४ पुस, काठमाण्डौ । संविधान सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका उम्मेदवारहरुले चुनाव जित्नका लागि ठूलो रकम खर्च गरेका खबरहरु आइरहेका समयमा नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नु भएको छ । काठमाण्डौ क्षेत्र नम्बर १ वाट विजयी उम्मेदवार सिंहले भने निर्वाचन आयोगले तोकेको भन्दा झन्डै साढे दुई लाख रूपैयाँ कम खर्चिनु भएको छ ।
सिंहले बिहीवार जिल्ला निर्वाचन आयोगको कार्यालयमा बुझाउनु भएको आफ्नो निर्वाचन खर्च विवरणमा सात लाख ७३ हजार ४ सय ९० रुपैया खर्च गरेको उल्लेख छ । सिंहले चुनाव अवधिभर मतदाता नामावली तथा सीडी खरिदका लागि ५ सय रुपैयाँ, सवारी साधनका लागि ८४ हजार तथा सवारीमा इन्धन राख्न २८ हजार ८ सय ४० रुपैयाँ खर्च भएको विवरणमा निर्वाचन आयोगमा पेश गर्नु भएको छ ।
यसैगरी पर्चा छपाईका लागि ६२ हजार १ सय ५०, आमसभा तथा गोष्ठीका लागि ६८ हजार, प्रचार प्रसारका लागि २५ हजार, कार्यालय सञ्चालनका लागि ६० हजार, कार्यकर्ता परिचालनका लागि २ लाख, वुथ खर्चका लागि २ लाख २० हजार र विविध कामका लागि २५ हजार रुपैयाँ खर्च भएको सिंहले निर्वाचन आयोगमा पेश गरेको निर्वाचन खर्च विवरणमा उल्लेख छ ।
निर्वाचन आयोगले मंसिर ४ मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा एउटा उम्मेदवारले १० लाख सम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । निर्वाचन आयोगले आफूले तोकेको भन्दा बढी रुपैयाँ खर्च गरेको प्रमाण फेला परे उम्मेदवारमाथि कारबाही गर्ने बताएको थियो ।
सिंहले पेश गरेको निर्वाचन खर्च विवरण :
प्रतिक्रिया 4