+
+
Shares

जमैकामा शक्तिशाली समुद्री आँधी, राजधानी क्षेत्रका बस्ती खाली गरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ११:३७

काठमाडौं । अरेबियन सागरमा पर्ने टापु देश जमैकामा शक्तिशाली समुद्री आँधी आएको छ । ‘मेलिसा’ नाम दिइएको यो आँधी टापु देशको इतिहासकै शक्तिशाली मध्येको एक भएको भनिएको छ । यसलाई शक्तिको हिसाबले पाँचौं श्रेणीमा राखिएको छ ।

२८२ किलोमिटर प्रतिघण्टाको हावाको गतिका साथ बहने यो आँधीलाई अमेरिकी मौसमविद्हरूले ‘विनाशकारी र जीवनका लागि घातक’ भनेका छन् ।

यो आँधी अझ तीव्र गतिका साथ मंगलबार बिहानै क्यारिबियन टापुको तटमा अवतरण गर्ने बताइएको छ ।

यसको असरले जमैकामा तीन जनाको मृत्यु भइसकेको छ । यसैगरी हाइटी र डोमिनिकन रिपब्लिकमा चार जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

विशेषज्ञहरूले मेलिसाको प्रभावले केही क्षेत्रमा लामो समयसम्म मुसलधारे वर्षा गराउन सक्ने चेतावनी दिएका छन्, जसले घातक बाढी र पहिरोको जोखिम निम्त्याउने अनुमान छ ।

अमेरिका–आधारित राष्ट्रिय हुरिकेन केन्द्र (एनएचसी) को पछिल्लो डेटाले अधिकतम हावा र न्यूनचापीय क्षेत्रको हिसाबले मेलिसा यो वर्ष विश्वकै सबैभन्दा शक्तिशाली आँधी रहेको देखाउँछ । यो सन् १८५१ देखि समुद्री आँधीको रेकर्ड राख्न थालेदेखि जमैकामा आएको सबैभन्दा शक्तिशाली सावित हुनसक्ने सीबीएस न्यूजले जनाएको छ ।

एनएचसी निर्देशक माइकल ब्रेननले जमैकावासीलाई घर बाहिर ननिस्कन र सुरक्षित तरिकाले बस्न अनुरोध गरेका छन् ।

जमैकाली सरकारले राजधानी किङ्स्टनका केही भाग खाली गराएको छ । बीबीसीसँगको अन्तर्वार्तामा जमैकाली शिक्षा मन्त्री डाना मोरिस डिक्सनले भनेकी छन्, ‘हामीले कहिल्यै नदेखेको प्रकारको आँधी आउँदै छ ।’

‘अक्टोबरभरि वर्षा भइरहेको छ । त्यसैले जमिन पहिल्यै पूरै भिजिसकेको छ । फेरि धेरै वर्षा हुँदा बाढी र पहाडी क्षेत्रमा पहिरो जाने खतरा छ,’ उनले भनेकी छन् । उनका अनुसार प्रभावित व्यक्तिहरुलाई राख्न ८८१ आश्रयस्थल तयार पारिएको छ ।

गम्भीर आँधीमा तथ्यांक संकलन गर्ने हुरिकेन हन्टर विमानको उडान मेलिसाको तीव्र गतिका कारण रोकिएको छ ।

जमैकाका प्रधानमन्त्री एन्ड्रयू होल्नेसले पनि एक्समार्फत् सूचना प्रवाह गर्दै हरेक जमैकावासीलाई आँधीको समयमा घरभित्रै बस्न र उद्धारकर्ताको निर्देशन पालना गर्न अनुरोध गरेका छन् । ‘हामी यो आँधी सामना गर्नेछौं र अझ बलियो भएर पुनर्निर्माण गर्नेछौं,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?