+
+

सविताहरूले अकालमा ज्यान गुमाउन नपरोस्

रूपा पाण्डे रूपा पाण्डे
२०७८ जेठ २६ गते १४:०८

‘मसँग बोल्ने आँट पनि छैन । म एकदमै होपलेस र हेल्पलेस भइसकें । के भन्ने केही पनि छैन । टेक केयर, राम्रोसँग बस्नू । धेरै स्ट्रङ हुन खोजें तर म भित्रैबाट वीक (कमजोर) भइसकें । अब त्यति धेरै स्ट्रङ हुन सक्दिनँ । म यो दिनदिनैको पेन (दुःख) नि सहन सक्दिनँ । दिन–दिनै मलाई यो धेरै नै भइसक्यो । एकदम टोलरेट गर्न नि नसक्ने भइसकें एकदम इनफ नै भइसक्यो ।’

माथि उल्लिखित अति नै दर्दनाक शब्दहरू चितवनकी सविता भण्डारीका हुन् जसले आफ्नो मृत्युपूर्व बहिनीलाई एउटा भिडियोका साथै माथिको अडियो सन्देश पनि पठाएकी थिइन् ।

उनकी बहिनीका अनुसार सवितालाई आफ्ना ससुराले शरीरका संवेदनशील अंगहरूमा छुन खोज्ने र यो कुरा उनलाई निकै असहज लागेको तर अरूलाई भन्न अप्ठ्यारो लागेको बताएकी थिइन् । उनकी बहिनीले यस कुरामा आफूलाई समेत विश्वास लाग्न गाह्रो भएकाले प्रमाणस्वरूप भिडियो खिच्नका लागि सुझाएको भन्ने कुरा बहिनीको अन्तर्वार्ताबाट देखिन्छ ।

उनले आफू घरेलु तथा यौन हिंसाको शिकार भइरहेको कुरा आफ्ना श्रीमान्, बहिनी तथा आफ्ना साथीहरूलाई समेत सुनाइन् । यति मात्रै होइन प्रमाण समेत जुटाइसक्दा पनि उनको कुरा अगाडि बढाइदिने र उजुरी दिने कोही भएन ।

अहिले उनको हत्या या आत्महत्या हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ तर उनी मृत्युको मुखसम्म पुग्नुपर्ने अवस्था किन आयो भन्ने कुरा मुख्य हो । अहिले हिंसाको शिकार भएर मृत्युवरण गर्न बाध्य भएकी सविताको न्यायको माग गर्दै सामाजिक सञ्जालमा जस्टीस फर सबिता भण्डारी भन्ने अभियान शुरू गरिएको छ ।

मृतक सविताका बुवा–आमाका अनुसार बच्चाको भविष्यको लागि मिलापत्र गर्नुपर्ने कुरा प्रहरीले अगाडि सारेको छ । दुःखका साथ भन्नुपर्छ महिला हिंसाको घटनालाई नेपाल प्रहरीले मिलापत्रको पहिलो र अन्तिम विकल्पको रूपमा अगाडि सार्ने गरेको यो पहिलो घटना होइन ।

मुख्य कुरा के महिलाले आफू हिंसामा परेको प्रमाण नै जुटाउनुपर्छ । जबकि महिलाले आफू हिंसामा परेको कुरा अरूसँग भन्न र उजुरी गर्न नेपाली समाजमा धेरै हिम्मत चाहिन्छ । किनकि हिंसाको उजुरी गर्नु भनेको इज्जत जानु हो । अर्कोतिर समाजले परिवारको कुरा परिवार भित्र नै राख्नुपर्ने भनेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पीडित महिलालाई दबाब दिइरहेको हुन्छ ।

समाजमा हुने महिला हिंसालाई परिवार, समाज र सरोकारवालाले यी हुँदै गर्ने सामान्य कुराहरू भनेर हलुका रूपमा लिने हुँदा महिलाले त्यसलाई आफ्नो भाग्य र कर्मको दोषको रूपमा स्वीकार्न बाध्य हुन्छन् । यसले उनीहरूको शारीरिक, मानसिक, लैङ्गिक र प्रजनन स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।

सविताका शब्दहरू सुन्दा उनी शिक्षित र सचेत जस्ती लाग्छिन् र उनी अस्ट्रेलिया पढ्नका लागि जाने योजना आफ्नी बहिनीलाई सुनाउँथिन् । घरेलु तथा यौनजन्य हिंसा अशिक्षित महिलाले मात्र सहन्छन् भन्ने कुरा गलत हो भन्ने यो घटनाले पनि देखाएको छ ।

एक शिक्षित महिलालाई पनि हिंसाको सामना गर्नु परिराखेको हुन्छ र उनी यसका लागि सक्षम नहुन पनि सक्छिन् भन्ने कुरा हामी यो घटनाबाट सिक्न सक्छौं । महिला शिक्षित, आर्थिक रूपमा आत्मनिर्भर, सामाजिक रूपमा सशक्त हुँदैमा, राजनीतिक रूपमा अगाडि आउँदैमा उनले हिंसा भोग्नु पर्दैन भन्ने हुँदैन । तर, यसले उनलाई हिंसा विरुद्ध लड्न तथा सामना गर्न केही सहयोग गरेको हुन्छ ।

विश्व स्वास्थ्य संगठनको आकलन अनुसार विश्वभरिका हरेक तीन महिलामध्ये एकले आफ्नो जीवनमा शारीरिक वा यौन हिंसाको सामना गर्नुपरेको हुन्छ । जसमा सबैभन्दा धेरै आफ्नो श्रीमान् अथवा नजिकको पार्टनरबाट हुने गरेका हिंसाहरू छन् ।

एक प्रतिवेदन अनुसार ४८ प्रतिशत नेपाली महिलाले कुनै न कुनै प्रकारको हिंसा भोग्दै आएका छन्, जसमा १५ प्रतिशत यौनहिंसा पर्दछन् । महिला माथि घरेलु हिंसा लकडाउनको समयमा अझ धेरै बढेको विभिन्न प्रतिवेदनमा उल्लेख छ । कोभिड महामारीको पहिलो लकडाउनसँगै बढेको महिला र बालिकाहरू विरुद्धको हिंसालाई संयुक्त राष्ट्रसंघले ‘स्याडो पेन्डामिक’ (छायाँ महामारी) भनेर उल्लेख गरेको छ । यसको अर्थ लकडाउनको समयमा महिला तथा बालबालिकाको हिंसा अन्य महामारी भन्दा बढेको तर यसमा सरोकारवाला तथा राज्यको ध्यान पुग्न नसकेको भन्ने बुझिन्छ ।

हिंसा अनुभव गर्ने बित्तिकै महिला पुग्ने ठाउँ भनेको प्रहरी र प्रशासन हो । तर, धेरैजसो अवस्थामा प्रहरीले घटनालाई ‘आज उजुरी गर्छन् भोलि मिल्छन्’ भन्दै घटनालाई दर्ता समेत नगर्ने गरेको हामीले सुन्दै र अनुभव गर्दै आएका छौं ।

तर, नेपाल प्रहरीको लैङ्गिक नीति २०६९ ले महिला हिंसालाई उचित हिसाबले प्रक्रियामा अगाडि बढाइदिनुपर्ने कुरा प्रष्ट बताएको छ । यसै अन्तर्गत नीति नं १ मा प्रहरी संगठन र बाहिर हुने कुनै पनि प्रकारको लैङ्गिक हिंसामा शून्य सहनशीलताको सिद्धान्त अवलम्बन गरिने भनेर उल्लेख गरिएको छ ।

छोट्कनीको दर्दनाक कथा

तीन वर्ष अगाडि बर्दियाको मेरो नजिकको गाउँकी २२ वर्षीया छोट्कनी यादवलाई उनका श्रीमान्ले तराईमा पानीका लागि प्रयोग हुने नल्काको फलामको हत्ताले टाउकोमा हानेर गम्भीर घाइते बनाए । घरकाले अस्पताल नलगेपछि माइती पक्षले उनलाई अस्पताल लग्यो तर प्रहरीको रिपोर्ट नभएको भन्दै अस्पतालले उनलाई भर्ना लिन मानेन ।

संयोगवश मेरी दिदी आफ्नो उपचारका लागि त्यही अस्पताल पुग्नुभएकोले उहाँकै पहलमा निकै लामो बहस र अनुरोधपछि अस्पतालले उनलाई भर्ना गर्न तयार भयो । तर, रकम जम्मा नगरी उपचार अगाडि बढाउन मानेन । म यहाँ काठमाडौं रहेकाले मसँग फोन र सोसलमिडिया बाहेकको अरू विकल्प थिएन ।

घाइते महिलाको दाइसँग कुरा गरेर प्रहरीमा उजुरी गर्न पठाएँ र इलाका प्रहरीमा रहेका प्रहरीसँग पनि अनुरोध गरें । प्रहरीले श्रीमान् श्रीमतीको झगडा हुँदै गर्ने गरेको र पछि गएर उनीहरू आफैं मिल्ने हुँदा घटना दर्ता गर्नु नपर्ने बताए । निकै बेरको आग्रहपछि प्रहरीले घटना दर्ता गर्न राजी भए । तर, पछि थाहा भयो– त्यो घटना दर्ता नै भएको थिएन ।

फोन मार्फत आफूले चिनेका पत्रकार र महिला अधिकारकर्मीहरूसँग कुराकानी गरें । आफ्नो फेसबुक मार्फत घटनाको बारेमा जानकारी गराएँ । तर, नेपालका अग्रपंक्तिमा रहेका पत्रिकाहरू समेतले यो घटना ‘कभरेज’ गरेनन् । एउटा स्थानीय पत्रिकाको ‘कभरेज’ र मेरो फेसबुक पोष्टबाहेक यसले कुनै स्थान पाएन । विडम्बना केही दिनपछि ती महिलाको मृत्यु भयो ।

माथि उल्लिखित घटना केही प्रतिनिधि उदाहरण मात्रै हुन् । समाजमा हुने महिला हिंसालाई परिवार, समाज र सरोकारवालाले यी हुँदै गर्ने सामान्य कुराहरू भनेर हलुका रूपमा लिने हुँदा महिलाले त्यसलाई आफ्नो भाग्य र कर्मको दोषको रूपमा स्वीकार्न बाध्य हुन्छन् । यसले उनीहरूको शारीरिक, मानसिक, लैङ्गिक र प्रजनन स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।

महिला हिंसामा को दोषी ?

महिला हिंसाको सन्दर्भमा परिवार, समाज, प्रशासन र अन्य सरोकारवाला सबैको उत्तिकै जिम्मेवारी छ । समाजमा महिला तथा यौनिक हिंसा भइरहने कुरा भनेर वास्ता नगर्ने र चाहिएको बेला महिलालाई साथ नदिनेहरू सबै उत्तिकै दोषी हुन् ।

परिवारले छोरीलाई सानैदेखि विभेदलाई ‘सामान्य हिसाबले लिनुपर्ने’ कुरा सिकाउँछ । विवाह गरेर जब बिदाइ भएर उनी कर्म घर जान थाल्छिन् तब उनलाई ‘सबैले भनेको मान्नु’, ‘घरको कुरा घरमै राख्नु’ र ‘घरको कुरा माइतीलाई समेत नभन्नु’ र ‘केही आइपरेमा सहनु’ भनेर आशीर्वाद दिइन्छ ।

हिंसाको मुख्य पात्र हामी महिलाले सामाजिक हिंसाको विरुद्धमा आफ्नो आवाज उठाउने र यसका लागि आफू सक्षम छु भन्ने विश्वास आफैंलाई दिनुपर्दछ ।

जब उनले सानैदेखि सिकेको संस्कार, विवाह हुनेबित्तिकै छोरी पराइको जिम्मेवारी हो भन्ने भनाइ र व्यवहारले गर्दा महिला आफ्नो पीडा दबाएर राख्न बाध्य हुन्छिन् र हिंसा सहँदै जान्छिन् । आफ्नो पीडा भन्दा समाज र परिवारको इज्जत अग्रस्थानमा राख्ने उनले निकै हिम्मत गरेर हिंसाको कुरा अगाडि ल्याइन् भने पनि परिवार र समाजले हिंसाको कारण महिला स्वयम् भएको बताउँछ ।

सरोकारवालाले महिला हिंसाको केसलाई खासै वास्ता नगर्ने र अन्तिम विकल्पका रूपमा आफू हिंसामा परेको उजुरी गरिन् भने पनि प्रहरीले मिलापत्र गरेर पठाउँछ र भोलिपल्टबाट परिवारले उनलाई अझ बढी हिंसा गर्न थाल्दछ ।

समाधान के छ ?

घरेलु तथा यौनजन्य हिंसाको पूर्ण समाधान नभए पनि यसलाई न्यूनीकरणका उपाय धेरै छन् जसको शुरूआत परिवारले नै गर्न सक्दछ । परिवारले छोराछोरी दुवैलाई हिंसा गर्न नहुने र आफूलाई परेमा सहन नहुने कुरा एउटा संस्कारको रूपमा सिकाउनुपर्छ ।

आफ्ना सन्ततिलाई विना भेदभाव आर्थिक, सामाजिक र शैक्षिक लगानी गर्नुपर्दछ । छोरीको विवाह गरेसँगै आफ्नो दायित्व सकियो भनेर उम्कनु भन्दा पनि पहिले जत्तिकै दायित्व तथा जिम्मेवारी भएको र यो कुरा हरेक छोरीले महसूस गर्न सक्ने वातावरण सृजना गर्नुपर्दछ । यसो गर्दा श्रीमान्का परिवारले हिंसा गर्न सक्ने सम्भावना केही मात्रमा भए पनि कम हुनसक्छ ।

समाजले पनि हिंसा गर्नेलाई पूर्णरूपमा बहिष्कार गर्नुपर्दछ । यदि महिला माथि यौनजन्य हिंसाको कुरा सुनेमा पीडितलाई साथ दिने र उपयुक्त पहलकदमीमा सहयोग गर्ने परिपाटी बसाउनुपर्दछ ।

हरेक सरोकारवाला व्यक्ति तथा निकायले आफ्नो विषयगत क्षेत्र जुनसुकै परे पनि हिंसा विरुद्धको लडाइँमा साथ दिने कामलाई आफ्नो प्राथमिकतामा राख्नुपर्दछ । प्रहरी हिंसा सम्बन्धी घटना दर्ता गर्ने पहिलो निकाय भएकाले पीडितको कुरा सुन्ने र पीडित पक्षलाई आफू सुरक्षित भएको महसूस दिलाउन सक्नुपर्दछ ।

हिंसाको मुख्य पात्र हामी महिलाले सामाजिक हिंसाको विरुद्धमा आफ्नो आवाज उठाउने र यसका लागि आफू सक्षम छु भन्ने विश्वास आफैंलाई दिनुपर्दछ । हिंसाको सामना गर्नुपर्ने अवस्थामा तुरुन्तै उजुरी गर्ने र आफूलाई सुरक्षित र भरपर्दो लाग्ने ठाउँमा बस्नुपर्दछ । हिंसा कदापि भाग्य र कर्मको कारणले हुँदै होइन यो त अर्को पक्षको दानवीय स्वभावको कारणले हुन्छ भन्ने बुझ्नुपर्दछ ।

यसरी सबैजना एकजुट भएर लाग्यौं भने चितवनकी सविता र बर्दियाकी छोट्कनी जस्ता महिलाहरू हिंसाको शिकार हुनुपर्दैन । सविताले चाँडै न्याय पाउन् र यस्ता घटना फेरि नदोहोरियोस् भन्ने कामना गर्दै सबै सरोकारवालालाई आफ्नो ठाउँबाट उनको न्यायका लागि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?