+
+
Shares

संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइन : प्रदेश प्रमुख देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानलाई नेपाली जनताको सपना, आँशु, हाँसो र आकांक्षा प्रस्फुटन हुने जीवन्त प्रणाली बताएका छन्।
  • हेटौंडामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को समारोहमा उनले राजनीतिक नेतृत्वका त्रुटि स्वीकार्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जिम्मेवार बन्न आग्रह गरे।
  • मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता कार्यान्वयनमा देखिनुपर्ने भन्दै प्रशासनिक ढिलासुस्ती, बेरोजगारी, युवा पलायन र भ्रष्टाचारलाई साझा चुनौती बताए।

३ असोज, काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह मात्र नभई नेपाली जनताका सपना, आँशु, हाँसो र आकांक्षा प्रस्फुटन हुने जीवन्त प्रणाली भएको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिवार वागमती प्रदेश सरकारद्वारा हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा बुझ्न नहुने बताए ।

उननले संविधानमा व्यवस्था गरिएका प्रावधानले मुलुकमा रहेका विविधतालाई एकआपसमा जोड्ने बलियो कडीको काम गरेको उल्लेख गरे ।

प्रदेश प्रमुख देवकोटाले वर्तमान संविधानलाई न्यायपूर्ण र समतामूलक समाज निर्माणको मार्गचित्रका रूपमा व्याख्या गरे । राष्ट्रिय अखण्डता र एकताको बलियो आधारका रूपमा संविधानले भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

संविधान कार्यान्वयनको एक दशक लामो यात्रामा राजनीतिक नेतृत्वबाट त्रुटि र कमीकमजोरी भएको उल्लेख गर्दै उनले शासन सञ्चालनका क्रममा भएका कमजोरीलाई संविधानको दोषका रूपमा पन्छाउनु उचित नहुने बताए ।

राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ । संविधानको सर्वोच्चता र न्यायमूलक समाजको अपरिहार्यतालाई कायम राख्दै कानुनी राज्यको उपहास हुने कुनै पनि गतिविधि हुन नदिन सचेत रहनुपर्नेमा प्रदेश प्रमुख देवकोटाले जोड दिए ।

राज्यका संयन्त्रमा जिम्मेवारी सम्हाल्नेहरूले अधिकारभन्दा कर्तव्य र दायित्वलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिता भाषणमा मात्र सीमित नभई नागरिकले दैनिक जीवनमा अनुभूति गर्न पाउनुपर्ने प्रदेश प्रमुख देवकोटाको भनाइ छ ।

समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता यसको घोषणामा मात्र नभई प्रभावकारी कार्यान्वयनमा देखिनुपर्ने बताए ।

संविधानमा सुनिश्चित गरिएका अधिकार नागरिकले आफ्नो दैनिक जीवनमा अनुभूति गर्न पाउनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री थापाले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई साझा चुनौतीका रूपमा उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?