+
+
Shares

एमाले कार्यदल प्रतिवेदन : ओली प्रधानमन्त्री उम्मेदवार बन्दा चुनावमा रक्षात्मक बन्यौं (पूर्णपाठसहित)

सात प्रदेश कमिटी सहित १३ स्थानमा संकलन गरिएको सुझाव समेटेर तयार प्रतिवेदनमा बाह्य शक्तिको चलखेलका कारणले मात्रै एमाले पराजित नभएको निष्कर्ष निकालिएको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८३ भदौ ९ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शंकर पोखरेलले एमालेको गत निर्वाचन पराजयका ६ कारण समेटिएको प्रतिवेदन तयार पारेका छन्।
  • प्रतिवेदनमा जनअसन्तोष, परिवर्तित आकांक्षा सम्बोधन नहुनु, जेनजी आन्दोलन, भूराजनीति, शासकीय कमजोरी र आन्तरिक समस्या मुख्य कारण भनिएको छ।
  • सात प्रदेश कमिटीसहित १३ स्थानका सुझाव समेटेर तयार प्रतिवेदनमा बाह्य शक्तिको चलखेलले मात्रै एमाले पराजित नभएको निष्कर्ष निकालिएको छ।

९ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा पार्टीले सर्मनाक पराजय बेहोर्नुको पछाडि ६ वटा कारण रहेको निष्कर्ष निकालेका छन् ।

निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका निम्ति लेखेको उक्त प्रतिवेदन अनलाइनखबरले प्राप्त गरेको छ । उक्त प्रतिवेदनमा एमाले पराजयबारे कारण, सुझाव र पार्टी पुनर्गठनबारे प्रस्ताव गरिएको छ ।

सात प्रदेश कमिटी सहित १३ स्थानमा संकलन गरिएको सुझाव समेटेर तयार पारिएको प्रतिवेदनमा बाह्य शक्तिको चलखेलका कारणले मात्रै एमाले पराजित नभएको निष्कर्ष निकालिएको छ ।

बरु जनचाहना बमोजिम विगतका सरकारले काम गर्न नसकेको, परिवर्तित जनचाहना सम्बोधन नभएको, जेनजी आन्दोलनबारे एमालेको निष्कर्षमा जनताले विश्वास नगरेकोदेखि पार्टीभित्रको अलोकतान्त्रिक शैलीलाई समेत कारण मानिएको छ ।

जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गर्नु, युवाहरु एमालेको पक्षमा नदेखिनु, अल्गोरिदम र बाह्य चलखेल बुझ्न नसक्नुलाई पनि पार्टी पराजयको कारण मानिएको छ ।

कार्यदलका संयोजक रामबहादुर थापा र अध्यक्ष ओलीले अगाडि बढाउन नचाहेको पोखरेलको प्रतिवेदन अनुसार यस्ता छन् एमाले पराजयका कारणहरू–

पहिलो– जनअसन्तोष र अविश्वास

विगतका सरकारहरुले गरेका कामप्रति जनताको असन्तुष्टि नै एमालेसहित पुराना दलहरुले मत नपाउनुको मुख्य कारण रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख गरिएको छ । दलहरु जसरी पनि सत्तामा मात्र जान चाहन्छन्, तर जनताको आवश्यकताप्रति ध्यान दिदैनन् भन्ने बुझाइ स्थापित हुँदा नराम्रो पराजय बेहोर्नु परेको निष्कर्ष निकालिएको छ ।

‘सरकारमा रहँदा सुशासन कायम गर्न नसक्नु, संघर्षमा उत्रिएका वर्ग र समुदायका माग यथोचित रुपमा सम्बोधन गर्न नसक्नु, कतिपय मन्त्री र जनप्रतिनिधिहरु भ्रष्टाचार र अनियमितताको आरोपमा मुछिनु र तिनलाई समयमै नियन्त्रण गर्न नसक्दा समेत जनअसन्तोष बढ्न गयो,’ प्रतिवेदनमा लेखिएको छ ।

कांग्रेससँग सहकार्य पनि संविधान संशोधनका निम्ति नभएर सत्ता स्वार्थका लागि मात्र हो भन्ने स्थापित हुँदा जनता अझ असन्तुष्ट बन्न पुगेको प्रतिवेदनमा लेखिएको छ । ‘…मुख्य एजेण्डा मानिएको संविधान संशोधनलाई २०८७ पछि मात्र गर्ने भनी ओझेलमा पार्दा कांग्रेससँगको गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र हो भन्ने विपक्षी भाष्य स्थापित हुन पुग्यो,’ प्रतिवेदनमा लेखिएको छ ।

नेकपाकालीन अन्तरसंघर्ष र पछि भएका सहकार्यको शृङ्खलाबाट वामपन्थी जनमत भड्नि पुगेको पनि निष्कर्ष निकालिएको छ ।

दोस्रो– परिवर्तित आकांक्षा सम्बोधन नहुनु

एमालेले चुनाव हार्नुको दोस्रो कारणमा जनताको परिवर्तित आकांक्षा सम्बोधन हुन नसक्नुलाई लिइएको छ । ‘… नागरिकहरुको जीवनस्तर र उनीहरुको आकांक्षामा उल्लेख्य बृद्धि गरिदियो । तर सोही अनुरुप रोजगारी स्वरोजगारका अवसरहरु बृद्धि नहुँदा उनीहरुको आयमा बृद्धि हुन सकेन,’ प्रतिवेदनमा लेखिएको छ ।

शिक्षित जनशक्ति गाउँबाट शहर र शहरबाट विदेश गइरहँदा उत्पन्न हुने परिस्थितिलाई बुझ्न नसक्नु अर्को कारण मानिएको छ । ‘शिक्षा र स्वाथमा निजी क्षेत्रको तीव विस्तार र सार्वजनिक क्षेत्रले प्रदान गर्ने सेवाको गुणस्तर कमजोर भएका कारण सर्वसाधारणले ती क्षेत्रका लागि चर्को मूल्य चुकाउनु पर्‍यो,’ प्रतिवेदनमा भनिएको छ, ‘यसप्रकारको अवस्थाले पुराना दलहरु र राज्यप्रति नै जनअविश्वास बढिरहेको तथ्यलाई बुझ्न नसक्दा लोकप्रियतावादीहरुले जनताको भावनामा खेल्ने मौका प्राप्त गरे ।’

तेस्रो– जेनजी आन्दोलन र ओली प्रधानमन्त्रीका उम्मेदवार

पुराना अरु दलहरु एमालेको प्रस्तावमा तयार नहुँदा पराजित हुने चुनावमा भाग लिनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘… भदौ २३ र २४ को घटनालाई पूर्वनियोजित षडयन्त्रका रुपमा विश्लेषण गर्ने काम गर्यो । तर हाम्रो त्यो दृष्टिकोण राजनीतिक वृत्त र जनस्तर दुवैमा स्थापित हुन सकेन,’ पोखरेलले प्रतिवेदनमा लेखेका छन् ।

निर्वाचनको मौन अवधिमा प्रशासित बीबीसीको डकुमेन्ट्रीलाई पनि एमाले हार्नुको कारण मानिएको छ । ‘आन्दोलनमा मारिएका युवा र घाइतेहरुप्रति मानवीय संवेदना र सहानुभूति प्रकट गर्ने कुरामा नेतृत्वले कन्जुस्याईँ गरेको आरोप लाग्न पुग्यो,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचन मौन अवधिको समयमा बीबीसीद्वरा प्रसारित वृत्तचित्रले समेत जनमतलाई हाम्रो विपक्षमा भड्काउने काम गर्यो ।’

जेनजी आन्दोलनका बेला सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीलाई नै एमालेले भावी प्रधानमन्त्रीको उम्मेदवार भन्दा पनि मत नआएको विश्लेषण रिएको छ । ‘चौतर्फी प्रहार भइरहेको र सिंगो पार्टीपंक्ति डिफेन्सिभ रहेका बेलामा पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने कुराले निर्वाचनमा पार्टीपंक्ति थप प्रतिरक्षात्मक बन्न पुग्यो,’ पोखरेलले लेखेका छन् ।

चौथौ– भूराजनीति र अल्गोरिदम

कार्यदलले भूराजनीतिक चलखेल र सामाजिक सञ्जालको अल्गोरिदमलाई पनि एमाले पराजयको कारण मानेको छ । विशेषगरी जेनजी आन्दोलनका क्रममा देखिएका केही संस्थाहरुको नामै उल्लेख गरेर प्रतिवेदन तयार पारिएको छ ।

‘भदौ २३ र २४ को घटनामा बारबरा फाउण्डेसन, हामी नेपाल, र टिओबी जस्ता बाह्य तार जोडिएका समूहहरुको शंकास्पद भूमिका प्रत्यक्ष देखियो,’ प्रतिवेदनमा लेखिएको छ, ‘चीनसँगको ब्यापार तथा पारवहन सम्झौता, चुच्चे नक्सा, दैलेखको ग्याँस तथा धौवादी फलाम खानी अन्वेषण जस्ता देशभक्तिपूर्ण अडानका कारण बढेको भूराजनीतिक चलखेलको मूल्य पार्टीले चुकाउनुु परेको बुझाइ पार्टीपंक्ति छ ।’

चुनावका बेला सामाजिक सञ्जालमा प्रतिस्पर्धी शक्ति आक्रमक हुनु र एमाले रक्षात्मक हुनुको परिणाम पनि चुनावी नतिजासँग जोडिएको छ । ‘विशेषगरी चुनावका समयमा हाम्रो पार्टीपंक्ति रक्षात्मक अवस्थामा रहनु, विपक्षीहरु आक्रामक हुनु र उनीहरुसँग सूचना र प्रविधिको प्रयोग गर्न सक्ने युवा जमात उल्लेख्य मात्रामा हुने कुराले पनि अल्गोरिदमको तहमा उनीहरुका एजेण्डा स्थापित भए, बनाइए ।’

पाँचौ– नीतिगत अलमल र शासकीय कमजोरी

एमाले नेतृत्वकै सरकारले पनि पार्टीका नीति र कार्यक्रमलाई जोड दिन नसक्नुलाई चुनाव हार्नुको अर्को कारण मानिएका छन् । ‘प्रधानमन्त्रीसँग अगुवा कार्यकर्ताको भेटघाट सहज नहुँदा त्यसले थप असन्तुष्टि जन्मायो । जनभावना अनुरुप समृद्ध नेपाल, सुखी नेपालीको नीतिलाई व्यवहारमा लागू गर्न सकिएन,’ प्रतिवेदनमा लेखिएको छ, ‘बजेट निर्माणमा सन्तुलन कायम गर्न सकिएन । दैनिक सेवा प्रवाहमा ढिलासुस्ती हुनु, शिक्षक, कर्मचारीका माग सम्बोधन नहुँदा उनीहरु असन्तुष्ट हुनु, रासायनिक मलको अभाव र उखु तथा दुग्ध उत्पादक किसानले अनुदान र विक्रीको रकम नपाउँदा उनीहरु असन्तुष्ट बनेको अवस्था थियो ।’

सामाजिक सञ्जाल दर्ता गरेर मात्रै चल्न दिने सरकारको निर्णयप्रति युवापंक्तिमा आक्रोश बढाएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘त्यसमाथि पार्टी र सरकारका विरुद्ध भइरहेको भित्री र बाहिरी षडयन्त्रलाई समयमै बुझ्ने र नियन्त्रणको उपाय खोज्ने कुरामा समेत सरकारका तर्फबाट गम्भीर कमजोरी भएको देखियो,’ प्रतिवेदनमा लेखिएको छ ।

जनताका अरु समस्यालाई पनि सरकारले सम्बोधन गर्न नसक्नुलाई कमजोरी मानिएको छ । ‘भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समयमा समाधान नहुनु, संघीय शिक्षा ऐन, प्रहरी ऐन र निजामती सेवा ऐन नआउँदा संघीयताप्रति सरकार नकारात्मक रहेको सन्देश गयो,’ प्रतिवेदनमा भनिएको छ ।

छैटौँ– आन्तरिक समस्या

महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनले चुनावी नतिजा बिग्रनुको अन्तिम कारण भने पार्टीभित्रकै समस्यालाई मानेको छ । उम्मेदवार चयन, गुटबन्दी र अराजकताका कारणले एमालेले पराजित हुनु परेको उनको निष्कर्ष छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयका कारण पार्टीपंक्ति विभाजित हुँदा पनि असर परेको प्रतिवेदनमा लेखिएको छ । ‘उम्मेदवार चयन पारदर्शी नहुनु, भएका निर्णयहरु पटकपटक फेरिनु, भूगोलमा खटिने भन्दा पनि नेताका वरीपरी घुम्नेले टिकटमा प्राथमिकता पाएको प्रचार हुनुले इमान्दार कार्यकर्तामा असन्तुष्टि पैदा गर्यो,’ पोखरेलले लेखेका छन् ।

खर्चका कारणले इमान्दार कार्यकर्ता राजनीतिबाटै पाखा लाग्ने र निराश हुने प्रवृत्तिलाई पनि चुनावी पराजयको कारण मानिएको छ । ‘निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई कारबाही नहुँदा संगठनात्मक अराजकता र जे गर्दा पनि हुन्छ भन्ने मानसिकता हुर्कियो,’ प्रतिवेदनमा लेखिएको छ ।

यस्तो छ प्रतिवेदन 

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?