कम्पनीहरु छनौट गरी ती कम्पनीका सेयरमा लगानी गरिनेछ ।

सर्वप्रथम त लगानीकर्ताहरु बीच छरिएर रहेका स–साना बचतहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ । त्यसपछि योजनाको इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामूहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरीआवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पु¥याउने ढंगबाट आफ्ना कार्यहरुलाई अगाडि बढाउने छ ।

तपाईंहरुको लगानी रणनीति के हुन्छ ? प्रभु सेलेक्ट फण्डले कसरी काम गर्छ ?

हाम्रो फण्डको नामले नै स्पष्ट छ यो फण्ड एकदम सेलेक्टिभ फण्ड हो । नेपालको शेयरबजारमा धेरैवटा सेक्टरका धेरैकम्पनीहरु सूचीकृत भई कारोबारमा रहेका छन् । तर बजारमा सबैको प्रदर्शन एक समान रहेको हामीले पाउँदैनौं । यदि त्यस्तो हुन्थ्यो भने त जुन सुकै कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले राम्रो प्रतिफल आर्जन गर्नुहुन्थ्यो । त्यसैले हामी उपलब्ध कम्पनीहरु मध्येबाट लगानी गर्नुपूर्व छनौट गर्छौं । छनौट गर्दासूचीकृत कम्पनीहरु मध्येमा कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था बलियो रहेको एवं निश्चित अन्तरालमानेप्से परिसूचकभन्दा उत्कृष्ट प्रदर्शन गर्न सक्ने किसिमका शेयरहरु छनौट गरी ती मध्येबाट पनि अधिकतम ३० वटा उत्कृष्ट कम्पनीहरु छनौट गरी तिनीहरुको शेयरमा मात्रै लगानी गरी नियमित खरिद बिक्री गर्छौं ।

यो नै हामो लगानी रणनीति हो ।यसका साथै यो फण्डले आगामी दिनमा नेप्सेले जारी गर्ने तयारी गरेको नेप्से ३० नामक इण्डेक्ससँग रिफरेन्स बेन्चमार्कको रुपमा स्थापित हुने तथा त्यसका लागि निरन्तर अधिकतममा ३० वटा कम्पनीहरुलाई आफ्नो पोर्टफोलियोमा लिएर अगाडि बढ्ने यसको लक्ष्य रहेको छ । त्यसैले हामी कम्पनीहरु छनौट गर्दा त्यसका लागि आवश्यक रहने विभिन्न मानकहरु तयार गरी कम्पनी छनौटको लागि विशिष्टिकृत पारामिटर बनाई ती पारामिटरमा फिट हुन सक्ने कम्पनीहरुलाई मात्रै लिएर अगाडि बढ्ने छौं ।

फण्ड व्यवस्थापन गर्न तपाईंहरुसँग कस्तो टिम छ ?

हामीसँग नेपाली पुँजी बजारका साथै अन्तर्राष्ट्रिय पुँजी बजारमा काम गरी सकेका अनुभवी तथा यस क्षेत्रमा विज्ञता प्राप्त गरिसकेका साथीहरुको व्यवसायीक टिम छ । यसमा एक जना सिए सिएफएए तथा एमबिए गरी भारतीय बजारमा करिब ७ वर्ष काम गरिसकका एवम् अमेरिकामा एमबिए गरी त्यहाँको बजारमा करिब २ वर्ष काम गरीसकेका साथीहरु हुनुहुन्छ । यसका साथै १ जना सिए जो भारतीय पुँजी बजारका साथै नेपाली पुँजी बजारमा पनि करिब ५ वर्षयता संलग्न भइ कार्य गर्दै आउनुभएको छ ।

यो हाम्रो इन्भेष्टमेन्ट म्यानेजमेन्ट टिम हो । साथै हाम्रो प्रबन्ध सञ्चालक ज्यू र म आफैं पनि यो क्षेत्रमा लामो समयदेखि कार्य गर्दै आएका छौं । यसलाई सघाउनलाई हामीसँग अरु साथीहरु पनि हुनुहुन्छ । यसका साथै हाम्रो लगानी कमिटिमा पनि नेपाली पुँजी बजारमै विशेष दखल भएका व्यक्तित्वहरु हुनुहुन्छ भने अर्कोतर्फ हाम्रा फण्ड सुपरभाइजरहरु पनि व्यवस्थापन, प्रशासन, पँुजीबजार, रिसर्च एवं अध्यापनको क्षेत्रमा लामो समय काम गरेको अनुभवी व्यक्तित्वहरु हुनुहुन्छ ।

बजारमा लगानीहरुसँग यति धेरै छनौटहरु छन् उनीहरुले जग्गामा, सुनमा, सूचीकृत शेयरमा जतापनि लगानी गर्न सक्छन् । किन प्रभु सेलेक्ट फण्डमै लगानी गर्ने ?

तपाईंले भन्नु भएको ठिक हो । आज पैसा हुने अधिकांश लगानीकर्ताहरुले चाहेमा लगानीका विभिन्न क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ । तर जो सँग लाखौं करोडौं लगानी गर्ने क्षमता छैन के उहाँहरुले चै लगानी नै नगर्ने त ? तपाईं लगानी बजारमा आजको दिनमा हेर्नुस – सुनको तोलाको मुल्य नै ९३ हजार माथि छ । काठमाण्डौ भ्यालीमा रिङ्गरोड भन्दा ८–१० किलोमिटर दुरी बाहिर पनि १२ फिटे बाटो भएको ठाउँमै आनाको कम्तिमा १० लाख मुल्य पर्ने भइसकेको छ । त्यसैगरी शेयर बजारमा स्वयंले लगानी गर्न दोश्रो बजारमा जोखिम धेरै नै रहको हुन्छ । तसर्थ हाम्रो युनिट भनेको करोडौं करोड लगानी भएका लगानीकर्ताहरु भन्दा पनि विभिन्न क्षेत्रमा असंगठित रुपमा काम गर्ने, आफूसँग भएको स–सानो बचतलाई लगानीमा रुपान्तरण गर्न चाहने लगानीकर्ताहरुको लागि बढि लक्षित छ । उहाँहरु प्रभु सेलेक्ट फण्डमा रु. १० मै युनिट होल्डर बन्न सक्नुहुन्छ ।तपाईं हामी आज १ प्लेट मःमः को लागि समेत प्रति प्लेट सस्तोमा पनि रु.९०÷१०० खर्च गरिहेका हुन्छौं । १ कप कालो चियकै रु. २० तिरिरहेका हुन्छौं ।तसर्थ त्यस्ता स–साना खर्चहरुबाट बचत भएको पैसा समेत लगानी गर्न सक्नुहुन्छ । विद्यार्थी भाईबहिनीहरुले आफनो पकेट मनी सेभ गरेर पनि न्यूनतम १०० युनिट प्रभु सेलेक्ट फण्डमा लगानी गर्न सक्नु हुन्छ ।

अझ हामी त के भन्छौं भने म्युचुअल फण्डको युनिटमा लगानी गर्नु भनेको १ कप चिया भन्दा सस्तो हो । यसले तपाईंहरुसँग भएको स–सानो रकमलाई बचत गर्दै लगानीमा रुपान्तरण गर्न सघाउँछ । त्यसैले शेयर बजारमा पर्याप्त समय दिन नसक्ने, नव प्रवेशी लगानीकर्ता, विद्यार्थी भाईबहिनीहरुका साथै शेयर बजार ज्ञान र अनुभव नभएका तथा थोरै थोरै भए पनि लगानी गर्छु भन्नेहरुले जोखिम न्यूनिकरणका साथै आफ्नो लगानीको उच्च प्रतिफलका लागि प्रभु सेलेक्ट फण्डमा लगानी गर्नुहोस भनेर आग्रह गर्दछु ।

अन्य म्युचुअल फण्डमा भन्दा प्रभु सेलेक्ट फण्डमा के फरक छ ?

हाम्रो बजारमा हामी अगाडि पनि अरु २१ वटा सामुहिक लगानी योजनाहरु सञ्चालनमा छन । तर हजुरले हेर्नुभयो भने सबै सामुहिक लगानी योजनाहरुको संरचना र स्वरुप एकबाट अर्कोसँग दाँज्नुभयो भने फरक पाउनु हुन्छ । त्यो भिडमा हामी कसरी अरुभन्दा फरक छौं भन्ने कुरा गर्नुपर्दा हाम्रो योजना र रणनीति नै अरु फण्ड पृथक छ त्यो हो हामी सेलेक्टिभ छौं । जम्मा ३० वटा कम्पनीहरुमा लगानी व्यवस्थापन गर्ने योजना बनाएका छौं । यसले लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल तथा जोखिम व्यवस्थापनको साथै समग्र बजारलाई नेप्सेका परिसूचकसँग दाँज्न मिल्ने एउटा बेन्चमार्क प्रदान गर्नेछ ।

हाम्रो लगानी रणनीतिका आधारमा पनि अरु भन्दा छौं । हामीले अहिले पनि ग्राहकहरुको लगानी व्यवस्थापन तथा आफ्नो पूँजी सहित करिब २ अर्ब रकमको व्यवस्थापन गर्दै आएका छौं र त्यसबाट गएको ९ महिना अर्थात चैत्रको तेश्रो त्रैमास भित्र हामीले रु. ८१ प्रतिशेयर आम्दानी गर्न सफल भएका छौं भने ग्राहकहरुले पनि लगानी व्यवस्थापन अन्तरगत उच्च प्रतिफल प्राप्त गर्नुभएको छ । तपाईंले बजारमै बुझ्नुभयो भने पनि यो पटकको बुलमा लगानीबाट सबैभन्दा धेरै नाफा कमाउनेमध्ये हामी धेरै अगाडि छौं । त्यो किन भन्दा हाम्रो लगानी रणनीति नै हो ।यसभन्दा अघि बजार डाउनट्रेण्डमै रहेको बखत समेत हामीले बजारबाटै लगानी गरेरै मुनाफा कमाएर प्रतिफल दिएको अनुभव हामीसँग छ । यसका लागि हामीले अनुभवी तथा दक्ष लगानी कमिटि, लगानी टिम तथा रिसर्च टिमको व्यवस्थापन गरका छौं । तसर्थ हाम्रो लगानी रणनीति अनुरुप नै हामीले यो फण्डलाई व्यवस्थित तरिकाले अगाढि बढाउँछौं । त्यही भएर नै हामीले ७ वर्षको अवधिमा करिब ३ गुणा सम्म प्रतिफल दिन सक्छौं भनेर प्रक्षेपण गरेकाछौं ।

तपाईंहरुले आफ्नो फण्डको व्यवस्थापन गर्दै अगाडि बढ्ने क्रममा आगामी ५/७ वर्षको लागि नेपाली पुँजी बजारको अवस्था कस्तो देख्नुहुन्छ ?

मलाई त के लाग्छ भने हामी नेपाली पुँजी बजारको स्वर्णकालीन युगमा प्रवेश गर्ने तयारी छौं तसर्थ आगमी ५÷७ वर्षको अवधि एकदमै स्वर्णीम रहनेछ । म यो किन भन्दैछु भने यो अवधिको बीचमा नेपाली पुँजी बजारले थुप्रै नयाँ कुराहरुलाईं समेटेर अगाडि जानेछ । पुँजीबजारमा इटीएफ,स्टक तथा कमोडिटि डेरिभेटिभ जस्ता लगानी औजारहरु थप हुनेछन् । कारोबार गर्ने मेकानिजममा विस्तार भई इन्ट्रा डे तथा सर्टसेलिङको व्यवस्था हुनेछ । कारोबारमा प्रयोगहुने प्रविधि एवं प्रणालीहरु थप परिपक्व बन्नेछन् । बुक बिल्डिङ्ग विधिबाट बजार थप सबल तथा भविष्य बोकेका ग्रोथ स्टेजका कम्पनीहरु कारोबारमा आउनेछन् । भर्खरै स्टक डिलरको प्रवेश भएको छ यस्ता डिलरहरु अझै थप हुँदै जानेछन् जसले संस्थागत लगानीकर्ताहरुको बाहुल्यता बजारमा वृद्धि गर्नेछ । सबल र सक्षम पुँजी कोष भएका एवं प्रविधि मैत्री ब्रोकरहरुको संख्या विस्तार भएर जानेछ ।अहिले भइरहेका जस्तै क्लोज इण्डेडका साथै ओपन इण्डेड फण्डहरु एवं विशिष्टिकृत लगानी कोषहरुको संख्या बढेर जानेछ । जसले बजारमा थप माग तथा आपूर्तिको व्यवस्थालाई टेवा प्रदान गर्नेछन् । यसका साथै एनआरएन तथा वैदेशिक लगानीलाई पुँजीबजारमा प्रवेशको लागि मार्गप्रशस्त हुनेछ । तसर्थ मेरो विचारमा आगामी ५–७ वर्षमा हामीले पुँजीबजारका क्षेत्रमा थप विकासहरु देख्न पाउनेछौं । तसर्थ हाम्रो यो फण्डले अहिले जारी बुलको उचाईका साथै ७ वर्षको दौरानमा अर्को एउटा बुल समेत पाउनेछ भन्ने हामीलाई लागेको छ । तसर्थ जो लगानीकर्ता दिर्घाकालिन लगानीमा विश्वास गर्नुहुन्छ उहाँहरुले ढुक्क भएर हाम्रो फण्डमा लगानी गर्न सक्नु हुनेछ ।

बजार अहिले एकदमै उचाईमा रहेको छ तपाईंहरुले यस्तो बेलामा निष्कासन गर्दै हुनुहुन्छ । उचाईमा बजार रहेको बेलामा कम्पनीको मुल्य पनि उचाईमै रहेको हुन्छ ? लगानीकर्ताहरुलाई कसरी विश्वस्त पार्नुहुन्छ ?

हामीले मात्रै हैन बजारमा रहेका सबैले अहिलेको अवस्थामालाई मदर अफ बुल भन्ने गरेकाछन् । जसको तात्पर्य ठूलो बुलको आमा अर्थात यो वृद्धि यही टुंगिने वृद्धि हैन यसले अर्को बुल जन्माउँछ भन्ने विश्वास । त्यो किन पनि हो भने कोभिडका कारण लगानी र व्यवसायका अन्य सबै क्षेत्रहरु निरुत्साहित छन् । बजारको व्याजदर सिंगल डिजिटमा झरेको छ । तरलता सिंचित गर्ने क्षेत्र निकै कमछन् । अनलाइन कारोबार प्रणालीले विस्तारै परिपक्वता हासिल गर्दैछ । लगानीकर्ताहरु पनि अनलाइन कारोबार प्रणाली प्रति अभ्यस्त हुँदै गएकाछन् । राजनीतिक वातावरण एकदमै तरल रहेको छ । पोलिटिकल्ली हेर्ने हो भने चुनाव हुने निश्चित जस्तै छ । यसले तरलतामा थप विस्तार गर्नेछ । यी सबै हिसाबले हाम्रो विश्लेषण के हो भने बजार अर्को चुनाव सम्पन्न नहुन्जेल सानो तिनो करेक्सन बिचमा बिचमा हेर्दै हामी अर्को नयाँ उचाईमा पुग्ने छौं ।

बजारमा यो उचाईमा प्रवेश गर्नुहुन्छ कि हुन्न भन्ने कुरा तपाईंले गर्ने फण्ड म्यानेजमेन्टको रणनीति र त्यो रणनीतिले तपाईंभित्र रहेको डरलाई परास्त गर्नु सक्नुहुन्छ कि हुन्न भन्ने कुरामा निहित रहन्छ । डराउनेहरु त हेर्नुहोस् हेर्नुस जहिले पनि डराइरहेका हुन्छन् । किनकी दोश्रो बजारमा हरसमयजोखिम नै रहन्छ । चाहे तपाईँले ११०० तहमा बजार प्रवेश गर्नुहोस चाहे तपाईं अहिले साढे २६०० को लेभलमा । तपाईंले छनौट गरेको कम्पनीमा दम छ भने बजारले नेगेटिभ सर्किट हान्दै गर्दा पनि तपाईंको कम्पनीले भने पोजेटिभ सर्किट हानिरहेको पनि हुन सक्छ । तसर्थ हामी के भन्छौं भने नेप्सेको अहिलेको परिसूचक भनेको डर हो । तर डरलाई परास्त गर्ने भनेको तपाईंको रणनीति र कम्पनी छनौटले नै हो र तपाईंले छनौट गरेको कम्पनी प्रतिको तपाईंको विश्वास ले नै हो ।

तसर्थ हामीले जहिले पनि कम्पनीको व्यवसायिक वृद्धि र उसको प्रतिफलमा ध्यान दिन्छौं । हामीले छनौट गरेको कम्पनीले आफ्नो पुँजी अनुसारको व्यवसाय विस्तारको गति लिन सकेको छ वा छैन र अरु सोही प्रकारका कम्पनीहरुको अवस्थालाई दाँजेर हेर्दा कम वा बेसी के छ ? समग्र इण्डष्ट्रिको औषत प्रोफिट मार्जिन र हामीले हेरेको कम्पनीको प्रोफिट मार्जिनदर के छ भनेर हेर्छौंं । यी सबै कुरा भनेको जोखिम व्यवस्थापनको एउटा पाटो हो । लगानी गर्ने भन्दै गर्दा मुल्यमा मात्रै वृद्धि हुन्छ भनेर मात्रै हेर्दैनौं । त्यो कम्पनीको आधारभूत कुरामा वृद्धि हुन सक्नुपर्दछ । हामीले त्यस्ता कम्पनीहरुलाई मात्रै छनौट गर्छौं र यसरी हेर्दा कम्पनीको अहिलेको मुल्य कति हो ? यसको भ्यालुएसन के छ ? प्राविधिक रुपमा किन्न सहि समय हो कि होइन ? हामीले बेच्न टार्गेट गरेको समयसम्म हामीले चाहेको मुल्य प्राप्त हुन्छ कि हुँदैन पनि हामी हेर्छौं ।

बजार अहिले २६०० माथि रहेको बेलामा पनि कति कम्पनीहरु अझै उस्को वास्तविक मुल्यांकन भन्दा धेरै तल छन भने कतिपय कम्पनीहरु धेरै माथि गइसकेकाछन् । यी सबै कुराहरु हामीले हेरिाखेका हुन्छौं । तसर्थ कम्पनी खरिद गरिसकेपछि मात्रै होइन हामी खरिद गर्नु अगावैदेखि नै त्यो कम्पनी खरिद गर्दा हुन सक्ने जोखिम प्रति सजग बन्दै लगानी गर्ने गर्छौं । तसर्थ नेप्सेको इण्डेक्सलाई एउटा ब्राकेटमा राखेर हामी कम्पनीको भ्यालुलाई बढि महत्व दिन्छौं ।

यो फण्डमा लगानी गर्ने युनिटहोल्डरले के कस्तो प्रतिफलको अपेक्षा यो योजनाबाट गर्न सक्छन् ?

हामीले गरेको प्रक्षेपण अनुसार युनिट होल्डरहरुले वार्षिक रुपमा औषतमा २० प्रतिशतको प्रतिफल प्राप्त गर्नुहुनेछ भने निरन्तर ७ वर्ष लगानी गर्ने युनिटहोल्डरले म्याचुरिटि अवधिसम्ममा करिब ३ गुणा प्रतिफल पाउनुहुनेछ ।

यस अर्थमा फिक्स्ड डिपोजिटमा लगानी गर्नुहुने लगानीकर्ताहरु जो निश्चित प्रतिफलको लागि बैंकमा पैशा राखेर बस्नु भएको छ उहाँहरुको लागि समेत यो एकदमै राम्रो लगानी क्षेत्र हो । यसलाई उहाँहरुले जति बेला चाह्यो बजारमा बिक्री गरेर पैशा निकाल्नु पनि सक्नुहुनेछ । त्यसैले जोखिम कम रुचाउनु हुने, चाहेको बेला आफ्नो लगानी झिक्न चाहने तथा आफूसँग भएको बचतलाई लगानीमा परिणत गर्न चाहनुहुनेहरुले हाम्रो फण्डको आइपीओमा लगानी गर्न सक्नुहुनेछ ।

यो फण्डमा लगानी गर्नलाई के कुराले लगानीकर्ताहरुलाई अभिप्रेरित गर्छ ?

लगानीकर्ताहरुको प्रभु क्यापिटलमाथिको विश्वास नै हो एउटा प्रमुख कुरा हो । त्यसबाहेक पनि हामीले प्रतिबद्धता गरेको प्रतिफलको साथै लगानी सुरक्षा पनि हो । हामी अरु क्यापिटल भन्दा धेरै पछि आएका छौं र यो बिचमा हामीले बजारमा रहेका कमी कमजोरीहरुको राम्रो विश्लेषण गरेकाछौं ।

तसर्थ यो हाम्रो पहिलो फण्ड भएका कारण यसलाई हामीले अहिले भएका गल्ती कमिकमजोरीहरुलाई न्यूनीकरण गर्दै सबल ढंगबाट व्यवस्थापन गर्छौं भन्ने विश्वास लगानीकर्ताहरुमा छ, त्यसले पनि उहाँहरुलाई लगानीका लागि अभिप्रेरित गर्छ । साथै हाम्रो लगानी अनुभवको फाइदा युनिटबाट लिनको लागि पनि लगानीकर्ताहरुले हाम्रो फण्डमा लगानी गर्नुहुनेछ भन्ने विश्वास हामीलाई रहेको छ ।

तपाईंहरुले बेलाबेलामा आकर्षक योजनाहरु ल्याउने गर्नु भएको छ । अघिल्लो पटक ३ वर्षे निःशुल्क डिम्याट तथा मेरो शेयर फेरी त्यस पछि अहिले ९ वर्षको लागि रु. ९९९ मा डिम्याट सेवा प्रदान गरिराख्नु भएको छ । नयाँ योजनाहरु के ल्याउन लाग्नु भएको छ ?

हजुरले भनेको ठिकै हो हामी यो बजारको लिडिङ्ग संस्था भएको हुँदा हामीले जहिल्यै पनि हाम्रा ग्राहक तथा सेवाग्राहीका लागि ठूलै प्लान गरिरहेका हुन्छौं । त्यसक्रममा हामीले ग्राहकहरुका लागि आउने वर्ष विशेष स्किमको तयारी नै गरिरहेका छौं । बजारले देखिसकेको छ हामीले ३ वर्षको लागि निःशुल्क डिम्याट तथा मेरो शेयरको स्किम लिएर आएका थियौं । अहिले पनि हामीले रु. ९९९ मै ९ वर्षको लागि डिम्याट तथा मेरो शेयर सेवा प्रदान गरिरहेका छौं । तसर्थ नेपाल धितोपत्र बोर्ड र सिडिएससिले हामीलाई हामीले गर्न खोजको कार्य गर्न अनुमति दिएको खण्डमा आउने आर्थिक वर्षमा हामीले हाम्रा सेवाग्राहीहरुलाई अहिले सम्मकै ठूलो योजना लिएर आउने तयारी गरिहेका छौं ।

हामी हाम्रो सेवा र कार्यक्षेत्रको दायरा निरन्तर विस्तारको क्रममा छौं । सेवाको क्षेत्रमा हामीले अहिले प्रदान गरिरहेको मर्चेन्ट बैंकिंग सेवालाई कायम राख्दै आफ्नो कार्यक्षेत्रलाई विस्तारको क्रममा इन्भेष्टमेन्ट बैंकिंगतर्फ मोड्ने क्रममा छौं । यसै क्रममा हामीले संस्थागत परामर्शको क्षेत्रमा कार्यगर्ने तयारी गरिरहेका छौं ।

प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलको क्षेत्रमा कार्य गर्नको लागि विशिष्टिकृत लगानी कोष सञ्चालन गर्ने तयारी गर्दैछौं र यसका लागि नेपाल धितोपत्र बोर्ड समक्ष हामीले आवेदन दिइसकेका छौं । यी सबै कुराहरुले हामीलाई आउँदा दिनहरुमा इन्भेष्टमेन्ट बैंकिंगको क्षेत्रमा कार्य गर्ने सहजता प्रदान गर्नेछ भन्ने विश्वास छ । साथै नेपाल धितोपत्र बोर्डले हामीलाई कार्यगर्ने दायरा विस्तार गरी कार्य गर्न दिएमा स्टक डिलर वा धितोपत्र दलाल वा मार्जिन कारोबारमा सहजकर्ताको रुपमा कार्य गर्ने ननबैंकिंग फाइनान्सिंग कम्पनीको रुपमा कार्यगर्न दिएमा त्यस क्षेत्रमा हामी काम गर्न तयार छौं ।

हामीले आफैंले व्यवस्थापन गर्ने गरी पहिलो सामूहिक लगानी योजना लिएर यही जेष्ठ ५ गतेबाट निष्कासनमा आउँदैछौं । सबै किसिमका लगानीकर्ताहरुले यसमा सहभागिता जनाउन सक्नुहुन्छ । आउनुहोस् अबको ५–७ वर्ष नेपाली पुँजी बजारमा थप विकासका कुराहरु देख्नपाउनुहुन्छ त्यसको साक्षी मात्रै बन्ने नभएर अधिकतम लाभ लिनको लागि भएपनि तपाईंहरुले प्रभु सेलेक्ट फण्डमा लगानी गर्नुहोस् । अहिलेसम्म हामीले हाम्रा ग्राहक, सेवाग्राही तथा सेयरधनीहरुको विश्वास जितेरै यहाँसम्म आइपुगेका छौं । त्यो विश्वासलाई युनिट होल्डरका लगानीकर्ताहरुसमक्ष कायम राख्दै हामी हाम्रा युनिट होल्डरलाई ७ वर्षको दौरानमा राम्रो प्रतिफल दिन सफल हुन्छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?