२८ साउन, काठमाडौं । संघिय नेपालको दोस्रो प्रदेशमा परेको वीरगञ्ज भन्सार कार्यालयबाट कुल राजश्वमध्ये ५० प्रतिशतभन्दा बढी संकलन हुने गरेको छ । भारतीय रेल सेवा र कलकत्ता सुख्खा बन्दरगाहसँग नजिक रहेको वीरगञ्जबाट नेपालमा सबैभन्दा बढी समान आयात हुने गर्छ ।
भर्खरै सम्पन्न आर्थिक वर्ष २०७१/०७२ मा एक खर्ब ७६ अर्ब ११ करोड रुपैयाँ राजश्व उठेको भन्सार विभागको प्रारम्भिक अनुमान छ । यसमध्ये ८९ अर्ब ९६ करोड रुपैयाँ वीरगञ्ज भन्सारबाट मात्र असुल भएको छ ।
अघिल्लो आर्थिक वर्षमा एक खर्ब ५८ अर्ब रुपैयाँ राजश्व उठेको थियो । जसमध्ये वीरगञ्जबाट मात्र ७७ अर्ब ८४ करोड रुपैयाँ भन्सार असुल भएको थियो । यो तथ्यांकले कुल भन्सार राजश्वको ५० प्रतिशत रकम वीरगञ्जबाट उठ्ने स्पष्ट पार्छ ।
वीरगञ्ज भन्सारबाट भारत तथा तेस्रो मुलुकबाट समान आयात हुने गर्छ । चीनबाहेक अन्य तेस्रो मुलुकबाट नेपाल भित्रिने अधिकांश समान कलकत्ता सुख्खा बन्दरगाह हुँदै बीरगञ्जको बाटो भएर नेपाल आइपुग्छ ।
चिनियाँ सामान सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी लगायतका नाका हुँदै नेपाल आउने गर्छ । केही परिमाणमा चिनियाँ समान भारतको कलकत्ता सुख्खा बन्दरगाह हुँदै नेपाल आउने गरेको व्यवसायी बताउँछन् ।
गत आर्थिक वर्षमा भैरहवा भन्सार कार्यालयबाट २५ अर्ब ८२ करोड रुपैयाँ भन्सार राजश्व असुल भएको बताइएको छ ।
जुन रकम अघिल्लो वर्षको तुलनामा साढे तीन अर्ब रुपैयाँले बढी हो । अघिल्लो वर्ष २२ अर्ब ३४ करोड रुपैयाँ भैरहवाबाट उठेको थियो ।
विराटनगर भन्सार कार्यालयबाट २७ अर्ब रुपैयाँ भन्सार राजश्व उठेको विभागले जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ११ अर्ब रुपैयाँले बढी हो । त्यस्तै, त्रिभुवन विमानस्थल कार्यालयबाट १० अर्ब ६७ करोड, सुख्खा बन्दरगाहबाट १५ अर्ब ७३ करोड रुपैयाँ राजश्व असुली भएको छ ।
यस वर्ष चीनसँग जोडिएको तातोपानी भन्सार कार्यालयको राजस्व ४७ प्रतिशतले घटेको छ । विनाशकारी भूकम्पपछि तातोपानी नाका ठप्पजस्तै छ । यहाँबाट २ अर्ब ६७ करोड रुपैयाँमात्र राजश्व असुल भएको विभागले जनाएको छ । यस्तै, सबैभन्दा कम राजश्व कोइलाबास भन्सारबाट एक लाख ५८ हजार रुपैयाँमात्र उठेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि त्यसको प्रभाव भन्सारमा परेको छ । पेट्रोलियम पदार्थको भन्सार राजश्व अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत कम २५ अर्ब ६४ करोड रुपैयाँ असुल भएको छ ।
आठ खर्बको समान भित्रियो
गत वर्ष छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकबाट ८ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरको समान भित्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत बढी हो ।
तर, निर्यात भने खस्किएर ८४ अर्ब ८३ करोड रुपैयाँमा सिमित हुन पुगेको छ । अघिल्लो वर्ष ८९ अर्ब रुपैयाँ बराबरको समान निर्यात भएको थियो ।
प्रतिक्रिया 4