+
+

कमल थापाको महात्वाकांक्षा : अर्को चुनावमा पहिलो दल

अनलाइनखबर अनलाइनखबर
२०७० माघ १५ गते १८:१५

kamal-thapa-1

१५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले महत्वाकांक्षी योजना अघि सारेका छन् । उनका योजना तीन वटा छन् : नयाँ संविधानमा धर्म सापेक्षता र संवैधानिक राजतन्त्र घुसाउने, आगामी संसदीय निर्वाचनमा पहिलो पार्टी बन्ने र ६ महिनामा स्थानीय निर्वाचन गराई एक तिहाइ सीटहरु जित्ने ।

मंगलबारबाट राजधानीमा सुरु भएको राप्रपा नेपालको तीन दिने राष्ट्रिस सम्मेलनमा १४ पृष्ठको ‘राजनीतिक कार्यपत्र’ प्रस्तुत गर्दै अध्यक्ष थापाले राप्रपा नेपाललाई पहिलो दल बनाउने लक्ष प्रस्तुत गरेका हुन् । थापाको प्रस्तावमाथि सम्मेलनमा उपस्थित ६ सय ७८ सदस्यहरुले बुधबार ४ वटा समूह बनाएर छलफल गर्दैछन् ।

अध्यक्ष थापाले पेश गरेको प्रतिवेदनमा भावी योजना प्रस्तुत गर्दै भनिएको छ, राप्रपा नेपालको भावी रणनीतिक उद्देश्य निम्न बमोजिम हुनेछ-

१. पार्टीले अंगीकार गरेको सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली एवं उदार आर्थिक नीतिको सिद्धान्त र विचारलाई संस्थागत गर्दै नयाँ संविधानमा स्थापित गर्ने ।

२. अब हुने संसदीय निर्वाचनपश्चात राप्रपा नेपाललाई पहिलो राजनीतिक शक्ति बनाउने ।

३. निकट भविश्यमा हुने स्थानीय निर्वाचनमा कम्तिमा एकतिहाइ स्थानमा विजय हासिल गर्ने ।

पूरा होला त कमल थापाको रणनीति ?

संविधानसभामा चौथो राजनीतिक शक्ति बनेको तर प्रत्यक्ष निर्वाचनमा एक सीट पनि हात नपारेको राप्रपा नेपाललाई आगामी निर्वाचनमा पहिलो दल बनाउन कत्तिको सम्भव होला ? यसबारे थापाले आफ्नो प्रतिवेदनको नवौं पृष्ठमा लेखेका छन्- ‘पार्टीको विचारलाई संस्थागत गर्ने, पार्टीलाई पहिलो शक्ति बनाउने तथा स्थानीय निकायको चुनावमा एक तिहाइ सीट जित्ने उद्देश्य सजिलो छैन । तर यो असम्भव पनि छैन ।’

संसदमा चौथो शक्तिमात्र भएकाले आफ्ना एजेन्डा पारित हुने स्म्भावना कम रहेको स्वीकार्दै थापाले सकेसम्म सम्झौता गरेर आफ्ना विचारहरु संविधानभा समेट्न प्रयत्न गर्ने तर, त्यसो हुन नसके आन्दोलनको बलमा ती एजेन्डालाई जनमत संग्रहसम्म तान्ने उनले रणनीति अघि सारेका छन् ।

‘एजेन्डाहरुलाई आफ्नै बलले स्थापित गर्ने मत हामीले प्राप्त गर्न सकेनौं । तर, ती एजेन्डाहरुलाई शसक्तरुपले संविधानसभामा प्रस्तुत गर्न सक्ने मत र हैसियत भने जनताले राप्रपा नेपाललाई दिएका छन् ।’ थापाले प्रतिवेदनमा लेखेका छन्-‘आफ्ना एजेन्डाका मूलभूत मान्यताहरु कायम हुने गरी सम्झौता र सहमति कायम गर्न राप्रपा नेपाल आवश्यक लचकताको निम्ति तयार रहने छ । गणितीय आधारमा केही सीमित राजनीतिक दलहरुको एजेन्डालाई लाद्ने प्रयास गरियो भने त्यो स्वीकार्य हुने छैन ।’

थापाले पार्टीका तीनवटा लक्ष प्राप्तिका लागि विभिन्न ९ वटा योजना अघि सारेका छन् । ती योजनामा पार्टीको आन्तरिक प्रशिक्षण र आम सञ्चारमा प्रभाव बढाउने, अन्तरराष्ट्रिय सम्बन्ध विस्तारलाई प्राथमिकता दिने, पार्टी संगठनलाई सुदृढ र प्रभावकारी बनाउने तथा पार्टीमा युवा पुुस्तालाई आकषिर्त गर्ने नीति ल्याइने उल्लेख छ ।

त्यसैगरी आर्थिक विकासका एजेन्डालाई प्राथमिकता दिने, सदन र सडक दुबैलाई प्रयोग गर्ने, भ्रष्टाचार, बेरोजगारी र लोडसेडिङजस्ता जनहितछका विषयलाई लिएर संघर्षका कार्यक्रम सञ्चालन गरी पार्टीलाई जनतामा स्थापित गर्ने कमल थापाको योजना छ ।

राष्ट्रपति, उपराष्ट्रपति फेर्नुपर्ने

राप्रपा नेपालले राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्नुपर्ने माग गरेको छ । अध्यक्ष थापाले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेको प्रतिवेदनमा यसबारे भनिएको छ, ‘सार्वभौम जनताले दिएको ताजा जनादेश अनुरुप राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै निर्वाचित पदहरुको नयाँ चुनाव हुनुपर्दछ भन्ने राप्रपा नेपालको स्पष्ट मान्यता रहेको छ ।’ प्रतिवेदनमा अगाडि भनिएको छ,’राष्ट्रपतिको पदावधि सम्बन्धी अन्तरिम संविधानमा रहेको व्यवस्था गत संविधानसभाबाट दुई वर्षमा संविधान बन्नेछ भन्ने विश्वासको आधारमा निर्धारण गरिएको हो । उक्त संविधानसभाकधो सोही अमूर्त प्रावधानका आधारमा राष्ट्रपति उपराष्ट्रपतिलाई निरन्तरता दिनु संविधानको भावना र प्रजातन्त्रको मर्म विपरीत हुने छ ।’

त्यसैगरी मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदमा पनि ताजा जनादेशअनुसार भागवण्डा गरिनुपर्ने थापाले माग गरेका छन् ।

भ्रष्टाचार र लोडसेडिङ विरुद्ध आन्दोलन गर्ने

भ्रष्टाचारविरोधी आन्दोलन उठाएर पार्टीलाई जनतामा स्थापित गर्नुपर्ने विचार थापाले अघि सारेका छन् । थापाको प्रतिवेदनको ११ औं पृष्ठमा भनिएको छ-‘भ्रष्टाचार निवारण आगामी दिनमा पार्टीको प्रमुख एजेन्डा रहनेछ । विभिन्न तहमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न गराउन पार्टीले देशव्यापी अभियान सञ्चालन गर्नेछ । यसक्रममा अवैध रुपमा आर्जन गरिएका सम्पत्तिहरु जफत गर्न तथा सम्बन्धित व्यक्तिहरुलाई कानूनबमोजिम कारवाही गर्न राप्रपा नेपालले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठनको मागलाई सशक्त रुपमा उठाउनेछ ।’

थापाले प्रतिवेदनमा भनेका छन्-‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सुदृढ र प्रभावकारी बनाउन पार्टीले पहल गर्नेछ । यसैगरी आगामी दिनमा पार्टीले बेरोजगारी समस्याको समाधान एवं लोडसेडिङको अन्त्यका लागि सदनमा आवाज उठाउने छ र सडकमा दबावमूलक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।’

छ महिनाभित्र स्थानीय चुनाव

एक तिहाइ सीट जित्ने लक्ष्य लिएको राप्रपा नेपालले ६ महिनाभित्र स्थानीय चुनाव गर्न माग गरेको छ । यसबारे अध्यक्ष थापाको प्रतिवेदनमा भनिएको छ,’राप्रपा नेपालले नयाँ सरकार गठन भएको ६ महिनाभित्र स्थानीय निकायको चुनाव गर्न दबाव दिनेछ ।’

जेठमा महाधिवेशन गर्ने

अध्यक्ष थापाले आगामी जेठ २ देखि ४ गतेसम्म पार्टीको केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । साथै संविधानसभा चुनावमा धाँधली भएको भन्दै यसबारे संसदीय छानविन समिति बनाउन उयनको माग छ । जनताले राप्रपा नेपाललाई प्रतिपक्षमा बस्न म्यान्डेट नदिएको भन्दै उनले प्रतिपक्षमै बस्ने प्रस्ताव अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?