
वरिपरि हिमाल, बीचमा ताल । ताल पनि पूरै हिउँले ढपक्क ढाकेको । लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो । देख्ने जो कोहीलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो ।
तालसम्म पुग्न उकालो चढ्दा लागेको थियो कि कति गाह्रो, कति अप्ठेरो । जब तालको किनारमा पुगें उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरियो । तालको डिलमा बसेर हेरिरहँदा एकपटक आफैलाई चिमोटुँ झैं भयो– यो सपना हो कि विपना !
पेशाले म स्वास्थ्य क्षेत्रसँग आवद्ध भए पनि वर्षमा दुईपटकसम्म काठमाडौं उपत्यका बाहिर निस्कने गर्छु । कोरोनाका गत वर्ष कारण निस्कन पाएको थिएन ।
यसपटक भने वैशाखको पहिलो हप्ता नै दोलखाको च्छो रोल्पा ताल पुगेर फर्किएँ । च्छो रोल्पा ताल जान धेरैपटक योजना बनाएँ । तर साइत नै जुरेन । यहाँ बसेर ताल र ताललाई वरिपरिबाट अँगालोमा बेरेर बसेका हिमालको दृश्य देख्दा लाग्यो यति सुन्दर रैछ र पो सितिमिति यहाँ हेर्न नजुरैको हो कि !

च्छो रोल्पा ताल भ्रमणको साइत जिपमाण्डु टाभल्स एण्ड टुरका विक्रम भट्टले जुराइदिए ।
अहिलेसम्मको यात्रामा मैले च्छो रोल्पा ताल जाने पदमार्ग अन्य पदमार्गभन्दा व्यवस्थित अनुभव गरें । बाटाको सुन्दरता पनि कमको थिएन ।
अन्य स्थानहरूमा यात्रा गर्दा जाँदा उकालो आउँदा ओरालो यात्रा तय गर्नुुपर्ने हुन्छ । तर यहाँ जाँदा भने उकालो ओरालो बराबरैजस्तो होला । अझ हामीले यात्रा तय गर्दा बाटोभरि फुलेका लालीगुराँस हेर्दा लाग्थ्यो यी फूलहरू हाम्रै स्वागतमा फक्रिएका हुन् । यात्रामा हामी १० जना थियौं । बाटोमा रमाइलो गदैै गयौं । च्छो रोल्पा यात्राको ६ दिन पनि कति चाँडै बितेछ भन्ने लाग्यो ।
तालको विशेषता
आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य हो, च्छो रोल्पा ताल । दोलखा जिल्लामा पर्ने यो ताल नेपालको सबैभन्दा उचाइमा रहेको ठूलो हिमतालमध्ये एक हो । समुन्द्री सतहबाट चार हजार ५८० मिटर उचाइमा रहेको यो ताल डुलुङ हिमालको फेदमा छ ।
तालका लागि यात्रा तय गर्दा गौरीशंकर हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न पाइनु अर्को विशेषता हो । तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिन्छ ।
सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको थियो । सन् १९९७ मा लिएको भू–उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ । तालको गहिराइ १३५ मिटर छ ।
कसरी पुग्ने ?
पहिलो दिनको यात्रा काठमाडौंदेखि दोलखा सदरमुकाम चरिकोट हुँदै सिँगटी नजिकको गाउँ छेटछेटसम्म जीपमा १० घण्टामा पुग्न सकिन्छ । त्यसपछि छेटछेटदेखि सिमीगाँउ तीन घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । त्यो दिनको बास सिमीगाँमा हुन्छ ।

दोस्रो दिन सिमीगाँउदेखि डोन्ग्याङ ८ घण्टा पैदल यात्रा गर्नुपर्छ । तेस्रो दिन डोन्ग्याङदेखि ना गाँउसम्म आठ घण्टाको बाटो पार गर्नुपर्छ । चौथो दिन ना गाँउदेखि च्छो रोल्पा ताल अवलोकन गरेर बेदिङ पुगिन्छ । पाँचौ दिन बेदिङबाट आठ घण्टा पैदल यात्रा गरेर सिमीगाँउ आउन सकिन्छ । छैटौं दिन सिमीगाँउदेखि छेटछेटसम्म पुनः ३ घण्टा पैदल यात्रा गरेर त्यहाँबाट मोटरमा काठमाडौं फर्किन सकिन्छ ।
गतिलो गन्तव्य बन्न सक्छ : अनिल लामा, पर्यटन व्यवसायी
संघीय राजधानी काठमाडौंबाट सहजै पुग्न सकिने स्थान हो च्छो रोल्पा ताल । यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । यो क्षेत्रमा जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । हामी प्रचारप्रसारमा कमजोर भएर त्यसो भएको हो भन्ने लाग्छ । स्थानीय तहले आफ्नो बतबुताले भ्याएसम्म प्रचारप्रसार गरिरहेका छन् । तर राज्यस्तरबाट हुनुपर्ने जति प्रचारप्रसार भएको छैन ।
राज्यले थोरै ध्यान दिने हो भने यो क्षेत्र तत्काल पर्यटकका लागि गतिलो गन्तव्य बन्न सक्छ । अहिले कोभिडले नेपाल मात्र नभएर विश्वभर पर्यटन क्षेत्र सुनसान छ । तर यो समयमा हामीले आन्तरिक पर्यटकलाई ध्यान दिनसक्यौं भने निकै राम्रो हुन्छ ।
विगतमा हामीले आन्तरिक पर्यटकलाई जति ध्यान दिनुपर्ने हो त्यति दिन सकेका रहेनछौं भन्ने लाग्छ । अब सोच्नु पर्ने बेला आएको छ । कोभिडको समयमा केही फुर्सदिलो भएका बेला हामीले यसको प्रर्वद्धन र प्रचारप्रसारमा ध्यान दिन सकिन्छ ।
च्छो रोल्पा ताल पदमार्गको हिमताल फुट्ने कुरा आएपछि मात्रै प्रचारप्रसार भएको हो । यो ताल त्यसै पनि सुन्दरताको हिसाबले पर्यटनको गन्तव्य लागि प्रख्यात छ । यहाँ विदेशी मात्र नभएर विशेष गरी काठमाडांै उपत्यकादेखि पर्यटक जाने गरेका छन् । अझ प्रचारप्रसार गर्न सके यसको भविष्य सुन्दर छ भन्ने लाग्छ । राजधानीदेखि सजिलै पुग्न सकिने भएकाले पनि यो राम्रो पर्यटकीय क्षेत्र बन्न सक्छ ।
तस्वीर : विक्रम भट्ट













प्रतिक्रिया 4