Comments Add Comment

भूकम्पपीडितलाई विदेशबाट पालदेखि पानीसम्म

Bamdev-Gautam

२५ वैशाख, काठमाडौं । नेपालका भूकम्प पीडितहरुलाई विदेशी मित्र राष्ट्रहरुले पालदेखि पानीसम्म राहत उपलब्ध गराएका छन् । २३ विदेशी राष्ट्रहरुले नेपालका भूकम्प पीडितहरुका लागि खाद्यान्न र गैर खाद्यान्न सहयोग गरेका छन् ।

शुक्रबारको ब्यवस्थापिका संसदमा गृहमन्त्री बामदेव गौतमले पेश गरेको विवरणअनुसार सबैभन्दा धेरै सहयोग भारतले  गरेको छ ।

विदेशी सहयोगका रुपमा सबैभन्दा बढी एक लाख ९५ हजार ५८ थान त्रिपाल प्राप्त भएको छ । तर अति प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, गोर्खा, धादिङ, रसुवा, नुवाकोटकै पीडितहरुले पर्याप्त त्रिपाल नपाएको गुनासो गरेका छन् ।

राहत बाँड्न भारत अगाडि

भारतले सबैभन्दा बढी १ लाख ९३ हजार ४ सय ४ थान त्रिपाल तथा एक लाख ४० हजार २ सय ९४ थान कम्बल राहत उपलब्ध गराएको छ । भारतले चामल, चिनी, नून, चिउरा, चाउचाउ, मेटे्रसदेखि पानीसमेत उपलब्ध गराएको छ ।

यस्तै, उत्तरी छिमेकी राष्ट्र चीनले १० हजार ४ सय ३५ थान कम्बल, २ हजार १ सय ७९ थान टेन्ट, एक हजार एक सय कार्टुन पानी उपलब्ध गराएको छ ।

बंगलादेशले ४ सय ४५ थान टेन्ट, ५ सय प्याकेट विस्कुट र ३ सय ६४ कार्टुन पानी राहत स्वरुप उपलब्ध गराएको छ ।

यसैगरी म्यानमारले एक सय ७० कार्टुन चाउचाउ तथा एक हजार थान बेडसिट सहयोग गरेको गृहमन्त्री गौतमले जानकारी गराए ।

पाकिस्तानले एक हजार ५ सय ७८ थान टेन्ट र ३ सय ३० थान कम्बल उपलब्ध गराएको छ ।

यस्तै, थाइल्याण्डले चार हजार १२ थान कम्बल, ८ सय ७५ थान त्रिपाल, ८७ थान टेन्ट तथा २७ कार्टुन पानी राहत स्वरुप पठाएको छ ।

श्रीलंका, इण्डोनेशिया, कोरिया, अल्जेरिया, ओमन, स्वीट्जरल्याण्ड, सिंगापुर, जर्मनी, क्यानडा, नेदरल्याण्ड, जापान, पोल्याण्ड लगायत २९ देशले नेपालको भूकम्प पीडितका लागि राहत सामग्री पठाएका छन् ।

भारत र चीनबाट मात्र होइन, थाइल्याण्ड, श्रीलंका र अजरबैजानबाट समेत राहत स्वरुप खानेपानी नेपाल पठाइएको छ ।

अढाइ लाख बढी त्रिपाल, एक लाख क्वीन्टल बढी खाद्यान्न

भूकम्प पीडितहरुलाई अत्यावश्यक पर्ने पाल अपुग भएको भन्ने गुनासो अत्याधिक बढे पनि सरकारले अढाइ लाख भन्दा बढी त्रिपाल वितरण गरिएको जनाएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार भूकम्प गएदेखि विहीबारसम्म ठूला परिमाणमा खाद्य तथा गैरखाद्य सामाग्री वितरण गरिएको छ ।

अहिलेसम्म दुई लाख ६६ हजार ८ सय १८ थान टेन्ट वितरण गरिएको छ । वितरित त्रिपालमध्ये रेडक्रसबाट २६ हजार ८ सय ३२ थान, स्थानीय विकास मन्त्रालयबाट ७६ हजार २ सय ९९ थान र शहरी विकास मन्त्रालयवाट २७ हजार ६ सय ६८ थान रहेको जनाइएको छ ।

वितरण गरिएको खाद्य सामग्रीमा चामल, चिनी, नुन, चाउचाउ, भुजिया, चिउरा, सिमी, दाल, चना, विस्कुट लगायत छन् । गैर खाद्य सामाग्रीमा त्रिपाल, लत्ताकपडा, कम्बल, मेट्रेस लगायत छन् ।

पीडितहरुसम्म राहत नपुगेको गुनासो आए पनि सरकारले एक लाख पाँच हजार २ सय ३४ क्वीन्टल चामल वितरण गरेको जनाएको छ । अधिकांश राहत सामाग्री स्थानीय विकास मन्त्रालय तथा कृषि मन्त्रालय अन्तर्गत वितरण गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment