+
+

राजनीतिक परिस्थितिले सुरक्षा चुनौती आउन सक्ने सेनाको विश्लेषण

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १९:२१

२३ जेठ, काठमाडौं । संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ ।

कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताए ।

‘परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’, थापाले भनेका छन् । उनले सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको पनि बताए ।

थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने पनि बताएका छन् । उनले भने, ‘हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रष्ट गरेको छ ।’ सोही अवसरमा थापाले सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको पनि जानकारी दिए ।

कार्यकाल सकिन तीन महीना बाँकी रहँदै उनले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका हुन् । अन्तिम एक महीना विदामा बस्ने परम्परा अनुरुप त्यसअगावै नेतृत्व हस्तान्तरणलाई निष्ठापूर्वक र विस्तृतरुपमा गरिने थापाले बताए ।

सेनामा रथी प्रभुराम शर्मा थापाको उत्तराधिकारी बन्ने लाइनमा छन् ।

सरकार-विप्लव समझदारीले मूर्तरूप लिने अपेक्षा 

थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको पनि बताए । उनले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने पनि विश्वास व्यक्त गरेका हुन्।

‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक धारमा आउने सम्भावना देखाएको छ,’ थापाले भने, ‘विश्वास गरौं, यसले मूर्तरुप लिनेछ र नेपाली समाजलाई भविष्यमा द्वन्द्वको श्रृंखलामा अगाडि लैजानका लागि अगाडि बढ्ने छैन ।’

थापाले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता पनि द्वन्द्व नभएको बताएका छन् । ‘त्यसकारणले कुनै पक्ष समाजमा गएर द्वन्द्व सिर्जना गर्छ, विखण्डन सिर्जना गर्छ भने त्यसलाई सेना, सम्पूर्ण सुरक्षा निकाय र राष्ट्रले पराजित गर्नेछ,’ उनले थपे, ‘राष्ट्रका सबै निकाय ‘होल अफ द नेसन’ अप्रोचमा गए ती प्रवृत्तिलाई स्वतः सामना गर्न सकिन्छ ।’

पूर्खाले नेपाल जोगाएको इतिहासलाई स्मरण गराउँदै उनले भविष्यमा पनि सेनाले सबै निकायको साथ लिएर राष्ट्रको रक्षा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?