९ साउन, काठमाडौं । बढुवा निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले नेपाल प्रहरीमा बढुवामाथि उजुरी गर्न पाइने प्रावधान राखिए पनि उजुरी पर्न छाडेका छन् । उजुरी गरेपछि पनि बढुवा सूची संशोधन नहुने र उल्टो कारबाहीमा परिने डरले प्रहरीले उजुरी गर्न छाडेका छन् । हालै भएका प्रहरी बढुवामा कुनै पनि उजुरी परेका छैनन् ।
नेपाल प्रहरी ऐन, ०७१ को दफा ४२ मा बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र पुनरावलोकन समितिउपर उजुरी गर्न सकिने प्रावधान राखिएको छ । तर, प्रमाणसहित उजुरी नगरे नम्बर घटाइने प्रावधानपछि संशोधन गरेर थपिएको थियो । जसका कारण बढुवाउपर उजुरी पर्न छाडेको नयाँ पत्रिकामा खबर छ ।
‘बढुवामा अन्याय भएको छ, तर उजुरी गर्दा पनि केही हुन्न,’ ज्येष्ठ भएर पनि डिएसपी बढुवामा छुटेका एक अधिकारी भन्छन्, ‘यसले सोझा र इमानदारहरूलाई झन्–झन् अन्याय हुँदै गएको छ ।’ गत वर्षको एआइजी बढुवाको सिफारिस लोकसेवा आयोग अध्यक्ष नेतृत्वको पुनरावेदन समितिले उल्ट्याएपछि गृहमन्त्री वामदेव गौतमले प्रहरी नियमावली नै संशोधन गरेर पुनरावेदन समितिले बढुवा समितिले दिएको नम्बर जोड्न मात्र सक्ने तर संशोधन गर्न नसक्ने प्रावधान थपेका थिए । उजुरी प्रमाणित हुन नसके कार्यसम्पादन मूल्यांकन नम्बरसमेत घटाउने प्रावधान राखेर उजुरी गर्न निरुत्साहित गरिएको थियो ।
बढुवा सिफारिसमा कसैको उजुरी नपरेपछि गृह मन्त्रालयले बिहीबार डिआइजी र एसएसपीमा तथा शुक्रबार एसपी र डिएसपीमा बढुवाको निर्णय गरेको छ । बिहीबार गृहले डिआइजीमा सुदीप आचार्य तथा एसएसपी विनोद शर्मा घिमिरेलाई बढुवा गरेको छ । त्यस्तै शुक्रबार एसपी र डिएसपीमा बढुवाको निर्णय भएको छ । एसपीमा बढुवा हुनेमा दीपक थापा, पवन गिरी र अर्जुन चन्द ठकुरी छन् ।
गृहले शुक्रबार नै १५ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्ने निर्णय गरेको छ । राजन भुजेल, नरेन्द्र चन्द, गोविन्दराज काफ्ले, प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु अलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे डिएसपीमा बढुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नौ सय ४७ प्रहरी जवानलाई हवल्दारमा बढुवा सिफारिस गरेको छ ।
प्रतिक्रिया 4