गौतम श्रेष्ठ
१८ भदौ, गौर । रौतहटको श्रीराम सुगर मिल्स महमदपुर गरुडामा हतियारधारी समूहले चार वटा सवारी साधनमा आगजनी गरेको छ । हतियारसहित आएको समूहले चिनी मिलको हाता भित्र राखिएको चारवटा गाडीमा आगो लगाएको प्रहरीले जनाएको छ ।
आगजनीका कारण ना २ च ६५०१ नम्बरको बोलेरो जिप, बा १० च ५०३८ नम्बरको स्कारपियो, को १ च ७१९६ नम्बरको कार र बा २९ प ५७२३ नम्बरको पल्सर मोटरसाइकल क्षतिग्रस्त भएको छ ।
गएराति १२ बजे मिलको पछाडिपट्टीको भागबाट प्रवेश गरेको अज्ञात समूहले मिलका सुरक्षा गार्डहरु खेलप्रसाद फु्याल र डोर प्रसादलाई हतियार देखाएर नियन्त्रणमा लिएपछि आगजनी गरेको थियो । गार्डलाई होहल्ला गरे मार्ने धम्की दिएपछि अज्ञात समूहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक सन्तु जयसवारले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको र आगजनी गर्ने समूहको खोजी कार्य शुरु गरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । केही महिना अघि सो मिलमा रोकि राखिएका दुई वटा गाडीमा आगजनी भएको थियो ।
सप्तरीमा यात्रु बस जलाइयो
यसैबीच सप्तरीको भारदहमा प्रहरी स्कोटिङमा रहेको यात्रुबाहक बसमा आगजनी भएको छ । बिहीबार राति ना ४ ख ४२६६ नम्बरको बसमा आगजनी भएको हो । बसमा प्रदर्शनकारीले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगजनी भएको बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया 4