२४ भदौ, काठमाडौ । नयाँ बानेश्वरस्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकबाट डट्स (डाइरेक्टली अब्जर्भड ट्रिटमेन्ट सर्ट कोर्ष) विधिअनुसार क्षयरोग (टीबी) को नियमित औषधी सेवन गर्दै आएका स्याङ्जाका कृष्ण पाण्डे औषधी नपाएपछि चिन्तित छन् ।
छ महिनासम्म नियमित औषधी सेवनपछि पनि रोग पूर्ण रुपमा निको नभएपछि थप औषधी खान चिकित्सकले परामर्श दिए पनि औषधी नपाएको भन्दै उनले चिन्ता ब्यक्त गरे ।
राजधानीकै डट्स केन्द्रहरुमा क्षयरोगका बिरामीलाई निःशुल्क रुपमा दिइदै आएको औषधी अभाव भएको छ । औषधीको अभावले गर्दा ६ महिनाभन्दा बढी समय औषधी खानुपर्ने बिरामीले ती केन्द्रहरुबाट औषधी पाउन सकेका छैनन् ।
काठमाडौ महानगरपालिकाबाट सञ्चालित यो डट्स केन्द्रमा मात्रै ५५ जनाले औषधी सेवन गर्दै आएका छन् । नियमित औषधी सेवन गर्दै आएका उनीहरु मध्ये २० जना ६ महिनाभन्दा बढी औषधी सेवन गर्नुपर्ने विरामी छन् ।
६ महिनाभन्दा बढी समय औषधी सेवन गर्नुपर्ने बिरामी धेरै नै भए पनि ६ महिना भन्दा बढी औषधी नदिनु भनी केन्द्रले नै औषधी रोकिदिएकाले समस्या आएको काठमाडौ महानगरपालिका १० बानेश्वरस्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिककी प्रमुख शान्ता ढुंगेलले बताइन् ।
यसअघिका वर्षहरुमा चिकित्सकको सल्लाहअनुसार क्षयरोगको औषधी वितरण गर्ने गरिएकोमा अहिले चिकित्सककै सल्लाहमा थप समय औषधी खानुपर्नेलाई पनि थप औषधी नदिन निर्देशन आएको ढुंगेलले बताइन् ।
रोग निको नहुञ्जेलसम्म औषधी दिनुपर्नेमा ६ महिनाका लागि मात्रै औषधी दिने सरकारी नीति नै भएकाले नै ६ महिना भन्दा बढी समय औषधी दिन रोक लगाइएको राष्ट्रिय क्षयरोग तथा कुष्टरोग केन्द्र टेकुका अधिकृत चित्रजंग शाही बताउँछन् ।
सरकारको उद्देश्य सर्ने रोगबाट नसर्ने रोग बनाउने मात्रै रहेकाले चिकित्सकको सल्लाहअनुसार औषधी वितरण गर्न नसकिएको शाहीले बताए ।
क्षयरोगको औषधी कति समयसम्म खुवाउनुपर्छ भन्नेमा चिकित्सकहरुमै एकरुपता नभएकाले समस्या उत्पन्न भएको उनले बताए । ‘काठमाडौ उपत्यका बाहिरका जिल्लाहरुमा ६ महिनामै रोग पूर्णरुपमा निको हुने तर राजधानीमा भने १८ महिनासम्म पनि औषधी खान सल्लाह दिन्छन्’-उनले भने ।
सिभिल सर्भिस हस्पिटलका चिकित्सक डा. दीेपेश शाक्य भने सवै क्षयरोगका विरामीलाई ६ महिनाको औषधीले मात्रै रोग पूर्ण रुपमा निको नहुने भएकाले नै आफूहरुले ६ महिनाभन्दा बढी समयसम्म औषधी सेवन गर्ने सुझाव दिने गरेको बताउँछन् ।
काठमाडौ महानगरपालिकाअन्तर्गत २७ वटा सामुदायिक सहरी स्वास्थ्य क्लिनिकहरु सञ्चालनमा छन् । काठमाडौमा मात्रै क्षयरोगीलाई औषधी वितरणका लागि स्थापना भएका १ सय २५ वटा डट्स केन्द्रमध्ये एक सय १५ वटा केन्द्र सञ्चालित छन् । तीमध्ये काठमाडौ महानगरपालिकामा मात्रै २७ वटा सामुदायिक सामुदायिक स्वास्थ्य केन्द्रहरु सञ्चालित छन् ।
गएको चार महिनाको अवधिमा मात्रै काठमाडौ जिल्लामा एक हजार ६ सय ७७ जना क्षयरोगका विरामीहरु रहेकोमा चार सय ५५ जना सर्नेखालको क्षयरोगका बिरामी रहेका छन् ।
क्षयरोगका बिरामीहरुका लागि ‘राफाम्पीसीन एण्ड आइसोनाइज्ड’ नामक औषधी सरकारले डट्स केन्द्रहरुमार्फत निःशुल्क वितरण गर्ने गरेको छ ।
एकपटक औषधी पूरा नखाई बीचमै छोडेका बिरामीले फेरि औषधि खाँदा उसको शरीरभित्र रहेका क्षयरोगका कीटाणुले औषधिलाई पचाउने शक्ति (ड्रग रेजिस्ट्रेन्स) को विकास गरिरहने भएकाले औषधी नियमित खानुपर्ने चिकित्सकको भनाइ छ ।
निजी क्षेत्रका स्वास्थ्य संस्थामार्फत औषधि सेवन गरिरहेका बिरामीको ठूलो संख्याले बीचमै औषधि खान छोड्ने गरेको कारण बहु औषधी प्रतिरोध क्षयरोग (एमडीआर टीबी) को संक्रमण बढिरहेको विज्ञहरु बताउँछन् ।
राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका अनुसार नेपालमा ४५ हजार क्षयरोगी छन् । तीमध्ये ३६ हजारको यकिन भए पनि नौ हजार बिरामीको बारेमा सरकारलाई नै थाहा नभएको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. राजेन्द्रप्रसाद पन्तले बताए ।
प्रतिक्रिया 4