नविन अर्याल
१२ असोज, काठमाडौं । सरकारले राजधानीलगायत देशका विभिन्न स्थानमा सञ्चालन गरेको सुपथ मूल्य पसलप्रति उपभोक्ताले असन्तुष्टि पोखेका छन् । सुपथ मूल्य पसल भनिएता पनि बाहिर भन्दा खासै सस्तो नभएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाएका हुन् ।
वत्तीसपुतलीबाट रामशाहपथस्थित नेशनल ट्रेडिङ परिसरमा राखिएको सुपथ मूल्य पसलमा आएकी शोभा थापाले बाहिर र यहाँको भाउमा खासै फरक नपाएको बताइन् । कतिपय वस्तुहरुको भाउ बाहिरभन्दा सहुलियत पसलमा महंगो पाएको उनको भनाइ छ ।
‘रहरको दाल र चिउराको भाउ बाहिर र सहुलियत पसलमा बराबर रहेछ, मसुरोको दाल बाहिर भन्दा ३ रुपैयाँ बढी रहेछ’ थापाले अनलाइनखबरसँग भनिन्- ‘सहुलियत पसलमा नुनबाहेक सबै वस्तुको भाउ बाहिरकै जस्तो पाइयो ।’
सहुलियत पसलमा भेटिएका अधिकांश उपभोक्ताले घुम्दै फिर्दै यहाँ आइपुगेको बताए । बजार पनि हेरौं, सस्तो रहेछ भने किनमेल पनि गरौंला भन्दै सहुलियत पसलमा आएको सुमन विष्टले बताए ।
विष्ट पुरानो बानेश्वबाट रामशाहपथस्थित सहुलियत पसलमा आएका हुन् ।
सरकारले चाडपर्वको बेलामा उपभोक्ताले थोरै भए पनि राहत पाउन् भन्ने उद्देश्यले विगतका वर्षदेखि नै यस्तो पसल सञ्चालन गर्दै आएको छ ।
यसपटक पनि नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान, नेशनल ट्रेडिङ र दुग्ध विकास संस्थाले विभिन्न स्थानमा यस्ता सुपथ मूल्यका पसल सञ्चालन गरेका छन् ।
सहुलियत पसल घुमिसकेपछि घट्टेकुलोकी रामकला घिमिरेले सरकारले भनेजस्तो सहुलियत पसल नभएको दुखेसो पोखिन् ।
‘यहाँ दिइएको २/४ रुपैयाँ छुटले आते-जाते खर्च पनि नपुग्ने रहेछ’ उनले भनिन- ‘सरकारले त सहुलियत पसल सञ्चालन गरेर उपभोक्तालाई राहत दिएको भन्दै ठूलो कुरा गरिरहेको छ ।’
सुपथ मूल्य पसल भेटिएकी बबहरमहलकी धनकुमारी आचार्यले दिन कटाउन आएको बताइन् । किनमेल गर्ने भनेर घरबाट नआएको बताउँदै उनले यसो सस्तो पाइहालेमा किनिहाल्ने मनसायले आएको बताइन् ।
‘हामी बुढाबुढी घरमा बसेर समय विताउन पनि कठिन हुन्छ, यसो हिँडडुल गर्यो भने फुर्तिलो भइन्छ भनेर यहाँ आएकी हुँ’ आचार्यले भनिन्- ‘हाम्रो काम नै अब दिन कटाउने काल पर्खने हो ।’
‘घरमा बसेको भए यतिका मान्छे कहाँ देखिन्थ्यो, यस्तो रमाइलो कहाँ हुन्थ्यो’ आचार्यले प्रतिप्रश्न गर्दै भनिन्- ‘यहाँ आएपछि चिनी किनेर लैजाउँ भनेर लाइनमा बसेकी छु ।
घट्टेकुलोबाट आएकी सिर्जन घिमिरेले पनि सुपथ मूल्य पसल खासै सस्तो नभएको गुनासो गरिन् । दाल र चिनी खरिद गर्न आएको बताउँदै उनले दालको भाउ बाहिर र यहाँ उस्तै उस्तै भएको दाबी गरिन् ।
भद्रकालीका पुन्यप्रसाद गुरागाईंले घुम्दै जाउँ सस्तो भए किनौंला भनेर आए पनि खासै सस्तो नपाएपछि रित्तै फर्किन लागेको बताए । सरकारले भनेजस्तो सुपथ मूल्य पसल सस्तो नभएको दाबी गर्दै उनले आफु सुपथ मूल्य पसलबाट सन्तुष्ट नभएको बताए ।
त्यस्तै, बागबजारका हरिगोपाल पनि सुपथ मूल्य पसलमा जति मूल्यमा बाहिर पनि समान खरिद गर्न सकिने बताए । उनले सुपथ मूल्य पसलमा घुम्न र हेर्न मात्र आएको जानकारी दिए ।
सरकारी दाबी
साल्ट ट्रेडिङका जनार्दन ढुंगाना भने सुपथ मूल्य पसमा उपभोक्ताको आकर्षण बढ्दै गएको बताए ।
सुपथ मूल्य पसलमा आउने अधिकांश उपभोक्ता मध्यमवर्गीय परिवारका भएको जानकारी दिँदै उनले चिनी र नुनमा उपभोक्ताको आकर्षण देखिएको बताए ।
सुपथ मूल्य पसलमा आउने उपभोक्ता खासगरी एउटै हुने गरेको ढुंगानाको अनुभव छ ।
‘विगत ७ वर्षदेखि परिचित अनुहार नै सुपथ मूल्य पसलमा आएको दखिन्छ’ उनले भने- ‘एकपटक आएको उपभोक्ता दोहोर्याएर आएको पाइयो ।’
रोकिएन कालोबजारी
सरकारले चाडपर्वका बेलामा व्यापारी वर्गबाट हुन सक्ने कालोबजारी रोक्न र उपभोक्तालाई सहुलियत दिन यस्तो पसल सञ्चालन गर्दैै आएको बताउने गरेको छ । विगतका वर्षहरुमा दसैं-तिहारका बेलामा व्यापक कालोबजारी हुने गरेको थियो ।
सुपथ मूल्य पसल सीमित ठाउँमा भएको हुँदा यस वर्ष पनि कालाबजारी नरोकिने बताउँछन् उपभोक्तावादी नेता प्रेमलाल महर्जन ।
‘सरकारले सञ्चालन गरेका सुपथ मूल्य पसलले सिमित भौगोलिक क्षेत्रका केही प्रतिशत उपभोक्तालाई मात्र राहत दिनेछ’ उनले भने- ‘अधिकांश उपभोक्ता त महंगीकै मारमा परिहाल्छन् ।’
प्रतिक्रिया 4