+
+

कमल थापा बोलिका पक्का, बाबुरामबाट अझै आशा छ : करिश्मा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १६ गते ०:३९

नेपाली सिनेमा क्षेत्रमा नायिका करिश्मा मानन्धरको चर्चा सधै हुने गर्दछ । सन्तान, मायालु सिनेमादेखि किन किनसम्म आइपुग्दा करिश्मा सिने नगरीमा आइडियलको रुपमा स्थापित छिन् । केही समय अमेरिकामा बसेपनि करिश्मा नेपालमै फर्केर सिने नगरीमा नै सक्रिय छिन् । उनै सुन्दर नायिका मानन्धरसँग अनलाइनखबरले गरेको बिशेष कुराकानी :

karisma-manandhar-didiनेपाली सिनेमा क्षेत्रमा यहाँको प्रवेश कसरी भयो ?

मैले चलचित्र क्षेत्रमा काम गर्दा यो नगरी खासै फस्टाएको थिएन । मैले आफैले खेलेको सिनेमा पनि हेरेको थिइन । सबैले राम्रो चलचित्र खेल्नु पर्छ भनेर मात्र मैले सिनेमा खेलेको थिए । प्रकाश अधिकारी दाई मेरो घर नजिक भएकाले पनि मलाई यो सिने नगरीमा आउन सजिलो भएको थियो । अचानक त्यतिबेलाको जल्दोबल्दो निर्देशक प्रकाश थापासँग पनि भेट भएपछि म अझै चर्चित बने । मलाई त्यतिबेला पनि टपलेस लुगा लगाउन, स्कर्ट लगाउन खासै आपत्ती हुदैनथ्यो । यस्ता खालका फोटोसुट पश्चात म झनै चर्चित बनेको थिए । यसपश्चात म मुम्बई पनि पुगेको थिए ।

मुम्बइमा जम्छु भन्ने लागेन ?

यो नगरी सानो भएकाले गर्दा पनि केही कुरा सिक्नु पर्छ भन्ने मलाई लागेको थियो । यसैले पनि म मुम्बई तिर लागेको थिए । तर मुम्बईमा संघर्ष फेरी जीरो लेभलबाट नै गर्नु पर्ने हुन्थ्यो । यसकारण पनि मधुमती डान्स सेन्टरमा ६ महिना अभिनय र नृत्य सिकेपछि म नेपाल आए । एउटा विज्ञापनको अफर आएपछि म नेपाल फर्किएको थिए । यसपछि नेपालमै म चर्चित बनेको थिए ।

परिवारको सहयोग कस्तो थियो त ?

मेरो ममी, अन्जली श्रेष्ठ दिदीले मलाई धेरै कुरा सिकाउनु भएको हो । चलचित्र त मलाई थाहा नै थिएन, धेरै कुराहरुको आइडिया मैले परिवारबाट नै लिएको थिए ।

आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्छु भन्ने लागेको थियो ?

म त्यतिबेला यस्तो सोच्ने उमेरमा पनि थिइन । मैले अहिले जुन उचाई पाएको छु, त्यो पहिले देखि नै मैले निर्धारित गरेको भने होइन ।

करिश्माको सौन्दर्यको सधै चर्चा हुन्छ, कसरी राम्री देखिनुहुन्छ ?

सौन्दर्यको आफ्नै परिभाषा छ । कोही मानिस बोल्दै नबोली बस्छ भने त्यो कुरुप हुन्छ । कोही हाँसेर बोल्छ भने त्यो धेरै सुन्दर देखिन्छ । यसैले पनि मानिसको सौन्दर्यता उसको व्यवहारमा भर पर्छ ।

तपाई आफूलाई कसरी मेन्टेन गर्नुहुन्छ ?

मेन्टेन त सबैले गर्न नै खोज्छन् । तर सबैले कसरी गर्ने भन्ने उपाय नजानेर नै आफूलाई मेन्टेन गर्न सक्दैनन् ।

दिनभरी के गर्नुहुन्छ ?

मेरो दैनिकी सधै एउटै हुन्छ भन्ने पनि छैन । योगा गर्नु, दौडनु भन्दा बाहेक मेरो दैनिकी परिवर्तन भैरहन्छ ।

अमेरिका जानु भयो, किन जानु भएको थियो ?

म जीवनमा सधै एउटै तालिका होस् भनेर पनि चाहन्न । यसैले एउटै थलोमा बस्दा बस्दा दिक्क लागेपछि म अमेरिका हानिएको हो । एउटा समय आयो अनि मैले अमेरिका जाने निर्णय गरे । तर मलाई मैले जीवनमा गरेका धेरै निर्णयहरु अपरिपक्क जस्तो लाग्छ ।

के सिक्नु भयो त अमेरिकाबाट ?

मैले धेरै नै कुरा सिकेको छु । धेरै कुराहरु आफैले भोगेपछि मात्र वुझ्न पाइदो रहेछ । त्यहाँ पुगेर म कुनै सुपरस्टार थिइन,यसैले पनि मैले आफूलाई जीरो लेभलबाट सुरु गरेको थिए ।

एउटा चर्चित नायिकाले त्यहाँ पुगेर सामान्य काम गर्दा अस्वभाविक महशुश गर्नु भएन ? त्यहाँ गएर तपाइले के काम गर्नु भयो ?

मलाई त्यस्तो सोच कहिले पनि आएन । किनकी मैले स्वतन्त्रतापूवर्क काम गर्न पाएको थिए । त्यहाँ कलाकारहरु पनि धेरै गएर बस्नु भएको छ । मलाई नेपाली कलाकारहरुले धेरै सहयोग गर्नु भएको छ । उहाँहरुले जे काम गर्नुहुन्थ्यो मैले पनि त्यही नै गरेको थिए ।

‘सन्तान’ देखि ‘किन किन’सम्म आइपुग्दा आफूमा के फरक पाउनुभयो ?

म दिमागी र शारीरिक रुपमा धेरै नै परिवर्तन भए । मैले आफूलाई परिपक्क पाएको छु ।

एकातिर सिनेमा नगरीको करिश्मा, अर्को घर भित्रकी करिश्मा, दुबैलाई कसरी हेर्नुहुन्छ ?

म दुबैलाई सामान्य रुपमा नै लिने गर्दछु । हाम्रो सिने नगरी राम्रैसँग चलेको छ, मैले पनि आफूलाई यहाँ सधैभरी उभ्याउने कोशिश गरिरहेको छु । घरमा पनि मेरो आफ्नो जिम्मेबारी छ । सिनेमा र घरमा आ आफ्नै खालका जिम्मेबारी छन् ।

अब पनि करिश्माको दायित्व सिनेमा मात्र खेल्ने हो र ?

मैले गर्न खोजेको पनि हुँ । धेरै पटक प्रयास पनि गरे । तर यहाँ त खै जे गरेपनि नहुने । यसैले मैले सोचे मेरो काम सिनेमा खेल्ने हो, अहिले त्यही काम गरिरहेको छु ।

कस्तो हुँदैछ हाम्रो सिने नगरी ? किन घट्दै छन् दर्शक ?

हामीले आफै दर्शकको आकर्षण घटाएका छौ भन्ने लाग्छ मलाई । हामीले नराम्रो सिनेमा बनाएर होस् या बाटोमा धेरै देखिएर नै किन नहोस्, दर्शकको आकर्षण घटाएका छौ । अब राम्रो सिनेमा बनाउने कोशिश गर्नुको विकल्प देख्दिन म ।

आजका कलाकारहरुमा स्टारपावर नदेखिएको हो ?

अहिले काम गर्ने शैली फेरिएको छ । म अमेरिकाबाट आए लगतै के गर्ने र कता जाने भन्ने दोधारमा थिए ।

करिश्मा मानन्धरले अब विभिन्न संघसंसस्थामा बसेर सिने नगरीको विकासमा पहल गर्ने बेला आएन र ?

मैले पनि धेरै कुरा गरेको छु । कोशिश गर्नेहरुको हातमा हात राखेको छु । तर अन्त्यमा नजिता सन्तोषजनक आउदैन । हामीले विभिन्न संघसंस्थामा बसेर सिने नगरीको विकासका लागि फाइदा लिने बेला हो यो । तर हामी कतै न कतै चुक्यौ भन्ने लाग्छ मलाई । अर्कोतिर हामीमा एकता भन्ने कुरा नै भएन । एकता भएको भए हामीले धेरै कुरा गर्न सक्थ्यौ ।

हिन्दी सिनेमा यही चल्ने नेपाली किन नचल्ने होला ?

जस्तो बजेटको सिनेमा बने पनि मिहिनेत सबैको हुन्छ । तर दर्शकले नै हामीलाई २ लाख पनि नउठाउने सिने नगरीको चलचित्र किन हेर्नु भनेर हेला गरेको हो की ?

राजनीतिमा प्रवेश गर्ने सोच छ कि छैन ?

विभिन्न राजनीतिक पार्टीबाट मलाई नबोलाइएको होइन । तर मैले राजनीति नै गर्नुपथ्र्यो भने २० बर्षसम्म यो नगरीमा किन बस्थे होला र ।

तपाई निर्देशक बन्ने कुरा पनि थियो त ?

हो रमेश उप्रेती जीसँग मेरो कुरा पनि भएको थियो । तर म अहिले नै तयार छु जस्तो मलाई लागेको छैन । रमेश जी लाई म सहयोग त गर्न सक्छु तर उहाँको सिनेमा निर्देशन अहिले नै गर्छु जस्तो लागेको छैन ।

तत्काल निर्देशन गर्ने सोच छ कि छैन ?

मैले निर्देशन गरेपछि दर्शकहरुमा धेरै नै आशा हुन्छ । यसैले पनि म तत्कालका लागि तयार भएको छैन । मैले बनाएको सिनेमा दर्शकको मन जित्ने नेपाली परिवेशकै हुन्छ ।

सिने नगरीको स्तर उकास्न सबैभन्दा महत्वपूर्ण भूमिका कसको हो त ?

यो एउटा समुहको काम हो । एकजनाले मात्र गरेर हामी सफल हुन्छौ जस्तो मलाई लाग्दैन । हामी दर्शकसँग सिधै कनेक्शनमा छैनौ । हामीले गरेको काम माटो सुहाउदो भएन । हामी फरक धार भनेर हिडेका छौ । तर फरक धार भन्नेहरुले पनि खासै कुनै चमत्कार गरे जस्तो मलाई लाग्दैन ।

अहिले आएको सेक्स सिनेमाको बाढीलाई कसरी हेर्नुहुन्छ ?

सबैभन्दा पहिला हामीले कस्तो सिनेमा बनाउने भन्ने बिषयमा स्पष्ट हुनु जरुरी छ । सेक्सका बिषयलाई उठान गरिएका चलचित्र चलेका छन् जस्तो मलाई लाग्दैन । यसको मतलव वुझ्नु पर्दछ कि यहाँ सेक्स बिक्दैन ।

विनोद मानन्धरको साथ कस्तो पाउनु भएको छ ?

श्रीमान श्रीमतीमा असहमती त भैहाल्छ नी । तर उहाँले मलाई काम गर्ने बातावरण बनाइदिनु भएको छ । उहाँ भएकै कारणले गर्दा मलाई सजिलो पनि भयो ।

फुर्सदमा के गर्न मनपर्छ ?

म संगीत सुन्छु, गेम खेल्छु । अहिले मलाई कार्टुन खेल्न मन लाग्छ । त्यहाँ आफ्नै संसार छ नि हैन र ।

संविधान सभामा तपाइको प्रतिनिधित्व चाहिन्छ भन्ने कुरा आयो भने जानुहुन्छ ?

मैले अहिले नै यस बिषयमा सोचेको छैन । म भन्दा अझ सिनियरहरु पनि हुनुहुन्छ नी हैन र ?

कलाकारले राजनीति गर्नुहुन्छ कि हुदैन ?

यदि उसमा क्षमता छ भने गर्दा हुन्छ । कलाकारले मात्र किन पत्रकार, व्यापारी जसले गर्दा पनि हुन्छ ।

रेखा थापा जी पार्टीमा प्रवेश गर्नुभयो, चुनाव लड्ने कुरा पनि गर्दै हुनुहुन्छ, एकजना नायिका भएकाले अर्की नायिकाको यो क्रियाकलापलाई कसरी हेर्नु भएको छ ?

म हरेक कुरामा सकारात्मक सोचाई राख्दछु । उहाँको खुबी थियो र नै जानु भएको होला जस्तो लाग्छ ।

खाना पकाउनुहुन्छ ?

मलाई खाना पकाउने रुचि त छ, तर पकाउदिन । खाना पकाउनु पर्‍यो भने धेरै खाइन्छ नि ।

कविता जी पछि दोश्रो सन्ताको रुचि भएन ?

रुचि नै नभएको त होइन । परिवारबाट पनि दबाब आएको थियो । तर आफूले चाहेजस्तो नहुने रहेछ । म व्यस्त भए, अमेरिका हानिए । यसैले पनि भगावनले मलाई एउटा मात्र सन्तान लेखेको रहेछ जस्तो लाग्छ मलाई ।

रिस उठेको बेलामा शान्त पार्न ?

म संगीत धेरै सुन्छु ।

नायिका करिश्मा मानन्धरले राजनीति र विभिन्न राजनीतिक दलका नेताहरुको बिषयमा अनलाइनखबरसँग गर्नुभएको कुराकानीको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

प्रस्तुती : सुरेश भुषाल / विजय आवाज

भिडियो तथा तस्बिर : सुमित शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?