५ भदौ, जुम्ला । कर्णालीको हिमाली जिल्ला जुम्लामा न्यूजिल्याण्डबाट भेडा ल्याइने भएको छ ।
भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रमअन्तर्गत जुम्लामा एक साताभित्रै दुई जातका २६ वटा भेडा भित्रिने भएका हुन् । काठमाडौँ ल्याइसकिएका कुपोर्थ र रोम्नी मार्स जातका २६ वटा केही दिनमै जुम्लामा ल्याइने भेडा तथा बाख्रा कार्यक्रम गुठीचौर जुम्लाका संयोजक लुमानिधि पाण्डेले जानकारी दिए ।
ती जातको भेडाको मुख्य विशेषता ऊनबाट आफ्नै देशमा कच्चा पदार्थ उत्पादन गरी त्यसबाट विशेषगरी कार्पेट बन्ने गरेको संयोजक पाण्डेले बताए । गत आवमै सरकारले विनियोजन गरेको बजेटबाट जुम्लाका लागि २६ र नुवाकोटको पानसय खोला भेडाफार्मको लागि २६ वटा भेडा खरिद गरी नेपाल ल्याइएको हो ।
नेपालले विश्व व्यापार सङ्गठनमा कुनै पनि देशले आफ्नो देशमा आठ प्रतिशत कच्चा पदार्थ उत्पादनका लागि गरेको सम्झौता कार्यान्वयन नभएको बताउँदै संयोजक पाण्डेले यो जातका भेडाले सम्झौता कार्यान्वयनतर्फ लैजाने बताए ।
करिब चार वर्षको प्रयासपछि न्युजिल्यान्डबाट जुम्लामा भेडा भित्र्याउन सफल भइएको संयोजक पाण्डेले बताए । रासस
प्रतिक्रिया 4