Comments Add Comment

एमालेको निर्णय : बादललाई मत नदिनु गम्भीर

५ जेठ, काठमाडौं । नेकपा एमालेले पार्टीको उम्मेदवारको विपक्षमा मत दिनुलाई गम्भीरतापूर्वक लिएको बताएको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गरेको भन्दै भर्त्सना गरेको छ ।

वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको उपचुनावमा एमाले उम्मेदवार रामबहादुर थापा बादलले माधवकुमार नेपाल समूहका जनप्रतिनिधिको मत नपाएको सूचनाका आधारमा बैठकले भर्त्सना गर्ने निर्णय गरेको हो ।

एमालेमा एकता प्रयास शुरु हुनु अगाडि नेपाल समूहका डा. खिमलाल देवकोटालाई विपक्षी दलहरुले साझा उम्मेदवार बनाएका थिए । एमालेमा एकता प्रयास शुरु भएपछि पनि देवकोटाको उम्मेदवारी कायमै रह्यो । एमाले अध्यक्ष र महासचिवले पार्टीका उम्मेदवारलाई मत दिन निर्देशन दिए पनि कतिपयले अवज्ञा गरेका छन् ।

‘पार्टी निर्देशन अवज्ञा गर्दै कतिपय नेता र जनप्रतिनिधिहरुले जुन ढंगले क्रियाकलाप गर्नुभयो त्यसलाई बैठकले अत्यन्त गम्भीरतापूर्वक लिएको छ’ प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

जेठ २ मा पार्टी विवाद समाधान गर्न कार्यदल बनेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनले बताए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएर कार्यदल बनेको २ जेठलाई कट अफ डेट मान्न सकिने भन्दै ज्ञवालीले भने, ‘कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र पछाडिका कुरालाई एउटै ढंगले हेर्न मिल्दैन । यो विषय असाध्यै गम्भीरतापूर्वक लिएका छौं ।’

बालुवाटारमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीको उम्मेदवारलाई मतदान नगर्नु संसदीय प्रणाली र पार्टीको अनुशासन विपरीत भएको बताएका थिए । ‘पार्टीको उम्मेदवारविरुद्ध उभिने प्रवृत्ति अलिअलि देखिएको छ । त्यो प्रवृत्ति ठीक होइन, संसदीय प्रणालीमा त्यो घातक र स्वीकार्य नहुने प्रवृत्ति हो । त्यसलाई भर्त्सना गर्नुपर्छ’ ओलीको भनाइ थियो ।

हेर्नुहोस् निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment