१२ असोज, काठमाडौं । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधानका विवादित विषयहरुमा संविधानसभा र संवैधानिक राजनीतिक सम्वाद समितिले कुनै काम नगरेको दावी गरेका छन् ।

पुरानै संविधानसभाका विषयहरुलाई सहमति भयो भनेर प्रचार गर्ने गरेको भन्दै उनले संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीको विषयमा अहिलेसम्म कुनै छलफल हुन नसकेको बताए ।
रिपोर्टर्स क्लब नेपालले आईतवार गरेको साक्षात्कारमा सम्वाद समितिका सदस्य समेत रहेका यादवले भने-विवादित विषयमहरुमा कुनै छलफल हुन सकेको छैन । यथास्थितिमा माघ ८ गते कुनै पनि हालतमा नयाँ संविधान आउन सक्दैन ।’
सहमति जुटाउनु पर्ने नेताहरु विदेशमा रहेको र सम्वाद समितिमा नेताहरुको न्यून उपस्थिति हुने गरेको भन्दै उनले कसरी छलफल हुन्छ भनी प्रश्न गरे ।
प्रक्रियामा गए सडकबाटै संविधान
यादवले कांग्रेस र एमालेले सहमति नगरी प्रक्रियाबाट संविधान जारी गरे स्वीकार्य नहुने बताए । त्यस्तो अवस्थामा संविधानसभा छाडेर सडक आन्दोलनमार्फत नयाँ संविधान घोषणा गर्ने उनको चेतावनी छ ।
राज्य पुनःसंरचनाको बटमलाइनमा तलमाथि नहुने र संघीयतासहितको संविधान चाहिने स्पष्ट पार्दै यादवले उत्तरदक्षीण संघीयताको कुरा उठाएर ठूला दलहरु संघीयताबाट भाग्न खोजेको आरोप लगाए ।
सीके राउतलाई समर्थन छैन
डा. सीके राउतले उठाएको मुद्दा असान्दर्भिक भएको भन्दै उनले आफूहरुको समर्थन नरहेको फारेम अध्यक्ष यादवले बताए ।
तर, सरकारले राउतलाई पक्राउ गरेर राउतलाई हिरो बनाउने प्रयास गरेको भन्दै उनले पक्राउ र राउतको दुबै मुद्दामा आफूहरुको लागि स्वीकार्य नभएको बताए ।
प्रतिक्रिया 4