+
+

स्वदेशमा बस्नेलाई परदेशीको चिठी

विदेशमा के दसैं के तिहार सधैं ड्यूटी गर्नुपर्छ । एकदिन ड्यूटी गरिएन भने साँझ खान पनि पाईंदैन । आँसु पुछेर भए पनि ड्यूटी जान बाध्य छु । किन आउँछन् दसैं तिहार ? मजस्ता धेरै परदेशीहरुलाई रुवाउन ? यहाँ पनि गाउँका धेरै साथीभाइ हुनुहुन्छ तर, भेटघाट हुनै सक्दैन । पैसा छैन, अनि फेसबुकबाट शुभकामना बाँड्दै बसिरहेको छु ।

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक ४ गते २०:४५

कमलसिंह ठकुरी

नमस्कार । मेरो नाम कमल सिंह ठकुरी हो । मेरो ठेगाना बजेडीचौर-६ पिल्क सुर्खेत हो । हाल म युएईमा श्रमिक जीवन बिताइरहेको छु । मैले विदेशी भूमिमा गर्दै आएको दुःख र आफ्नो घर परिवारबाट पनि पीडित बनेको कुरा हजुरहरु सबैलाई सुनाउन चाहान्छु ।

गाउँमा रोजगारी नहुँदा र आर्थिक समस्याले मलाई आफ्नै जीन्दगीसँग विरक्त लाग्न थाल्यो । र, पढाइ वीचैमा छाडेर आर्थिक अवस्था सुधार्न विदेश जाने वाध्यता आयो । आफूसँग पैसा नहुँदा सबै प्रकृया मिलाउन धेरै कठीन भयो । आफन्तको सहयोगमा पासपोर्ट बनाएँ र भिसाका लागि आफन्त एजेन्टलाई गुहारेँ ।

सबै बन्दोबस्तो आफन्तीले गरिदिएपछि भिसा पनि आयो । खुसी हुँदै भगवान पुकारेर आफन्तहरुलाई धन्यवाद दिएँ । भिसा आएपछि घर छोड्नुपर्ने पीडाले आँखाभरि आँसु भरिए । ३७ दिनकी सुत्केरी पत्नी मीना, छोरा रोहित तथा बुवाआमा, भाइ, दिदी र बहिनीलाई छोड्दै, रुँदै म विदेशको यात्रामा निस्कें ।

घरबाट विदेशका लागि पाइला बढाएका दिन मैले नयाँ र नौला सपना देखेको थिएँ । म विदेश पुगें । भिसामा लेखिएअनुसार सेवा सुविधा बराबरको काम त पाएँ, तर पैसा भने पाउन सकिँन । भिसामा ८ घण्टा काम गरे बराबर कम्तीमा ८ सय पारिश्रमिक दिने लेखिए पनि त्यो गलत रहेछ । ८ घण्टा काम गर्दा त्यतिखेर करिब १६ हजार नेपाली रुपैयाँ हुन्थ्यो, तर यहाँ आएर मेडिकल गर्दा अर्कोपटक फेरि सम्झौता हुँदोरहेछ । त्यसमा ५ सय मात्रै तलब रहेछ, अनि ड्यूटीचाँहि १२ घण्टा पूरै गर्नुपर्ने ।

ढाँटेको कुरा नेपालमै थाहा भएको भए त केही गर्थें होला । तर, थाहा पनि कसरी होस्, खाली हस्ताक्षर गर्ने मात्रै समय दिए, मेनपावरका दलालहरुले पेपर पढ्नै दिएनन् । अनि नेपाली १० हजार रुपयाँमा आफ्नो दुःख साट्न बाध्य भएँ ।

अरुसँग ऋण लिएर आएको म, काम नगरी मेरो उपाय थिएन । म १० हजारको लागि दैनिक १२ घण्टा ड्यूटीमा निरन्तर लागिरहें । घरबाट आएको १ वर्षमा ऋण तिरें ।

कहिलेकाहीं ओभरटाइम त मिल्थ्यो । तर, पनि कसरी गर्न सक्नु यहाँको ५० डिग्रीको घाममा । १२ घण्टा काम गर्दा साहै्र थकान हुन्थ्यो । जति थकान भए पनि काम गर्नैपर्ने । कहिलेकाहीं घरमा खर्च पठाउँथें । तर, पनि घरका सदस्य पठाएको खर्चले खुसी हुँदैनथे ।

चाडको याद र घरको कचकचले रुवाउँछ

भर्खरै सकिएको दसैं र आउँदै गरेको तिहारको धेरै सम्झना आइरहेको छ । आमाबुवा, ईष्टमित्र, आफन्तजन, साथीभाई सबैको याद आएको छ । यहाँ आज पनि दसैंको पिङ र सबैको हातबाट निधारमा टीका, जमरा लगाएर साथीसँग खेल्दै रमाइला कुरा गरेको साहै्र याद आइरहेको छ ।

तिहारमा दिदी बहिनीसँगको भाइटीका र साथीसँग खेलिने देउसी भैलोको रमझम सम्झेर बसिरहेको छु । दसैंतिहार सम्झेर नरोएको दिनै छैन । चाडवाडमा आँसु थाम्न नसकेर दसैँको तिहारमा नेपालका टेलिभिजन हेर्न सक्दिँन ।

विदेशमा के दसैं के तिहार सधैं ड्यूटी गर्नुपर्छ । एकदिन ड्यूटी गरिएन भने साँझ खान पनि पाईंदैन । आँसु पुछेर भए पनि ड्यूटी जान बाध्य छु । किन आउँछन् दसैं तिहार ? मजस्ता धेरै परदेशीहरुलाई रुवाउन ? यहाँ पनि गाउँका धेरै साथीभाइ हुनुहुन्छ तर, भेटघाट हुनै सक्दैन । पैसा छैन, अनि फेसबुकबाट शुभकामना बाँड्दै बसिरहेको छु ।

परदेशको पीडा बुझ्ने मान्छे घर परिवारमा हुन्छ होला भन्ने सोचेको थिएँ । तर हाम्रो लागि त घर परिवार पनि पराईजस्तै हुँदोरहेछ । धेरै पैसा कमाएर दिन सकियो भने आमाबुवा, इष्टमित्र, साथीभाइ सबैले राम्रो गर्दा रहेछन् । आफ्नै आमा बुवादेखि यसरी हेलामा परिदोंरहेछ । बुवाले फोनमा गाली गर्दै मलाई पैसा कमाउन नसक्ने नार्मद छोरा भन्नुहुन्छ । प्रत्येक फोनमा वहाँले दोहोर्‍याउने गाली यही हो । मेरी पत्नीलाई पनि संधै तेरो पतिले पैसा कमाएर बैंक ब्यालेन्स गरेर राखेको छ, हामीलाई पैसा दिँदैन भन्नुहुँदोरहेछ । मैले घरखर्च पठाइरहेको छु । आधापेट खाएर भए पनि आफूसँग भएको पैसा घरमा पठाउने गरेकै छु ।

घरबाट आएको ७ महिनादेखि ढाड दुख्ने व्यथाले सतायो । दिन दिनै ढाडको दुखाइ बढ्दै गएको छ । हप्तामा एकपटक दुखाइ कम गर्ने सुई लगाउन बाध्य छु । मेरो साथमा दुखाइ कम गर्ने दबाइ टुट्दैन । कहिलेकाहीं ट्याब्लेट खाएर पनि दुखाइ कम गर्छु । हप्ता दिनमा सुई लगाउन हस्पिटल जानुपर्छ । कम्पनीले गाडी पनि दिँदैन । ट्याक्सीमा जाँदा-आउँदा धेरै पैसा खर्च हुन्छ । विरामी हुँदा ड्यूटी नजाँदा कम्पनीले कारवाही गर्छ । एकपटक सन्चो नभएर काममा नजाँदा एक हप्ता काम गर्न पाइएन ।

प्रायः बिहानको खाना खान पाइँदैन । साँझको खाना साथीहरुले ल्याइदिन्छन् । बिरामी शरीर, डाक्टरले आराम गर्ने सल्लाह दिन्छन् । खानका लागिसमेत समय नपाउने ठाउँमा मैले कसरी आराम गर्न पाउनु । ढाड दुख्ने व्यथाले झनै सताइरहेको छ । यसरी दुःख गरेर कमाएको पैसा घरमा पठाए पनि छोराले पैसा पठायो भनेर न बुवाआमाले भन्छन्, न पत्नीले । अब मैले के नै गर्न सक्छु र ?

काम अनुसारको पैसा कमाइएकै छ, घरमा पनि पठाइएकै छ । ओभरटाइम गरेर अहिले मेरो तलब १४ हजार हुन्छ । त्यसमा उपचार र घरमा फोन गर्दा मासिक ७ हजार खर्च हुन्छ अनि कसरी घरमा मासिक १५ हजार पठाऊँ ?

पत्नीलाई भिडियो चल्ने मोबाइल चाहियो रे, भाइलाई ल्यापटप चाहियो रे, आमा दिदीबहिनीहरुलाई सुन चाहियो रे, बुवालाई भने महिना-महिनामा पैसा चाहिने रे । कसरी पूरा गर्न सक्छु म एक्लैले सबैका चाहना । यहाँ मेरो अवस्थाबारे कसले बुझिदिने ? घर जाने कोशिस पनि गरेको हुँ, तर खाली हात कसरी जानु ? कमाएको जति पठाएरै सकिएको छ ।

बुवाले भन्नुहुन्छ रे, विदेशबाट कमल घरमा आएको दिन उसलाई छुट्याइदिन्छु । बुवाले अलग गरिदिनुभयो भने म झन् ठूलो समस्यामा पर्ने डरले पनि जसोतसो यहीँ बस्न बाध्य छु । अभिभावकले सहारा दिन छोडेपछि कसको सहारा खोज्नु मैले ? यहाँ काम गर्दै आएको ठाउँबाट अर्को ठाउँमा पठाउने भएको छ, मैले काम गर्दै आएको ठाउँमा तलब जे/जति भए पनि काम सजिलो थियो । अब पठाउने ठाउँमा काम गारो छ रे ।

कम्पनीले घर पनि पठाउन सक्छ, त्यो पनि थाहा छैन । काम नै दियो भने पनि अर्को ठाउँमा जाँदा बासी खानासम्म पाइँदैन । स्टोरतिर पठायो भने पनि ठूलाठूला सामानहरु गाडीबाट निकाल्नुपर्छ । जुन कामका लागि स्वस्थ शरीर चाहिन्छ । घर पठाउँदा पनि कम्पनीले अरुले दिएजस्तो पैसा र टिकट पनि दिँदैन ।

यी अप्ठेराबीच म घर गएर आउने हो भने पनि मैले महिनामा कमाउने १० हजारका लागि जाँदा-आउँदा जहाज टिकट तिरेर कसरी जानु ?

अहिले म ठूलो समस्याले झेलिँदै आएको छु र सोच्न बाध्य हुन्छु । अब केही पैसा जम्मा गरेर आफ्नो उपचार गराउँ कि भनेर । उपचार भएपछि कहीं कतै राम्रो कम्पनीमा राम्रोसँग कमाउन सक्छु कि ? हिजोआज मेरो मनले यही कुरा सोचिरहेको छ । त्यसका लागि खर्च जोड्ने काम गरिरहेको छु । जब म त्यो सबै खर्च बनाउँछु अनि मात्रै घरमा जानेछु । नभए म के गरौं ?

(बजेडीचौर-६, पिल्क सुर्खेत । हाल युएई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?