Comments Add Comment

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

६ जेठ, हेटौंडा । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बागमती प्रदेशसभातर्फ राष्ट्रियसभा सदस्यका लागि बिहीबार हेटौंडामा मतदान भएको थियो । जसमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरुको विपक्षी गठबन्धनका साझा उम्मेदवार देवकोटाले ५,०८८ मतभार पाए ।

बादलले ४,०१४ मतभार पाए भने नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार पाएका छन् ।

प्रदेशसभाका १०५ सदस्यले मतदान गर्दा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए । प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ ।

बादलले पाएनन् माधव समूहको मत

सामान्यतः राष्ट्रियसभाको उपचुनावमा जुन दलसँग प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी (प्रमुख र उपप्रमुख) धेरै छन्, त्यही दलका उम्मेदवारले जित्छ ।

बागमती प्रदेशसभा र स्थानीय सरकारमा एमालेको वर्चश्व छ । ११० मध्ये ५६ प्रदेशसभा सदस्य (पशुपति चौलागाईंको निधन भएको) र ११९ स्थानीय तहमा १३३ पदाधिकारी एमालेका छन् । यो जोड्दा बाँकी सबै दल मिले पनि हराउन सक्दैन ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने हुँदा एमाले एक्लैको ५,०८२ मतभार हुन्छ । तर एमालेका उम्मेदवार बादल पराजित भए । एमालेको माधवकुमार नेपाल समूहका केही प्रदेशसभा सदस्य र बहुसंख्यक स्थानीय जनप्रतिनिधिले मत नदिएपछि बादल पराजित भएका हुन् ।

२२ प्रदेश सदस्य र स्थानीय तहमा ६८ पदाधिकारी रहेको कांग्रेससँग २,२८० र २३ सांसद र ३३ स्थानीय तहमा पदाधिकारी रहेको माओवादी केन्द्रसँग १,६९८ मतभार छ । यो जोड्दा ३,९७८ मत हुन्छ । तर देवकोटाले ५,०८८ मतभार पाए ।

को हुन् डा. खिमलाल ?

राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. देवकोटा संघीयता र योजनाविज्ञ हुन् । साइप्रसबाट वित्तीय अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट सन् २०१४ मा संघीय अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

२०७४ को प्रदेशसभा निर्वाचनपछि उनी बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष नियुक्त भए । तर छोटो समयमा नै डा. देवकोटाले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment