३२ जेठ, सुर्खेत । भविष्यमा ठूलो मान्छे बन्ने सपना बोकेका सुर्खेत हरिहरपुर, तरंगा र तातापानीका विद्यार्थी ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन्। बाढीले भेरी नदीको पुल बगाएपछि स्कुल पुग्न हरेक दिन काठको डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ उनीहरूलाई।
गत वर्ष साउनमा भेरीमा आएको बाढीले बगाएका झोलुंगेपुल अर्को साउन आउन लाग्दा पनि बनेका छैनन्। त्यसैले त्यहाँका विद्यार्थी ज्यान जोखिममा राखेर हरेक दिन भेरीमा डुंगा चढेर स्कुल आवतजावत गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
स्कुलसम्म पुग्न नदीमा पुल नहुँदा उनीहरूसँग काठको डुंगा चढ्नुबाहेक अर्को विकल्प पनि छैन। हरिहरपुरको डोप्का, सिस्नेरी, थापाडेरा र गिरीघाटबाट विद्यालय जान भेरी नदी पार गर्नुपर्छ। यस क्षेत्रमा बाढीबाट विस्थापित परिवारका शिविर पनि छन्।
भेरी माविमा पुग्न नदीमा पुल छैन। बालबालिका आफैं काठको डुंगा खियाउँदै नदी तरेर विद्यालय जान्छन्, घर फर्कन्छन्। न त तुइन छ, न त पुल नै। प्राविसम्म गाउँमै रहेको विद्यालयमा पढेका उनीहरू माध्यमिक तह अध्ययनका लागि बिहान र बेलुका नदीमा डुंगा खियाउन बाध्य छन्।
भेरी माविमा हरेक दिन डुंगाबाट नदी तरेर ७० जनाभन्दा बढी विद्यार्थी पुग्ने गरेका छन्। पश्चिमको तरंगा र तातापानीका विद्यार्थी पनि डुंगामै विद्यालय पुग्छन्। त्यहाँ रहेको पुल पनि बाढीले बगाएको थियो।
यतिबेला भेरी नदीमा बिस्तारै पानीको सतह बढ्न थालेको छ। वर्षाको मौसम सुरु हुन थालेपछि विद्यार्थीलाई अब कसरी विद्यालयसम्म पुग्ने भन्ने चिन्ताले सताउन थालेको छ। भेरी माविका प्रधानाध्यापक रत्नबहादुर बूढा वर्षाको समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन्।
वर्षाको समयमा भेरीमा काठको डुंगा चलाउन कठिन हुने उल्लेख गर्दै बूढाले भने, ‘भेरीमा पानी बढेपछि विद्यार्थी स्कुल आउन सक्ने अवस्था हुँदैन।
यस्तो बेलामा हामीले विद्यालय खोलेरमात्र के गर्ने? नदीमा पुल नहुँदा विद्यार्थीको पढाइ बिग्रिने भयो। नदीमा पानी बढेपछि विद्यार्थी डुंगा खियाएर स्कुल आउन सक्ने सम्भावना रहन्नँ।’
विद्यार्थीसँगै शिक्षक पनि ज्यान जोखिममा राखेर विद्यालय पुग्नुपर्ने बाध्यता आइलागेको तर पुल बनाउनेतर्फ कसैले चासो नदिएको गुनासो प्रअ बूढाको छ। उनले भने, ‘त्यति धेरै विद्यार्थीलाई छात्रबासमा राख्ने सम्भावना पनि छैन।’
जिल्ला शिक्षा कार्यालय सुर्खेतले समेत बाढीले बगाएका भेरीका पुल नबनाइँदा हरिहरपुर र तरंगाका विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएको स्वीकारेको छ।
बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्न त्यहाँका विद्यार्थीले ज्यान जोखिममा राख्नुपरेको जिल्ला शिक्षा अधिकारी दीपा हमालले बताइन्।
प्रतिक्रिया 4