Comments Add Comment

विदेशमा ठगिनुभो वा उद्दार चाहनुहुन्छ ? नेपाल पुलिसलाई फोन गर्नुस्

hotline
१  फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा जाँदा ठगिनुभएको छ ? वा विदेशमा अलपत्र परेर उद्दारको प्रतिक्षामा हुनुहुन्छ ? यदि त्यसो हो भने नेपाल प्रहरीको हटलाइन ९७७-११७७ डायल गरिहाल्नुस् ।

प्रहरीले तपाईंको समस्या समाधान गर्न र ठग्ने विरुद्ध कारवाहीका लागि आवश्यक कदम चाल्नेछ । महानगरीय अपराध महाशाखा काठमाडौंले वैदेशिक रोजगारीका बाहानामा ठगिएका र अलपत्र परेकाहरुको गुनासो सुन्न छुट्टै हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजजारीमा ठगिएका, अलपत्र परेका र उद्दारको आवश्यक्ता भएकाहरुका लागि ११७७ नम्बरको हटलाइनको व्यवस्था गरिएको महाशाखा प्रमुख एसएएपी सर्बेन्द्र अनलाइनखबरलाई जानकारी दिए ।

यसमा नेपालसहित विदेशबाट पनि डायल गरेर आफ्ना गुनासो राख्न सक्ने सुविधा दिइएको छ ।  नेपाल भित्रबाट भने ११७७ माबै डायल गर्दा पनि हुन्छ भने विदेशबाट ९७७-११७७ डायल गर्नु पर्नेछ ।

‘विदेशमा ठगिएर र विभिन्न कारण अलपत्र हुने क्रम निकै बढ्यो । उनीहरुलाई गुनासो कहाँ सुनाउने भन्ने अन्यौल भएपछि सेवा सुरु गरेका हौं’ खनालले भने-‘यसमा विदेश गएका र जाने क्रममा ठगिएकाले उजुरी गर्न सक्छन् ।’

यो हटलाइन सेवा २४ सै घन्टा खुला रहेछ र आफुलाई अप्ठेरो परेको समयमा जसले पनि फोन गर्न सक्नेछन् । युवाहरुलाई विभिन्न बाहना देखाएर म्यानपावर तथा दललालहरुले ठग्ने र दुःख दिने गरेकोले तुरुन्त सम्बोधन गर्न पनि यसको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा बढेको मानव तथा महिला बेचबिखनलाई निरुत्साहित पार्न उजुरी सुन्ने व्यवस्था गर्नुपरेको एसएसपी खनालको भनाइ छ ।

‘रोजगारीका नाममा विभिन्न देशमा लगेर युवा युवतीलाई बेचबिखन गर्ने क्रम चलिरहेको छ । तर, उनीहरु घर फर्किन उद्दारका लागि कहाँ सम्पर्क गर्ने भन्नेमा अन्यौलमा छन्’ खनालले भने-‘विशेषगरी त्यस्ता गुनासो सुन्न कै लागि हटलाइन स्थापना भएको हो ।’

उजुरीको सुनुवाइमा कुनै ढिलाई नगरिने खनालको दाबी छ । उनका अनुसार गुनासोलाई सम्बन्धित निकायहरुसँग समन्वय गरेर समाधानका लागि ठोस पहल प्रहरीले नै गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment