१८ वैशाख, काठमाडौं । नेपालमा भूकम्प आएको थाहा पाएपछि दिल्लीको गुरुद्वारा शिख प्रवन्धक कमिटीले हतार-हतार खानाका प्याकेट तयार पार्यो ।
भारतीय एयरफोर्सको विमानमार्फत् २५ हजार प्याकेट त्रिभुवन विमानस्थलमा झारियो । तर, दिल्लीबाट ल्याइएको पीरो तरकारी र पराठा नेपालीलाई त्यति रुचिकर लागेन ।
शिख समुदायले दिल्लीबाट पठाएको पराठा-तरकारीका पोकाहरु नेपाली सेनाको पहलमा गोरखामा पुर्याएर बाँडिएको थियो ।
नेपालीहरुलाई दाल भात तरकारी नै मनपर्छ भन्ने जानकारी पाएपछि गुरुद्वाराका शिखहरुले काठमाडौंमा तयारी खानाका पोका पठाउन बन्द गरे । त्यसको साटो १६ जना भान्छेलाई नै काठमाडौंमा उतारियो र निशुल्क खानाको प्रवन्ध गरियो ।
‘हामीले अहिले काठमाडौंको खोकना र साँघुमा भूकम्प पीडितलाई निशुल्क खाना खुवाइरहेका छौं’ शिख समुदायका रवि सिंहले अनलाइनखबरसँग भने,’खोकनामा ९ हजार पीडितले दैनिक खाना खाइरहनुभएको छ भने साँखुमा १५ हजारले निशुल्क खाना खाइरहनुभएको छ ।’
सिंहका अनुसार दिल्लीबाट झिकाइएका १६ जना शिद्धहस्त भान्छेहरुले २४ हजारलाई खाना खुवाइरहेका छन् । ८ जना साँखुमा र ८ जना खोकनामा खाना पकाउन खटिएको र थप कुक म्यानहरु झिकाउन लागिएको सिंहले बताए ।
यसैवीच दिल्ली शिख प्रवन्धक कमिटीका अध्यक्ष मञ्जित सिंह पनि पीडितको सहयोगका लागि काठमाडौं आउन लागेको सिंहले बताए ।
शिख समुदायले पीडितलाई खाना खुवाउने भनेपछि खोकना र साँखुमा खाना पकाउने प्रवन्ध प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले मिलाइदिएको स्रोतले अनलाइनखरलाई बतायो ।
प्रतिक्रिया 4