Comments Add Comment

तल गोठ, माथि मान्छे : एउटै कोठामा केको आइसोलेसन ?

डोटीमा ‘होम’ छ, ‘आइसोलेसन’ छैन

६ जेठ, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका ४ सानागाउँका महेश बिक (नाम परिवर्तन) १५ दिनदेखि घरमै होम आइसोलेसनमा छन् । वैशाख २७ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएदेखि नै उनी होम आइसोलेसनमा बसेका हुन् । मापदण्डको पालना गरेरै होम आइसोलेसनमा बसे पनि उनका परिवारका दुई सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

‘सावधानी त अपनाएकै थिएँ, तर पनि आमा र श्रीमतीमा संक्रमण भएछ’ महेशले भने, ‘होम आइसोलेसनमा जति सजग हुँदा पनि सुरक्षित हुन नसकिने रहेछ ।’ उनको घरमा शौचालय एउटै छ । आँगन उही हो । भने, ‘मैले यति सावधानी अपनाउँदा अपनाउँदै त परिवारका अरु सदस्यहरूलाई संक्रमण सर्‍यो भने मापदण्डबारे खासै जानकारी नभएका र सावधानी नअपनाउनेको अवस्था त झन् के होला ?’

डोटीकै आदर्श गाउँपालिका १ का मानबहादुर खड्का (नाम परिवर्तन) लाई कोरोना संक्रमण पुष्टि भएको १० दिन भयो । उनी पनि होम आइसोलेसनमा छन् । उनी पनि होम आइसोलेसन सुरक्षित ठान्दैनन् । ‘आफूले जति सावधानी अपनाए पनि टोल छिमेककाहरू नजिक आइहाल्छन्’ मानबहादुरले भने, ‘होम आइसोलेसनले नै बढी संक्रमण फैलाउँछ कि भन्ने पो डर लागिरहेको छ ।’

उनले गाउँमा रुघाखोकीका बिरामी धेरै देखिएको बताए । समयमै परीक्षण नगराउने हो भने गाउँ नै संक्रमणको जोखिममा पर्ने उनले बताए । जोरायल गाउँपालिका ३ का महिन्द्र साहु (नाम परिवर्तन) ले चारदिन अघि एण्टिजेन परीक्षण गरे । रिपोर्ट पोजिभिट आयो । आफू घरमा बस्दा संक्रमण फैलने डरले उनी एक होटलमा आइसोलेसनमा बसेका छन् ।

‘घरमा एउटा मात्रै शौचालय छ । धारा पनि एउटै छ’ महिन्द्रले भने, ‘आँगन, बाटो उही हुन्छ । त्यसैले घरमा आफू पनि सुरक्षित हुन र अरुलाई पनि नसरोस् भनेर होटलमा बसेको छु ।’ होटलको एक कोठामा आफूसहित दुई जना बसिरहेको उनले बताए । दिपायल सिलगढी नगरपालिका १ का एक संक्रमित पनि सात दिनदेखि होम आइसोलेसनमा छन् । उनलाई चिन्ता छ आफ्ना कारण परिवार र छिमेकमा कतै संक्रमण सर्ने हो कि भन्ने । भने, ‘कोरोना संक्रमण भएको पुष्टि हुँदा पनि अस्पतालले होम आइसोलेसनमै बस भनेर पठाइदिने गरेका छन् । घरमा पानीको धारा, शौचालय, आँगन सबै एउटै हुन्छ । कसरी होम आइसोलेसनमा अरुलाई जोगाउन सकिन्छ ?’

केआईसिंह गाउँपालिका ४ का संक्रमित एक पुरुष संक्रमितलाई होम आइसोलेसनमा बस भन्नु नै गलत भएको बताउँछन् । उनले भने, ‘असुरक्षित ढंगले होम आइसोलेसनमा बस भन्नु भन्दा पनि सरकारले संक्रमितहरूका लागि होल्डिङ्ग सेन्टर र छुट्टै आइसोलेसन बनाउनेतर्फ पहल गर्नुपर्दछ ।’

भन्न त धेरै सजिलो छ, शहरका जस्ता ठूला महल गाउँमा हुँदैनन् । हाम्रा घर प्रायः तल गोठ र माथि मानिस बस्ने गरी बनाइएका छन् । साँघुरा कोठा हुन्छन् । त्यसैमा परिवारका सबै सदस्य बस्नुपर्छ, अनि के को आइसोलेसन ?

गाउँमा शहरका जस्ता ठूला घर हुँदैनन् । निजी कोठा हुँदैनन् । गाउँघरमा प्रायः घर साना हुने र एउटै कोठामा कोरोना संक्रमित र परिवारका अन्य सदस्यहरू बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘भन्न त धेरै सजिलो छ, शहरका जस्ता ठूला महल हुँदैनन् हाम्रा’ उनले भने, ‘हाम्रा घर प्रायः तल गोठ र माथि मानिस बस्ने गरी बनाइएका छन् । साँघुरा कोठा हुन्छन् । त्यसैमा परिवारका सबै सदस्य बस्नुपर्छ, अनि के को आइसोलेसन ?’

पाँच सयभन्दा बढी सक्रिय संक्रमित

डोटीमा बुधबारसम्म ५०१ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराका अनुसार डोटी जिल्ला अस्पतालको आइसोलेसनमा ६ जना र स्थानीय तहले तयार गरेका आईसोलेसन सेन्टमा आठ जना मात्रै छन् । उनले भने, ‘बाँकी चार सय ८७ जना होम आइसोलेसनमै छन् ।’ यो संख्या सक्रिय संक्रमितको कुल संख्याको ९७ प्रतिशत हो ।

भारतका विभिन्न स्थान तथा मुलुकभित्रकै अन्य जिल्लाबाट आएका व्यक्तिहरू र संक्रमितलाई होम आइसोलेसनमा बस्न लगाउँदा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको स्थानीयहरूको गुनासो छ । जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांक अनुसार यस वर्ष वैशाखदेखि जेठ ३ गतेसम्म भारतका विभिन्न स्थानबाट डोटीमा दुई हजार १२३ जना घर फर्किएका छन् । देशका अन्य जिल्लाबाट घर फर्किएकाहरूको तथ्यांक कुनै पनि निकायले राखेका छैनन् । स्थानीय बासिन्दा भन्छन्, ‘बाहिरबाट आएका र कोरोना परीक्षण गरेका वा नगरेका सबै आ–आफ्नो घर गएका छन् ।’

सरोकारवाला भन्छन्: होम आइसोलेसनमा सावधानी कम

होम आइसोलेसनमा बसेका संक्रमितहरूले पर्याप्त सावधानी नअपनाउँदा वा अपनाउन नसक्दा समुदायमा समस्या बढेको पत्रकार कर्णबहादुर चन्द बताउँछन् । ‘संक्रमितहरू गाउँमा खुलेआम घुमिरहेका छन् यसले  कोरोना संक्रमणको  जोखिम झन् बढेको छ,’ उनले भने ।

गैरसरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु कठायत पनि पर्याप्त सावधानी नअपनाएर होम आइसोलेसनमा बस्दा परिवार तथा समुदायमा जोखिम बढेको बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख (प्रहरी उपरीक्षक) दानबहादुर मल्ल गाउँघरमा होम आइसोलेसनमा पर्याप्त सावधानी नरहेको बताउँछन् । ‘शहरतिरका घरमा होम आइसोलेसनमा केही मापदण्ड पुग्ला, तर गाउँघरका घरमा होम आइसोलेसनको मापदण्ड पुग्दैन’ उनी भन्छन्, मापदण्ड नपुगे पनि संक्रमितहरूलाई घरमै बस्न भनिएको छ । यसले परिवारका अरु सदस्य तथा समुदायमा संक्रमणको जोखिम बढाइरहेको छ ।’

स्वास्थ्यकर्मी भन्छन् : होम आइसोलेसन तुलनात्मक रूपमा असुरक्षित

डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णराज जोशी मापदण्ड अनुसारको होम आइसोलेसन नहुँदा समुदायमा कोरोनाको संक्रमण फैलिने जोखिम बढेको बताउँछन् । डा‍‍. जोशीले भने, ‘होम आइसोलेसनमा छुट्टै कोठा हुनु पर्‍यो, छुट्टै शौचालय हुनु पर्‍यो, संक्रमितले प्रयोग गरेका भाँडाकुँडाहरू अलग्गै राख्नु पर्‍यो ।’ उनी कुनै पनि प्रकारले लसपस भए अर्को व्यक्तिमा संक्रमण सर्ने बताउँछन् ।

त्यसका लागि घरको बनोट प्रमुख हुने उनले बताए । दोस्रो कुरा सावधानी भयो भने मात्रै होमआइसोलेसन सुरक्षित हुने उनले बताए । डोटीको सायल गाउँपालिकाको डौड स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा परफुल यादव पनि असुरक्षित  होम आइसोलेसनका कारण समुदायमा कोरोना संक्रमणको जोखिम बढेको बताउँछन् ।  डा यादवले भने, ‘सम्झाउन खोज्यो भने उल्टै गाली गर्छन् ।’

स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन तेजबिक्रम शाही संक्रमितहरूलाई होम आइसोलेसनमा पठाउँदा जोखिम झन बढेको बताउँछन् । होम आइसोलेसनको मापदण्ड किन पालना गराइँदैन त ? भन्ने प्रश्नमा शाही भन्छन्, ‘हामीसँग अनुगमनका लागि जनशक्तिको अभाव छ । एउटै व्यक्तिले कोभिड र अन्य बिरामी जाँच गर्नुपर्ने अवस्था छ । बिरामीको केयर गर्नै भ्याईनभ्याई छ ।’

डोटी जिल्ला अस्पतालको आइसोलेसनमा ६ जना र स्थानीय तहले तयार गरेका आइसोलेसन सेन्टरमा आठ जना मात्रै छन् । बाँकी ४८७ जना होम आइसोलेसनमै छन् ।

किन गरेनन् स्थानीय तहले क्वारेन्टिन निर्माण ?

कोरोनाको दोस्रो लहर फैलिएपछि नियन्त्रण तथा रोकथाममा स्थानीय तहहरूको भूमिका खासै प्रभावकारी हुनसकेको छैन ।  गत वर्ष कोरोनाको पहिलो लहरमा क्वारेन्टिन निर्माण, क्वारेन्टिनमा बसेकाहरूको आवास र खाना लगायत शीर्षकमा डोटीका स्थानीय तहहरूले ११ करोड ८२ लाख ९० हजार ६१७ रुपैयाँ खर्च गरे ।

तर, कोरोनाको दोस्रो लहरमा स्थानीय तहहरूले रोकथाम र नियन्त्रणमा उदासीनता देखाएको स्थानीयहरूको गुनासो छ । अधिकारकर्मी मीना आउजी भन्छिन्, ‘कोरोनाको दोस्रो लहर फैलिन्छ भन्ने चारपाँच महिना अघि नै थाहा भइसकेको थियो । कोरोना फैलिएपछि भारतका विभिन्न स्थानबाट नेपालीहरू घर फर्किन्छन् भन्ने पनि थाहा थियो’ उनले थपिन्, ‘त्यस्तो बेलामा स्थानीय तहहरूले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको व्यवस्था गरेको भए अहिले यस्तो विकराल अवस्था आउने थिएन होला ।’

कोरोनाका लागि बजेट छैन

कोरोनाको पहिलो लहरमा सायल गाउँपालिकाले २६ ठाउँमा क्वारेन्टिन निर्माण गरिएको थियो ।  २७०० जनालाई क्वारेन्टिनमा राखिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । उनका अनुसार गत वर्ष कोरोना परीक्षणका लागि पाँच लाख रुपैयाँको आरडिटी किट खरिद गरिएको थियो । उनले भने, ‘कोरोनाको पहिलो लहरमा मास्क र सेनिटाइजर खरिद र वितरण, विपन्न परिवारलाई राहत सामग्री वितरण सहितका कार्य गरी एक करोड ६२ लाख रुपैयाँ खर्च भएको थियो ।’

यसपटक किन केही पनि पहल गर्नु भएन त ? भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष डुम्रेलले भने, ‘कोरोनाको पहिलो लहरमा हामी जसरी सक्रिय भएका थियौं, अहिले त्यसरी गर्न नसकिएको साँचो हो ।’ उनको भनाइमा गाउँपालिकाको बजेट सबै विनियोजन भइसकेको र थप बजेट नभएका कारण पनि क्वारेन्टिन तथा होल्डिङ्ग सेन्टरहरू निर्माण गर्न नसकिएको हो ।

उनी सरकारले रकमान्तरका लागि अनुमति दियो भने मात्रै गाउँपालिकाले बजेट व्यवस्था गरेर खर्च गर्न पाउने बताए । ‘संघीय सरकारले अनुमति दिएन भने आफैं बजेट रकमान्तर गरेर खर्च गर्न सकिँदैन,’ उनले भने,‘त्यसो गर्न हामीलाई सिस्टमले दिँदैन ।’ उनले सायल गाउँपालिकाभित्र क्वारेण्टिन सञ्चालनका लागि संरचना नभएका कारण पनि समस्या भएको बताए । ‘सिसिएमसीले विद्यालयमा क्वारेण्टिन नबनाउन भनेको छ,’ उनले भने, ‘गाउँपालिकामा विद्यालय बाहेक अरु सार्वजनिक भवन नै छैनन् ।’

गत वर्ष कोरोना महामारी फैलिएपछि सरकारले गरेको लकडाउनको समयमा आफ्ना नागरिकहरू सिमा नाकामा अलपत्र परेको सूचना आएपछि केआईसिंह गाउँपालिकाले ल्याउन बसको व्यवस्था गरेको थियो । त्यसबेला लकडाउनका बेला घर फर्केका दुई हजार एक सय जनालाई ३३ वटा क्वारेण्टिनमा १५ दिनसम्म राखेको थियो।

तर, दोस्रो लहरमा केआई सिंह गाउँपालिकाले  पनि केही गरेको देखिदैन । ‘यो हामीले स्वीकार्नु पर्छ, यसपटक हामीबाट पनि लापरवाही भएको छ,’ गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले भने । गाउँपालिकाले कोरोनाको पहिलो लहरका बेला नियन्त्रण र रोकथामका लागि ९८ लाख ९४ हजार रुपैयाँ खर्च गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य चेकजाँच गरेर संक्रमितहरूलाई उतै होल्ड गर्ने भन्ने कुरा आएको भएपनि आफूहरुलाई जानकारी नदिई संक्रमितहरुलाई पठाएको अध्यक्ष शाही बताउँछन् । उनले भने, ‘त्यसले गर्दा पनि यसपटक गाउँगाउँमा कोरोनासंक्रमण फैलियो ।’ उनले आफूले पटक पटक सबै स्थानीय तहहरू मिलेर एउटा होल्डिङ्ग सेण्टर निर्माण गरौं र संक्रमितहरूलाई त्यही राखौं भन्ने प्रस्ताव गरेको भएपनि सफल हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment