Comments Add Comment

सिनेमा खेल्न ‘सेक्स’को प्रस्ताव आयो : शिल्पा पोख्रेल

chabi-and-silpa-pokheral
सय भन्दा बढी म्यूजिक भिडियोमा काम गरेपनि मोडल शिल्पा पोख्रेललाई सिनेमाको भाषा बुझ्न अझै केही समय लाग्नेछ । कारण, सिनेमामा प्रयोग हुने भाषा र केही शब्दहरुमा उनी सानै छिन् । संचारकर्मीका केही प्रश्नमा शिल्पाले यही कारणले हुनसक्छ खुलेर जवाफ दिन सक्दिनन् । तर, पनि अनलाइनखबरसँगको भेटमा ‘लज्जा’ डेब्यू हिरोइनले मनका धेरै कुराहरु पोख्न भ्याइन् ।

छविसँग नाम जोडिदा तनावै तनाव
सिनेमामा अवसर पाउँने वित्तिकै मलाई छवि ओझासँग नाम जोडेर चर्चा गरियो । छविले बिहे प्रस्ताव राखेदेखि लिएर मेरो प्रेमको कुरा समेत गरियो । यसले मलाई त असर गर्‍यो नै, परिवारले समेत प्रश्न गर्‍यो । सिनेमा खेल्दा फाइदा पुग्ने भएपनि मलाई सुरुवातमै घाटा लाग्ने अवस्था आयो । मेरो परिवारले बारम्बार छविसँगको सम्बन्धको बारेमा सोधेपछि मैले ‘लोफर’ नायिका रजनी केसीका केही समचार परिवारलाई देखाए । रजनीसँग पनि छवि ओझाको नाम जोडिएको थियो भनेपछि मेरो परिवार केही शान्त देखियो । यो घटनाले धेरै पटक म कोठा बन्द गरेर रोएकी छु ।

म रेखालाई जित्न आएकी हैन
मिडियामा रेखा थापाको स्थान लिन शिल्पाको प्रवेश भनेर बारम्बार खबर आउँछ । म रेखा थापाको स्थानमा कहिले पुग्न नै सक्दिन । म यहाँ आफ्नो स्थान बनाउन आएकी हुँ । रेखासँग नाम जोड्दा नरमाइलो महशुश हुन्छ । मलाई आशा छ ‘लज्जा’ हेरिसकेपछि मलाई दर्शकले नयाँ तरिकाबाट चिन्नुहुन्छ ।

सुरुमै सेक्स प्रस्ताव
मैले सिनेमा खेल्नका लागि नायिकाले आफ्नो ईज्जतको बलिदान दिनुपर्छ भन्ने सुनेकी थिएँ । तर, मैले यो कुरा आफै भोगे । केही म्यूजिक भिडियो खेलेपछि मलाई एक निर्देशकले फिल्म खेल्न बोलाउँनुभयो । उहाँले कुराकानीको दौरानमा ‘तिमीलाई फिल्म दिएपछि हामीले के पाउँछौ’ भनेरे सोध्नुभयो । यो कुराले मलाई लामो समयसम्म पिरल्यो । मेरो मनबाट सिनेमा खेल्ने चाहना सबै हराएर गयो ।

शंकर वीसीसँग भिडियो गर्दै गर्दा छवि ओझाले ‘लज्जा’का लागि अफर गर्नुभयो । त्यतिबेला उहाँले ‘लोफर’ भन्ने सिनेमा नै बनाउनुभएको थिएन । मलाई यो मान्छेले झुलाउन लाग्यो जस्तो सोच पलायो, त्यतिबेला । मलाई फेरि अघिल्लो घटनाले बारम्बार तर्साउथ्यो । मैले खेल्दिन भनेर घर गएँ । ४ महिनापछि छवि ओझाले फेरि फोन गर्नुभयो । मलाई निर्देशक नवल नेपालले पूर्ण विश्वासमा राखेपछि सिनेमा खेल्न राजी भए । अहिले पनि म सिनेमा खेल्नुभन्दा पहिले ‘सेक्स’ प्रस्ताव आएको घटनाले तर्सिन्छु ।

छविसँगको संझौता
हो, मैले ‘लज्जा’ प्रदर्शनमा नआएसम्म अन्य सिनेमा नखेल्ने संझौता गरेको छु । तर, यो संझौता भिडियोको लागि भने होइन । ‘लज्जा’मा मैले खुबै मिहिनेत गरेकाले पनि यसको प्रतिक्रियापछि अगाडि कसरी बढ्ने भनेर सोच्नेछु । यो सिनेमा भन्दा अगाडि नै अर्को कमजोर सिनेमा मैले खेलेपनि ‘लज्जा’लाई घाटा लाग्छ भनेर छविजीले यस्तो संझौता गर्नुभएको हो । silpa-pokheral

कलाकार बन्न चाहन्छु, रेखा मात्र सेलिब्रेटी
अब म सिने नगरीमा नै निरन्तरता दिन चाहन्छु । म सम्पूर्ण भूमिका गर्ने पूर्ण कलाकार बन्ने चाहना राख्छु । नेपालमा रेखा थापा बाहेक अन्य कलाकारले खासै काम गरेको म देख्दिन । यसैले पनि मेरो नजरमा रेखा थापा मात्र सेलिब्रेटी हुनुहुन्छ जस्तो लाग्छ ।

छवि ओझा मेरो पिता समान, रेखालाई माया गर्नुहुन्छ
छवि ओझा मेरो पिता समान हुनुहुन्छ । उहाँले मलाई बिहे प्रस्ताव गर्नुभयो भन्ने कुरा हल्ला मात्र हो । उहाँले मलाई यस्तो गर्नुहुन्छ भन्ने मलाई कहिले लाग्दैन । छवि ओझाले रेखा थापालाई खुबै माया गर्नुहुन्छ । रेखा थापाको बिषयमा आजसम्म उहाँले नकारात्मक कुरा गरेको मलाई थाहा छैन । उहाँले आजसम्म रेखालाई रिस पोख्नु भएको छैन ।

‘लज्जा’ के हो ?
‘लज्जा’ एक नारीप्रधान सिनेमा हो । एउटा केटी मानिस अफिसबाट निस्किएपछि घर नफर्किउन्जेलसम्मको कथामा यो चलचित्र बनेको छ । मलाई आर्यन सिग्देल जस्ता चर्चित नायक, नवल नेपालजस्ता चलेका निर्देशक र नेपाली सिनेमाका वाघ निर्माता छविराज ओझासँग काम गर्दा चुनौती थियो नै । तर, मैले आफ्नो भूमिकामा न्याय गर्न खोजेकी छु । कात्तिक ७ गतेबाट चल्ने यो सिनेमाले जस्तो व्यापार गरेपनि दर्शकले मेरो भूमिकालाई स्विकार गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।
प्रस्तुती : विजय आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment