२४ फागुन, विर्तामोड । झापाको शिवसताक्षी नगरपालिका ७ दुधेबजारका युवा व्यवसायी रामप्रसाद मैनाली शनिवार साँझदेखि वेपत्ता भएका छन् । सुनचाँदी व्यवसायी तथा झिलझिले बजारस्थित सुलभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मैनाली सुरुङ्गाबाट बेपत्ता भएका हुन् ।
- शनिबारदेखि वेपत्ता रामप्रसाद मैनाली । तस्वीर : फेसबुक
मैनालीका दाजु डम्बरले दिएको जानकारी अनुसार बिर्तामोडमा जग्गा सम्बन्धि विवाद मिलाउन छ भनेर उनी शनिबार घरबाट निस्किए थिए । साँझ अबेरसम्म घर नआएपछि आफन्त र अन्य साथिभाईहरुको सहयोगमा खोजी गर्दा आइतबार बिहान सुरुङ्गाबजारस्थित व्यवसायी लिला चिमोरियाको पसल अघि पार्किङ गरेको अवस्थामा उनको कार र मोवाईल फेला परेको थियो ।
बा ८ च ८०७७ नम्बरको रातो कार र ९८५२६७०४८५ नम्बर भएको मोवाइल फेला परेपछि अपहरणमा परेको आशंकामा प्रहरीलाई खबर गरेको डम्बरले बताए । डम्बरसहित परिवारका सदस्यहरुले भाई रामप्रसादको सकुशल रिहाई तथा उद्धारको माग गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका छन् ।
कार्यालयका प्रहरी निरीक्षक बिनोद निरौलाले घटना गम्भिर प्रकृतिको भएकोले अनुसन्धान अघि बढिरहेको जानकारी गराए ।
त्यसैगरी इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी संजयबहादुर राहुतले अपहरण भएको हुन सक्ने अनुमान गरे । पहिलो चरणमा उनका नजिकका साथि र आफन्तहरुसंग सोधपुछ गरिसकेको र अन्य शंकास्पद व्यक्तिहरुसंग समेत सोधपुछ गरिरहेको उनले जानकारी दिए ।
– कमल प्रसाईंबाट
प्रतिक्रिया 4