+
+

साउदीमा नेपाली महिलालाई मृत्युदण्ड दिइयो

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १९ गते २३:५२

१९ साउन, काठमाडौं । साउदी अरेबिया सरकारले एक नेपाली महिलालाई सोमबार मृत्युदण्ड दिएको छ । साउदी प्रेस एजेन्सीका अनुसार एक दुईवर्षे नावालकको हत्या अभियोगमा मृत्युदण्ड दिइएकी ती महिला घरेलु कामदारका रुपमा साउदीमा कार्यरत थिइन् ।

साउदी अरेबियाको गृहमन्त्रालयले मृत्युदण्ड पाउने नेपाली महिला शोभा परियार रहेको बताएको छ ।

Hanging

मृत्युदण्ड दिइएकी ती महिलाले आफ्नो अपराध स्वीकार गरेको र जनरल कोर्टले पनि मृत्युदण्डको फैसला दिएको मन्त्रालयले जनाएको छ । मृत्युदण्डको फैसलालाई पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत अनुमोदन गरेको त्यहाँको मन्त्रालयलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

धेरै कोसिस गर्दा पनि बचाउन सकिएनः राजदूत
साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आफूले निकै कोसिस गर्दा पनि उनलाई मृत्युदण्डबाट बचाउन नसकिएको बताए ।

‘मृत्युदण्ड दिइयो भन्ने सुन्दा निकै दुःख लाग्यो’ राजदूत पाण्डेले टेलिफोनमा अनलाइनखबरसँग भने-‘मैले डेढ बर्ष पहिलेदेखि नै उनलाई बचाउन साउदी अधिकारीसँग लविङ गरिरहेको थिएँ ।’

करिव डेढ बर्ष पहिले नावालक हत्या अभियोगमा थुनिएकी नेपाली महिलाबारे जानकारी पाएपछि आफूले उनलाई बचाउन कोसिस गरेको राजदूत पाण्डेले बताए ।

‘मैले उनको बयान हेरेँ, उनीहरुसँगै गएर पनि कुरा गर्‍यौं, उनले साहुनीले दुव्र्यवहार गरेका कारण आवेशमा आएर छोरालाई बाथरुममा लगेर छुरा हानेको स्वीकारेकी थिइन् ।’ राजदूत पाण्डेले भने ।

आफूले आवेशमा आई हत्या गरेको र मनशायप्रेरित हत्या नभएको भन्दै मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई कन्भिन्स गरिदिन आफूले त्यहाँको गर्भनरलाई भेटेर आग्रहसमेत गरेको राजदूत पाण्डेले बताए । आवेशमा भएको घटनालाई फौजदारी कानूनले हत्या मान्दैन ।

‘गर्भनरले कोसिस पनि गरेका हुन् तर, मृतकको परिवार निकै क्रुद्ध थियो,’ राजदूत पाण्डेले भने । यसबारे आफूले निकै पहिले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको र उनको परिवारसँग पनि सम्पर्क गरेको पाण्डेले जानकारी दिए ।

तनहुँ भिमादकी शोभा दलालमार्फत् भारतीय मार्ग हुँदै साउदी पुगेकी थिइन् । ‘एसएलसीसम्म अध्ययन गरेकी थिइन, दाम्पत्य जीवन राम्रो नभएपछि साउदी आएकी हुँ भनेकी थिइन’ राजदूत पाण्डेले भने ।

उनकी दिदी र भाईले नेपालबाट बेलाबेला फोन गरेर उनलाई बचाउन आग्रह गरेको राजदूत पाण्डेले बताए । पिडीत परिवारले माफी नदिएपछि शोभा मृत्युदण्डको मुखबाट जोगाउन नसकिएको उनले बताए ।

शोभाको शवलाई साउदी अधिकारीले नै ब्यबस्थापन गर्ने उनले बताए । ‘हामीलाई यसबारे औपचारिक जानकारी आउन अझै ७-८ दिन लाग्छ होला’ उनको शव नेपाल ल्याउन पनि पाइदैन, उनको परिवारले कुनै क्षतिपूर्ति पाउने सम्भावना पनि छैन् ।’ राजदूत पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?