Comments Add Comment

महाराजाभन्दा कम देखिएनन् केपी ओली

Kp-oli-2

८ पुस, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले ‘महाराजा’को संज्ञा दिए पनि एमाले अध्यक्ष केपी ओलीले त्यसको खण्डन गर्दै आफूलाई ‘अवैतनिक सिपाही’ बताएका छन् । तर, तोकिएको समयमा कार्यक्रममा उपस्थिति नजनाउने बानीमा भने ओली राजा-महाराजाभन्दा कम देखिएनन् ।

एमालेनिकट प्रेस चौतारीले मंगलबार अपरान्ह काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा ओलीसँग अन्तरसम्वाद कार्यक्रम आयोजना गरेको थियो । अपरान्ह चार बज्दा नबज्दै ओली आइपुग्ने भन्दै चौतारीले साढे तीनबजे नै पत्रकारलाई उपस्थित हुन भनेको थियो ।

यो पनि पढ्नुस् : ओलीको व्यंग्य – प्रचण्डलाई नाटकघरले किन लाँदैन ?

तोकिएको समयमा ओली नआएपछि पत्रकारले पट्यार माने । साढे चार बजेतिर केही पत्रकार उठेर हिँडे । कतिपयले केपी ओलीले कहिल्यै समयको पालना नगर्ने टिप्पणी गर्न थाले ।

उता प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठकमा सहभागी हुन भेला भएका शीर्षनेताहरुको हालत पनि तीनकुनेका पत्रकारको भन्दा फरक रहेन । चारबजे बालुवाटारमा बैठक डाकिएको थियो, पौने पाँच बजेसम्म ओली तीनकुनेकै कार्यक्रममा आएका थिएनन्, बालुवाटार पुग्ने त कुरै भएन ।

पञ्चायतकालमा राजाको सवारी हुने बेलामा जनताले यसैगरी पट्यार लाग्नेगरी कुर्नुपर्थ्यो । सिद्धार्थ कटेजमा भेला भएका पत्रकारहरु ओली आउँछन् कि भन्दै महाराजालाईजस्तै साँझ पाँचबजेसम्म कुरेरै बसे ।

पाँच बजेपछि ओली कालो लङकोटमा मुसुक्क हाँस्दै सिद्धार्थ कटेजमा प्रवेश गरे । उनी मञ्चमा बसेपछि अतिथि आसन गराउनासाथ लोडसेडिङका कारण बत्ती गयो र अँध्यारो भयो ।

Kp-oli-1

ओलीले अँध्यारैमा  म यहाँ छु भन्दै पट्टी बाँधेको हात उठाएर पत्रकारलाई अभिवादन गरे । महिनौंदेखि उनको हातमा यसरी नै पट्टी बाँधिएको छ । ओलीले आसन ग्रहण गर्दा बत्ती निभेको थियो भने सम्बोधन गर्न लाग्दा केहीबेर माइक बिग्रियो ।

प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले स्वागत गरिसकेपछि साँझ ५ बजेर मीनेट जाँदा केपी ओलीले बोल्न थाले । ओलीको मन्तव्य सकिँदा ५ बजेर ३९ मिनेट गइसकेको थियो । जबकि बालुवाटारमा शीर्ष नेताहरुले केपी ओलीलाई बेलुका ४ बजेेदेखि पर्खिइरहेका थिए ।

तोकिएको समयभन्दा दुईघण्टापछि बेलुका ६ बजेमात्रै ओलीको बालुवाटारतर्फ सवारी चल्यो, जतिबेला बालुवाटार बैठक स्थगित भइसकेको थियो । बालुवाटारमा नेताहरुले ओलीलाई पट्यार लाग्ने गरी दुईघण्टासम्म कुरेका थिए, विगतमा जनताले महाराजाको सवारी कतिखेर होला भनेर कुरेजस्तै ।

‘समयको ख्याल नगर्ने केपी ओलीको बानी कहिल्यै गएन, प्रेस चौतारीसँग सम्वद्ध एमाले कार्यकर्ता लक्ष्मी प्रसाईंले अनलाइनखबरसँग भने, ‘केपी ओली वचनका पक्का, माधव नेपाल समयका पक्का नेता हुन् ।’

ओलीले भने-समयले कसैलाई पर्खंदैन

केपी ओलीको व्यवहार र विचारमा कति भिन्नता छ भन्ने कुरा तीनकुनेमा उनले गरेको भाषणमै प्रष्ट झल्कियो । तोकिएको समयभन्दा घण्टौंसम्म पखिइरहेका पत्रकारसँग उनले भने-‘समयले कसैलाई पर्खंदैन, समयको ख्याल गरेर रेलको डिब्बाभित्र चढेन भने रेल छुट्छ ।’

ओलीले सोफामा बसेर समयले पर्खंदैन भन्दै पत्रकारलाई शिक्षा दिइरहेका बेला उता बालुवाटारमा डेढघण्टादेखि अन्य नेताहरुले उनलाई पर्खिइरहेका थिए । समयले अरुलाई नपर्खे पनि ओलीलाई पर्खंदोरहेछ भन्ने तीनकुने र बालुवाटार दुबैतिरको पर्खाइले स्पष्ट पारेको थियो ।

यो पनि पढ्नुस् : ओली नआएपछि चार दलको बैठक स्थगित

नेताहरुको भनाइ र गराइमा तादाम्य पाइने गरेको छैन । जसले समयको पालना गर्दैन, उसैले समयको महत्व बताउनुले नेताहरुको भनाइ र गराईको बेमेल स्पष्ट पर्ने गरेको छ । विगतमा पनि केपी ओलीलाई अन्य नेताहरुले महाराजालाई जस्तै ७ घण्टासम्म कुर्ने गरेका छन् ।

साँझ ६ बज्न २० मिनेट बाँकी रहँदा सिद्धार्थ कटेजबाट उठ्दै ओलीले भने, ‘अब म बालुवाटारतिर लागें है त ।’ जाँदाजाँदै एकजना पत्रकारले सोधे, ‘आज सहमति हुन्छ त ?’ ओलीले प्रचण्डलाई संकेत गर्दै भने-‘उठेर हिँडेनन् भने ।’ तर, दुईघण्टासम्म राजालाई जसरी कुर्दा पनि ओली नआएपछि बालुवाटार बैठक स्थगित भइसकेको थियो र नेताहरु उठेर बाटो लागिसकेका थिए ।

म महाराजा होइन, सिपाही हुँ

Kp-oli-3यद्यपि एमाले अध्यक्ष ओलीले आफूमाथि प्रचण्डले लगाएको आरोपको खण्डन गर्दै आफू महाराजा नभई देशको सिपाही भएको बताए ।

‘म महाराजाको विरुद्ध संघर्ष गरेर आएको मानिस हुँ,’ ओलीले पत्रकारको कार्यक्रममा भने, ‘महाराजामात्रै होइन, महराजाको सपना देख्नेहरुका विरुद्ध पनि संघर्ष गरेर आएको व्यक्ति हुँ, म देशको सिपाही हुँ ।’

एमाले अध्यक्ष ओलीले भने, ‘म सिपाही हुँ भन्दा कहिले भर्ना भइस् भन्लान्, म अवैतनिक सिपाही हुँ, देशको सेवक हुँ ।’

पत्रकारदेखि डराउँदिन

एमाले अध्यक्ष ओलीले आफूलाई पत्रकारले जति नै विरोध गरेर लेखे पनि आफूलाई केही मतलव नलाग्ने बताए । ‘२ करोड ७० लाख जनता छन्, क-कसले गाली गर्छन्, खण्डन गर्दै हिँड्दिन, गालीले मलाई छुँदैन, उनीहरुकै घुँडामा लाग्छ,’ ओलीले भने-‘मैले बोलेको भिडियो सम्पादकहरुले काट्छन् होला, पत्रकारहरु व्यवसायिकमात्रै छैनन्, मिसन पनि छ, कतिलाई गाली मात्रै गर्नु छ होला ।’

पत्रिकामा आजभन्दा पहिले लेखिएको समाचार पल्टाएर हेर्न ओलीले पत्रकारलाई आग्रह गरे । ओलीले आफू सधैं सही र सत्य बोल्ने नेता भएको बताए । पत्रकारको कार्यक्रममा ओलीले ठट्यौली पारामा बोल्दा सहभागीहरुले कुनै महत्वपूर्ण विषय प्रस्तुत गरेको ठानेर हाँसो व्यक्त गरेको देखिन्थ्यो ।

कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले सञ्चार मन्त्रालयमा कांग्रेसले एकलौटी गरेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए । ओलीले पूर्वराजा ज्ञानेन्द्रलेजस्तै सञ्चारमन्त्री र सचिवलाई ‘भन्दिउँला’ भन्ने आश्वासन चौतारीका नेताहरुलाई दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment