Comments Add Comment

जीवनमै पहिलोचोटि प्रचण्ड र कनकमणिले हात मिलाए !

प्रचण्डले भने- देश बचाउनका लागि हामी मिल्नुपर्छ

Kanakmani and Prachanda

१८ जेठ, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चर्चित पत्रकार कनकमणि दीक्षितले सोमबार साँझ जीवनमा पहिलोचोटि हात मिलाएका छन् । एकअर्कावीच वैचारिक प्रतिद्वन्द्वीजस्ता देखिने यी दुई व्यक्तिले माओवादी पार्टी शान्ति प्रक्रियामा आएको एकदशक बित्दासम्म आपसमा कहिल्यै हात मिलाएका थिएनन् ।

सोमबार साँझ ललितपुरको हात्तीवनस्थित माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा प्रचण्ड र कनकमणिले हात मिलाएका हुन् । गणतन्त्र दिवसका अवसरमा श्रेष्ठले आयोजना गरेको कार्यक्रम कनकमणि र प्रचण्ड लगायत प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपालसमे निम्त्याइएका थिए ।

श्रेष्ठको निम्तो मानेर प्रचण्ड र्फकन लाग्दा पत्रकार कनकमणि अन्य पत्रकारहरुसँग गफ गरिरहेका थिए । त्यहीबेला प्रचण्डले दीक्षतलाई पछाडिबाट कुममा धाप मार्दै ‘के छ खबर सञ्चै हुनुहुन्छ ?’ भनेर सोधे । फरक्क पछाडि फर्केर हेर्दा प्रचण्डलाई देखेपछि दीक्षित छक्क परे ।

‘अब हामी मिल्नुपर्‍यो क्या, विगतका कुरा बिर्सनुपर्‍यो,’ प्रचण्डले दीक्षितसँग हात मिलाउँदै भने, ‘देश बचाउनका लागि हामी मिल्नुपर्ने भयो, एकपटक बसौं ।’

जवाफमा कनकमणिले नजिकै रहेका नारायणकाजीलाई देखाउँदै भने-‘ऊ… उहाँले मिलाउनुहुन्छ ।’

प्रचण्डले हात मिलाउँदा तरंग

प्रचण्डले पछाडिबाट कोट्याएर बोलाउँदै मिल्ने प्रस्ताव गरेपछि पत्रकार दीक्षितमा तरंग आएको स्पष्टै देख्न सकिन्थ्यो । ०६३ साल असारदेखि खुल्ला राजनीतिमा आएका र प्रधानमन्त्री समेत भइसकेका प्रचण्डसँग आफूले हात मिलाएको यो जीवनमै पहिलो घटना भएको उनले बताए । तर, आफूले उनलाई प्रचण्ड नभन्ने, पुष्पकमल दाहाल वा ‘दाहालजी’ मात्रै भन्ने बताए ।

पत्रकार एवं लेखक दीक्षित खरो माओवादी आलोचकका रुपमा चिनिन्छन् । दीक्षितको आलोचनाका कारण माओवादीभित्र उनीमाथि कडा आलोचना गर्ने गरिएको छ । माओवादीहरुले ‘दीक्षित प्रवृत्ति’ समेत भनेर आरोप लगाउने गरेका छन् । कतिपय भाषणमा माओवादी नेताहरुले ‘डलरमणि’ भन्दै उनलाई गाली गर्दै आएका छन् ।

कनमकणि व्यक्ति भएर पनि माओवादीका लागि निकै ठूलो ‘वैचारिक दुस्मन’ जस्तै मानिँदै आएका थिए । यसरी दुई धारमा देखिँदै आएका बेला प्रचण्डले नै सोमबार अकस्मात् दीक्षितलाई कोट्याएर बोलाएका हुन् ।

प्रचण्डले दीक्षितलाई बोलाएनन् मात्र, मिल्न र भेट गर्नसमेत आग्रह गरे । र, दीक्षितले पनि यो प्रस्तावलाई अस्वीकार गरेनन् ।

तस्वीरः किरण नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment