९ भदौ, काठमाडौं । अमेरिकाले आतंकवाद प्रवर्द्धन गर्ने देशहरूको सूचीबाट सिरियालाई हटाएको छ । ४७ वर्षपछि अमेरिकाले सिरियालाई उक्त सूचीबाट हटाएको घोषणा गरेको छ ।
अमेरिकी प्रशासनले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाउनुको उद्देश्य त्यहाँ विदेशी लगानीको वातावरण सहज बनाउनु र विश्व अर्थ व्यवस्थामा सिरियालाई फेरि सामेल गर्नु रहेको बताएको छ ।
आतंकवाद प्रवर्द्धन गर्ने अमेरिकी सूचीमा अझै तीन देश बाँकी छन् । जसमा इरान, उत्तर कोरिया र क्युबा रहेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियालाई आतंकवाद प्रवर्द्धन गर्ने देशको सूचीबाट हटाएपछि उसलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने बाटो दिने बताएका छन् ।
उता अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि अमेरिकाले अब सिरियामा बढी भन्दा बढी लगानी भित्र्याउन मद्दत गर्ने बताएका छन् ।
‘यो कदम सिरियामा बढी लगानी ल्याउनेमा मद्दत गर्नेछ । जसले त्यहाँको राजनीतिक र आर्थिक स्थिरतामा मजबुती दिनेछ,’ उनले भनेका छन् ।
पछिल्लो समय डोनाल्ड ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शरासँग पनि सम्पर्क बढाउँदै लगेको छ । अल शरा पहिले त्यहाँको चरमपन्थी संगठनका नेता मानिन्थे । अमेरिकाले नै उनकाविरुद्ध टाउकाको मूल्य नै तोकेको थियो ।
दुई वर्षअघि सिरियामा रुस नजिक मानिने बसर अल असदको सत्ता ढलेको थियो । देशभर फैलिएको विद्रोह र हिंसापछि उनी देश छाडेर भागेका थिए ।
त्यसयता बनेको नयाँ सत्ता अमेरिका र पश्चिमी देश निकट मानिन्छ ।
–बीबीसीको सहयोगमा
प्रतिक्रिया 4