News Summary
Generated by OK AI. Editorially reviewed.- ताइवानको साइबर सुरक्षा कम्पनी टिम–टी५ ले चिनियाँ सरकारसँग जोडिएका ह्याकरले डिपसिकजस्ता एआई प्रयोग गरेर साइबर हमला दोब्बरभन्दा धेरै बढाएको जनाएको छ।
- टिम–टी५ का अनुसार ग्रिमफेङ्सी र टेलेबोयी समूहले एआईको सहयोगमा कमजोर वेबसाइट, सर्भर र आईपी एड्रेस पहिचान गरेर भित्र पस्ने बाटो खोजेका थिए।
- अनुसन्धानमा ह्याकरले डिपसिक, च्याटजीपीटी र क्लड कोड प्रयोग गरेको देखिएको छ, र भविष्यमा शक्तिशाली एआई ह्याकरको हातमा परे खतरा बढ्ने चिन्ता व्यक्त गरिएको छ।
९ भदौ, काठमाडौँ । चिनियाँ सरकारसँग जोडिएका ह्याकरहरूले डिपसिकजस्ता एआईको प्रयोग गरेर साइबर हमला दोब्बरभन्दा धेरै बढाएको ताइवानको साइबर सुरक्षा कम्पनी टिम–टी५ ले जनाएको छ ।
एआईको सहयोग पाएपछि ह्याकरहरूले पहिले धेरै समय लाग्ने काम छोटो समयमा गर्न सकेका छन् ।
ह्याकरहरूले एआई प्रयोग गरेर इन्टरनेटमा रहेका सम्भावित टार्गेट खोज्ने गरेका छन् । उनीहरूले कुन कम्पनीको वेबसाइट, सर्भर वा कम्प्युटर कमजोर छ भनेर पत्ता लगाउने र त्यसैबाट भित्र पस्ने बाटो खोज्ने गरेका छन् ।
टिम–टी५ का अनुसार ‘ग्रिमफेङ्सी’ नामको ह्याकर समूहले डिपसिकको सहयोगमा सिस्टमको कमजोरी प्रयोग गरेर भित्र पस्ने कोड बनाएको थियो । अर्को, ‘टेलेबोयी’ समूहले इन्टरनेटबाट करिब एक हजार आईपी एड्रेस जम्मा गरेर एउटा कम्पनीका वेबसाइट र डोमेनहरूको जानकारी निकालेको थियो ।
यसको अर्थ, ह्याकरहरूले एआईलाई आफ्नो सहायक बनाएर कुनै कम्पनीको डिजिटल संरचना बुझ्ने काम गरेका थिए । कुन वेबसाइट एउटै कम्पनीको हो, कुन सर्भरमा कमजोरी छ र कहाँबाट हमला गर्न सकिन्छ भन्ने कुरा उनीहरूले एआईको सहयोगमा खोजेका थिए ।
ह्याकरहरूले डिपसिक मात्र होइन, च्याटजीपीटी र क्लड कोड पनि प्रयोग गरेको अनुसन्धानमा देखिएको छ । एउटा पश्चिमी थिङ्क ट्याङ्कमाथि हमला गर्दा ह्याकरहरूले एक कर्मचारीको कम्प्युटरबाट सिग्नल एपसँग सम्बन्धित फाइल हात पारेका थिए । त्यसपछि ती फाइल खोल्न मिल्ने प्रोग्राम बनाउन च्याटजीपीटीको सहयोग लिएका थिए ।
अर्को घटनामा क्लड कोडको प्रयोग गरेर ३० वटा संस्था र कम्पनीलाई स्वचालित रूपमा टार्गेट गरिएको थियो । एआईले आफैँ वेबसाइट र सिस्टम जाँच्ने, कमजोरी भेटिएमा त्यसलाई प्रयोग गर्ने र अर्को सिस्टममा पस्ने प्रयास गर्ने काम गरेको बताइएको छ ।
यस घटनाले साइबर सुरक्षामा नयाँ चुनौती थपिएको देखिन्छ । पहिले ह्याकरहरूले एउटा–एउटा सिस्टम जाँच गर्न धेरै समय लगाउनुपर्थ्यो। अहिले एआईको सहयोगमा एउटै समूहले छोटो समयमा धेरै वेबसाइट, कम्पनी र संस्थामाथि हमला गर्न सक्छ ।
तर एआई आफैँले आफ्नो इच्छाले हमला गरेको भने होइन । ह्याकरहरूले एआईलाई निर्देशन दिएर र विशेष प्रोग्रामसँग जोडेर यस्तो काम गराएका हुन् । अनुसन्धानकर्ताहरूको चिन्ता भनेको भविष्यमा अझ शक्तिशाली एआई ह्याकरहरूको हातमा पुग्यो भने साइबर हमला रोक्न र त्यसको जिम्मेवार व्यक्ति पत्ता लगाउन झन कठिन हुनसक्छ भन्ने देखिन्छ । यसबारे न्युजबाईट्सएपले लेखेको छ ।
प्रतिक्रिया 4