+
+

ठुलै निजी बैंकले नेपाल बैंकसँग मर्जरको प्रस्ताव गरे (अन्तर्वार्ता)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २२ गते ९:४०

नेपाल बैंकका सेयरधनीले लाभांस नपाएको १७ वर्ष भयो । बैंकको वित्तीय स्वास्थ्य विग्रँदै गएपछि नियामक नेपाल राष्ट्र बैंकले २०५८ चैत १ गते हस्तक्षेप गरी विदेशी विज्ञहरुको सहयोगमा व्यवस्थापन सम्हालेर सुधार सुरु गर्‍यो । ०७१ मंसिर २८ सेयरधनीलाई बैंक सुम्पिएर राष्ट्र बैंक फिर्ता गइसकेको छ । तर, सेयरधनीले लाभांस पाउन भने अझै केही वर्ष पर्खिनु पर्ने छ । वासलातमा नाफा देखिएपनि बैंक अझै २ अर्ब ५७ करोडले नोक्सानमा भएका कारण बैंक तत्काल लाभांस बााड्न सक्ने अवस्थामा छैन । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड छ । ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुाजी ८ अर्ब रुपैयाँ पुर्‍याउन राष्ट्र बैंकको निर्देशन छ । हकप्रद सेयर जारी गरी चुक्ता पुँजी बढाउने योजना रहेको बैंकका सीइओ बताउँछन् । खुल्ला प्रतिस्पर्धाबाट छनोट भर्इ गत चैतदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतकोरूपमा कार्यरत देवेन्द्र प्रताप शाहसँग अनलाइनखबरले विगत, वर्तमान र भावी योजनामा केन्द्रित रहेर गरेको कुराकानी :

nepal bank ceo (1)

हालैमात्र राष्ट्र बैंक नेपाल बैंकको व्यवस्थापनबाट बाहिर निस्किएको छ । बिग्रिएको बैंकलाई सुधार गर्ने उद्देष्य लिएर राष्ट्र बैंक आएको थियो । के कति सुधार भएको रहेछ त ?

राष्ट्र बैंकले लिएको भनिएको विगत १३ वर्षमा ५ बर्ष यो बैंकको व्यवस्थापन विदेशीले पनि चलाएका थिए । त्यस पछिको अवधिमा भने राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापन रहेको हो । सुधार गर्ने क्रममा विदेशी व्यवस्थापनले यो बैंकलाई सानो (डाउनसाइज) बनायो । बैंक सुधारका दुई तरिका हुन्छन् । एक, बैंकको व्यवसायलाई संकुचन गर्ने, विद्यमान समस्यालाई घटाउँदै लाने । व्यवसाय विस्तार गर्दा उनीहरुको विचारमा समस्या अझै थपिन्छ । यसलाई संकुचनकारी सुधार भनिन्छ । दोश्रो हो, विस्तारकारी सुधार । यस अन्तरगत व्यापार व्यवसाय विस्तार र समस्या घटाउने काम सँगसँगै लाने  । नेपाल बैंकमा सुधारको पहिलो तरिका अपनाइयो र कुनै बेला देशकै सबैभन्दा ठुलो बैंक आज सरकारी क्षेत्रको सबैभन्दा सानो वाणिज्य बैंक भयो । तैपनि यसका समस्याहरु समाप्त भइसकेका छैनन् ।

के त्यसो भए राष्ट्र बैंकले विदेशीलाई बैंक व्यवस्थापनको जिम्मा दिनु नै गलत थियो त ?

त्यसो भन्ने समय यो हैन, भनेर फाइदा पनि छैन । विदेशीले राम्रो काम पनि गरेका छन् । कर्जाको गुणात्मकतामा महत्वपूर्ण सुधार आएको छ । प्रोजेक्टको मूल्यांकन गर्ने शीप पनि बढेको पाएँ । धितोमात्र हेरेर ऋण प्रवाह गर्ने नेपाली बैंकहरुको कार्यशैलीलाई नेपाल बैंकले मान्दैन । व्यापार वा व्यवसाय गर्नेको पहिचान गर्ने क्षमता पनि बढेको छ । कर्मचारी र शाखा संख्या घटेको छ । समस्याग्रष्त कर्जा असुलीमा बढी जोड दिइएको पाएँ । व्यवसाय विस्तार चाहिँ भएन, तर विदेशीले बैंकलाई छाड्दा बैंकको अवस्थामा पुरै सुधार भएको थिएन ।

वैदेशिक व्यवस्थापनपछि राष्ट्र बैंकले प्रत्यक्ष व्यवस्थापन गरेको हो, उसले के गर्‍यो त ?

विदेशी गइसकेपछि राष्ट्र बैंकले यसलाई सुधार्न इमान्दारीपूर्ण प्रयास गरेको देखिन्छ । यही समयमा बैंकको पूँजी बढ्यो । तैपनि पूर्ण सुधार नभइसकेको पनि सत्य हो । वासलातको ऋणात्मक सञ्चितकोषलाई धनात्मक नबनाएसम्म पहिलो चरणको सुधारको यो अभियान सकिँदैन् ।

यो सकिएपछि दोश्रो चरणको सुधार पनि हुन्छ ?

हुन्छ, सुधारको क्रम कहिले सकिन्छ र ? नाफा बढाउने, ठुलो बैंक हुने अभिलाषा राख्ने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने काममा महत्वपूर्ण योगदान दिने काम पनि सकिन्छ र ?

अनि अहिलेको सुधारको लागि के गर्दै हुनुहुन्छ त ?

हाम्रो अहिलेको प्रयास यस बैंकको पुजीँ राष्ट्र बैंकले तोके अनुसार पुर्‍याउनुमा छ । यसो गर्दा रिजर्भ पनि पोजिटिभ हुने बाटो खुल्छ । राष्ट्र बैंकले हाम्रो पूँजी कुल भारित सम्पतीको जम्मा १० प्रतिशत र प्राथमिक पूँजी ६ प्रतिशत हुन पर्ने बताएको छ ।

पूँजी बढाउनु ठिक हो, समयानुकुल पनि छ । अब देशले संबिधान बनाएर विकासका ठुला ठुला काम गर्न पर्ने बेलामा बलिया बैंकहरुको जरुरी छ । बीचका दुई चार जनाको कुरा सुनेर राज्य वा संसदले पुँजी विस्तारको योजनालाई उल्टाउन हुन्न ।

अहिले नेपाल बैंकको पूँजी कुल भारित सम्पतीको कति प्रतिशत छ र राष्ट्र बैंकले तोकेको प्रतिशत कहिलेसम्ममा पुर्‍याउने योजना छ?

यस बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मैले सम्हाल्दा (२०७२ चैत्र) यस बैंकको प्राथमिक पुँजी ४.१८ प्रतिशत र कुल पुँजी ४.५८ प्रतिशत थियो । कुनै बैंकको लागि यो निकै नाजुक अवस्था हो । तर आसारसम्म आइपुग्दा पुँजीको अनुपात ७.८ प्रतिशत पुगेको छ । यो निश्चय नै चानचुने प्रगती हैन । अब यस बर्षको अन्त्यसम्ममा पुँजीको यो अनुपातलाई १० प्रतिशत पुर्‍याउँनु पर्छ । यसको लागि हामीसँग भएको जग्गा र सयर बेच्ने योजना छ ।

जग्गा र सयर जस्ता सम्पती बिक्री गर्नु ठीक हो र ?

ठिक हो, सम्पती दुःखको बेलामा उपयोगगर्ने चिज हो, संगालेर राख्नको लागि मात्र हैन । दुःखमा काम नलाग्ने सम्पतीको के अर्थ ? दुनियाँका विकसित मुलुकका बैंकहरुले नाफा घटेको वा नोक्सान भएको वर्षमा सम्पति बेच्छन् । नियमन निकायले तोकेको पुँजी नै नपुर्‍याई सम्पती ओगटेर बस्नुको औचित्य कसरी सावित गर्ने ? त्यसैले सेयर र जग्गा गरेर ३ अर्बभन्दा बढीको सम्पती बेच्ने योजना छ । म आउनु अघि नै बैंकको संचालक समितिले गरेको निर्णय हो यो, मेरो निर्णय हैन ।

सेयर र जग्गा बेच्दा बिक्री गर्दा अपनाइने प्रकृया त पारदर्शी त होला नि, हैन ?

एकदम पारर्दर्शी हुन्छ । विवाद हुने गरी बेच्न हुँदैन पनि । यी सम्पतीहरु सकभर सरकारी निकायले नै किनोस भन्ने हाम्रो चाहना छ । केही त्यस्ता निकायहरुले आफ्नो मनसाय पनि व्यक्त गरिसकेका छन्, नागरिक लगानी कोषले, हामीसँग भएका दुईवटा बीमा कम्पनी, तारा गाउँ होटेलको सयर किन्ने बताएरपत्र पठाएको छ । संचय कोष र राष्ट्रिय वाणिज्य बैंकले पनि यी शेयरहरु किन्ने इच्छा अनौपचारिक रुपमा जाहेर गरेको छ । सरकारी निकायसँग कथं कदाचित मूल्यमा कुरा मिलेन भने टेण्डरबाट बिक्री गर्छौँ । जसले बढी मोल दिन्छ, उसैले पाउँछ ।

nepal bank ceo (3)

प्रसङ्ग बदलौँ, तपाईले बैंक सम्हालेको पनि करिब ५ महिना भएको छ । यस अबधिमा के कस्तो काम गर्नु भो ? के कस्तो समस्या पाउनुभो बैंकमा ?

मेरो विचारमा ५ महिनालामो अबधि हैन, तर समस्या बुझ्न भने पर्याप्त समय हो । यो अबधिमा बैंक, मान्छे र यसका समस्याहरुलाई बुझ्ने प्रयास गरेँ। यही अबधिमा पनि भएकासुधारका प्रयासले नतिजा देखिएका छन् । खास गरेर बैंकको पुँजीको अनुपात ४.५८ प्रतिशतबाट यही अबधिमा ७.८ प्रतिशत पुर्‍याइयो । बैंकको नाफामा पनि यो बर्ष उल्लेख्य बृद्दी (३६.९ प्रतिशत) भएको छ । ७०।७१ को नाफा ७३ करोड थियो भने ७१.७२ मा यो बढेर १ अरब पुगेको छ । तर ६१।६२ देखि ६३।५४ सम्मको ४८ करोडको आयकर भुक्तानी यसै बर्ष गर्न परेकोले ५२ करोड मात्र नाफा देखियो, प्रकाशित वासलातमै यो कुरा प्रष्ट पारिएको छ । यसै गरी निष्कृय कर्जाको अनुपात पनि करिब ५ प्रतिशतबाट करिब ४ प्रतिशतमा झरेको छ । यति सानो अवधिमा भएका यी उपलब्धि कम हुन् र ?

कुनै बेला यो बैंकको निष्कृय कर्जा ५६ प्रतिशतसम्म भएको मैले सम्झिएको छु । यसै गरी पुँजी पनि निकै बढाउनु भएछ । कसरी भयो त यो प्रगति ?

जहाँसम्म निस्कृय कर्जा घटेको कुरा छ ५६ प्रतिशतबाट ४ प्रतिशतमा मेरो पालोमा मात्र झरेको हैन । विगत डेढ दशकको प्रयास हो । १५ बर्ष भन्दा अगाडिदेखि नेपाल बैंक बिरामी अबस्थामा छ । पहिले यस बैंकको कर्जा प्रवाह प्रणाली नै त्रुटिपुर्ण भएकोले निष्कृय कर्जा बढी भएको हो, यसमाथि पनि नियमनकारी निकाय त्यति बेला चुपचाप थियो, प्रुडेन्सियल रेगुलेसन थिएन, एक्रुलको पद्दतीमा व्याज आम्दानी जनाइन्थ्यो, अर्थात नगदमा असुल नभइकनै व्याज आम्दानी जनाउने खतरनाक प्रवृति थियो त्यतिखेर । यसबाट ऋण समयमै असुल नहुने र निष्कृय हुने प्रवृतिलाई बढावा दिए जस्तो भयो । हाल आएर सबै व्यवस्थापनले यसलाई नियन्त्रण गर्ने नीति लिएको र राष्ट्र बैंक पनि बढी चनाखो हुन थालेकोले सुधार हुँदै आएको हो ।

एक पटक संकुचनमा परेपछि पुनः विस्तारमा गए पनि अपेक्षित उचाइमा पुग्न मुश्किल हुन्छ, आफुलाई छाडेर अरु माथि पुगिसकेका हुन्छन् । राष्ट्रिय वाणिज्य बैंक यो बैंक भन्दा सानो बैंक थियो कुनै बेला, तर अहिले ऊ ठुलो भयो, हामी सानो ।

पुँजीचाहिँ कसरी बढ्यो त ?

४.५८ प्रतिशतबाट ७.८० प्रतिशत पुगेको भए पनि रकममा पुँजी बढेको हैन, पुँजीकोषको अनुपात बढेको हो । पुँजीकोषको अनुपात भनेको कुल पूँजीलाई जोखिम भारित सम्पतीले भाग गरेपछि निस्किन्छ । राष्ट्र बैंकले वाणिज्य बैंकको पुँजीकोष कुल भारित सम्पतीको १० प्रतिशत हुन पर्छ भनेको छ । कुल भारित सम्पती निकाल्ने पनि आफ्नै बिधि छ । बैंकको सबै सम्पतीहरुलाई वर्गिकरण गरिन्छ, त्यसरी बिभिन्न बर्गमा वर्गिकृत सम्पतीलाई राष्ट्र बैंकको निर्देशन अनुसार भार दिइन्छ । यदि सम्पती वर्गिकृत गरिएको छैन भने पुरै अर्थात् हाइ रिस्क क्लेम भित्र पारी १५० प्रतिशत भार दिनु पर्ने हुन्छ । यसअघि यस बैंकले आफ्नो ऋण सम्पतीको ठीक ढंगले वर्गिकरण गरेको थिएन, अहिले त्यो काम भएको छ । त्यसैले हाम्रो जोखिम भारित सम्पती घट्यो, पूँजिकोषको अनुपात बढ्यो, अहिले पुँजीमा पैसा नै थप गरिएको अर्थमा यसलाई बुझ्न हुन्न ।

तपाईँको पुँजीकोष बढेको भए पनि अंकमा नाफामा बृद्दी नभएकोले होला, बजारमा त नेपाल बैंकको सेयरको मूल्य खासै बढेन नि ?

नाफा बढेको छ, तर अघिल्ला वर्षहरुको कर तिर्न परेकोले कम देखिएको हो । जहाँसम्म बजारमा सेयरको मूल्य नबढेको कुरा छ, यसमा ध्यान दिने काम हाम्रो हैन । बजारमा ट्रेडिङ गर्ने र लगानी गर्ने दुई प्रकारका खेलाडिहरु हुन्छन् । आज सेयर किनेर भोलि वा तुरुन्तै केही दिनमै बेच्नेहरु ट्रेडर हुन् भने शेयर किनेर लामो समयसम्म राख्नेहरु लगानीकर्ता हुन् । छोटो समयमै पैसा बनाउन चाहनेहरुले शेयर बजारलाई म्यानिपुलेट गर्छन्, नियमनकारी निकाय कमजोर भएको हाम्रो देशमा त त्यस्तै ट्रेडरहरुले शेयरको भाउ तलमाथि पारि राख्छन् । यस्तो प्रवृतिमाथि नेपाल बैंकले केही गर्न सक्दैन, हामी धेरै ध्यान पनि दिदैनौँ । तर, साँचो लगानीकर्ताको पैसा डुब्न नहुनेमा चाहिँ सधैँ सतर्क हुन्छौँ । यसको लागि दुईवटा कामलाई महत्व दिइन्छ । एक, लगानीकर्ताको विश्वास आर्जन गर्न सचेतता अपनाउने, र अर्को, वित्तिय परिसुचकहरुलाई निरन्तर समिक्षा गरिराख्ने । लामो वा मध्यम अबधिमा लगानीकर्ताहरु फाइदामा हुनु पर्नेमा हामी विश्वास गर्छौँ । यस दृष्टीले हेर्दा नेपाल बैंकका लगानीकर्ताले अब नोक्सान सहनु पर्ने अवस्था आउला भन्ने मलाई लाग्दैन ।

यसको मतलव अब नेपाल बैंकको शेयरको मूल्य घट्दैन भन्ने तपाईँको भनाइ हो ?

हैन, सेयर मूल्यको भविष्यबाणी गर्ने म ज्योतिष त हैन । शेयर बजारलाई असर पार्ने बिभिन्न तत्वहरु हुन्छन् । संस्थाको आर्थिक परिसुचकहरु मात्र उसको शेयरको मूल्य निर्धारक हैनन् । नेपालको शेयर बजारलाई राजनीतिले ठुलो असर पारिराखेको देखिन्छ । पुरै इन्डेक्स घट्दा नेपाल बैंकको शेयरको मूल्य पनि स्वाभावतः घट्छ । तर बैंकको इकोनोमिक फण्डामेन्टलहरुले त्यस्तो मूल्य घटाइलाई पुष्टी गर्ने छैनन्, मेरो भनाइ यति मात्र हो, र कुनै समयमा त्यो एउटा विन्दुमा पुगेर स्थिर होला । त्यो स्थिर विन्दुमा नेपाल बैंकको सेयरको जुन मूल्य रहला त्यो अहिलेको भन्दा किमार्थ कम हुने छैन, यो मेरो भनाइ हो ।

त्यसो भए अहिले नेपाल बैंकको सेयर किने हुन्छ?

यो मैले भन्ने कुरा होइन । मैले त आफ्नो बैंकको आर्थिक अवस्थाको चित्रण गर्ने हो, शेयर किन्ने वा नकिन्ने सल्लाह दिने काम मेरो हैन । खास भन्ने हो भने बजारलाई प्रभाव पार्ने गरी मैले बोल्न पनि हुँदैन, त्यसैले शेयर बजारलाई प्रभाव पार्ने मेरो मनसाय छैन । आफ्नो कार्यक्रम विस्तार र वित्तिय परिसुचकहरुको गति कुन दीशातिर जाला भन्ने इङगित मात्र गरेको हो । तर आफु आबद्द भएको बैंकमा लगानीकर्ताको विश्वास बढाउने प्रयास गर्नु त शायद मेरो धर्म र इमानदारी दुवै होला ।

गत बर्षमात्र यस बैंकले २ अर्ब ४३ करोड कर्मचारी खर्च गरेको देखिन्छ, धेरै खर्च गर्नेमा संभवतः तेश्रोमा पर्छ । यतिधेरै खर्च गर्ने बैंकमा लगानीकर्ताले कसरी बिश्वास गर्ने ?

यो कुरा सहि होला । प्रति कर्मचारी खर्च हिसाब गर्ने हो भने सायद यो बैंक अझै माथि छ जस्तो लाग्छ । तर, हेर्नुस, कर्मचारी खर्चको स्वाभाव स्थिर हुन्छ, घटाउन सकिन्न । कर्मचारीलाई बिनाकारण विदा दिन पनि सकिन्न, त्यसैले संख्या घटाउन पनि ह्विममा सकिन्न । यसको एउटै औषधी भनेको व्यापार बढाउने हो, यसैमा हामी लागेका छौँ । व्यापार बढे प्रतिकर्मचारी खर्च घट्छ, यसैलाई कर्मचारी उत्पादकत्वमा बृद्दी भनिन्छ । ह्यूमन रिसोर्स प्लान बनाएर अघि बढ्नु पर्ने सुझाब पनि बैंक भित्रैबाट आएको छ । तर, त्यस्तो योजनाले सरकारी संस्थामा कति काम गर्ला म बिश्वस्त हुन सकेको छैन ।

किन र ? मानव संसाधनको कुरा सरकारी र निजी क्षेत्रमा के फरक हुन्छ र ?

धेरै फरक हुन्छ । निजी क्षेत्रमा व्यवस्थापनले चाहेसम्म कर्मचारी बस्ने हो, सरकारी संस्थामा सबै कुरा कर्मचारी विनियमावलीले निर्देशन गर्छ, व्यवस्थापनले केही पनि गर्न सक्दैन । कर्मचारीको संख्या घटाउने कुरा कुरैमा सीमित हुन्छ । स्वेच्छिक अवकासका योजनाहरु ल्याउन सकिन्छ, तर तयसको लागि राम्रै आर्थिक प्याकेज अफर गर्नु पर्छ । कर्मचारीहरुको रिटायरमेन्ट बेनिफिटले कर्मचारी खर्च बढी भएको हो । अहिले वार्षिक जति कर्मचारी अवकास लिन्छन्, त्यसको आधा मात्र नयाँ कर्मचारी भर्ना गर्ने सोचमा छौँ, यसैलाई एउटा योजना माने हुन्छ । ती मध्ये चार्टर्ड एकाउन्टेन्ट जस्ता व्यावसायिक व्यक्तिहरु भर्नामा जोड दिन्छौँ ।

सुधार भए पनि स्मार्ट बन्न सकेको छैन नि ?

यो बैंकमा सरकारको मेजरिटी सेयर भएकोले कार्यशैली सरकारी नै छ । संसारैभर सरकार भन्दा निजी क्षेत्र स्मार्ट हुन्छ । अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगनलाई एक मित्रले सरकारी कर्मचारीहरु स्मार्ट नभएकाले आफ्नो काम समयमै हुन नसकेको गुनासो गर्दा रेगनले भनेका थिए, ‘मेरा कर्मचारीहरु पनि स्मार्ट भएका भए उनीहरुमसँग हैन, निजी क्षेत्रमा हुन्थे’ । यस्तै हो । खास गरेर प्रजातन्त्रको उदयपछि कर्मचारीको अधिकार बढेको छ, सँगसँगै उत्तरदायित्व चाहिँ नबढेको भन्ने गुनासो छ । त्यसैले तपाईँले खोजे जस्तो स्मार्ट नदेखिएको होला । तर उनीहरुले कामै नगरेको भए त यो बैंक अझै तल जान्थ्यो नि ।

कस्तो प्रकृतिको कर्जामा बैंकले जोड दिएको छ ?

राष्ट्र बैंकले तोकेको प्राथमिकताको क्षेत्र त छदैछ । यसका अतिरिक्त राम्रो आम्दानी गरेर ऋण तिर्न सक्ने आयोजना नै बैंकको प्राथमिकता हो । तर यसो भनेर जोखिमको हिसाबले एउटै बास्केटमा सबै फल त राख्न भएन । बिबिधिकरण गर्छौँ । राष्ट् बैंकको निर्देशनको पनि पालना हुन पर्‍यो । खास गरेर एसएमइ क्षेत्र हाम्रो प्राथमिकता हो ।

जलबिद्युत र कृषिमा तपार्इको बैंकको कति लगानी छ ?

कृषिमा धेरै छैन । जल बिद्युतमा करिब ६ अर्ब रूपैयाँ कर्जा स्वीकृत भइसकेकोमा ३ अर्ब रूपैयाँ जति प्रबाह भइसकेको छ । यो प्राथमिकतामा पनि पर्छ । तर, वार्षिक पोर्टफोलियो समीक्षा त हुन्छ जोखिमकै दृष्टिले पनि । अब हेरुँ कतिसम्म जान सकिन्छ ? जनताको पैसा हो, जथाभावि लगानी गर्न पनि भएन ।

Ceo of nepal bankत्यसो भए सरकारले दिएको प्राथमिकता कृषिमा तपाई केही नगर्ने ?

त्यस्तो हैन, सरकारको प्राथमिकता हाम्रो पनि प्राथमिकता हो, तैपनि जथाभावि गर्न त भएन नि । राष्ट्र बैंकले बिपन्न वर्गमा ५ प्रतिशत र पुरा प्राथमिकता क्षेत्रमा १२ प्रतिशत जानु पर्छ, त्यो त हामी गइरहेका छौ ।

राष्ट्र बैंकले १३ बर्षअघि यस बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिदा ३४ अर्ब निक्षेप र १९ अर्ब कर्जा भएको देखिन्छ । अहिले आएर ७८ अर्ब र ५३ अर्बको कुरा भएको छ, यसलाई सन्तोषजनक प्रगती भन्न त सकिदैन नि, हैन र ?

सन्तोषजनक त मैले पनि भनेको छैन, बीचमा बैंक आफै बिरामी भयो, अहिलेसम्म बिरामी नै छ । सुधारको नाममा संकुचनको नीति अपनाइएको कुरा माथि गरिसकेँ । एक पटक संकुचनमा परेपछि पुनः विस्तारमा गए पनि अपेक्षित उचाइमा पुग्न मुश्किल हुन्छ, आफुलाई छाडेर अरु माथि पुगिसकेका हुन्छन् । राष्ट्रिय वाणिज्य बैंक यो बैंक भन्दा सानो बैंक थियो कुनै बेला, तर अहिले ऊ ठुलो भयो, हामी सानो । यो सबै नीतिमा भर पर्ने कुरा हुन् ।

त्यसोभए, अझै पनि बैंक खरायो गतिमै अघि बढ्छ ?

खरायो गतिमा हिड्दैमा दौड जितिने हैन । हेरौँ, सुधार गर्दै जाउँ, सुधार हुन सक्यो भने आकार बढाउन सकिएला । पहिले नै सबै किन भन्ने? म राजनीतिज्ञ त हैन नि बढाइ चढाइ भन्ने । प्रोफेसनल मान्छे हुँ, भोलि पुग्ने भए पनि अहिले पुग्न नसक्ने जस्तो लाग्ने कुरा बोल्दिन ।

फेरि पुँजीमै फर्किउँ, राष्ट्र बैंकको हालैको निर्देशन अनुरुप चुक्ता ८ अर्ब पुर्‍याउन के गर्नु हुन्छ ?

दुई बर्षभित्र पुर्‍याउनु पर्ने हो । यो वास्तबमा चालु बर्षको हाम्रो काम प्रफरमेन्समा भर पर्छ । यस बर्ष पुँजी पुर्‍याउन सकिएमा वा नसकिएमा दुईवटा अवस्था हुन्छ । सकिएमा अर्को बर्षको नाफाबाट बोनस दिने परिस्थिति निर्माण हुन सक्छ, हैन भने राइट सेयर जारी गर्नुपर्छ । त्यसैले यो बर्ष क्रुसियल छ । परिस्थिति आफुले सोचे अनुसार नगएमा राइटमा घटबढ हुन सक्छ ।

जे भए पनि राइट वा बोनस हुन्छ, हैन त ?

त्यो त पक्कै हो, नत्र कसरी पुग्छ पुँजी ?

मर्जरमा जाने लक्ष छैन ? वा निजिकरणतिर पो जाने हो कि  ?

मर्जरलाई पुरै अस्वीकार  गर्न सकिन्न । नाम नभनुँ, निजी क्षेत्रको ठुलै बैंकले पनि मर्जरको अनौपचारिक प्रस्ताव गरेका छन् । सरकारी विकास बैंक पनि होलान् । यी सबै कुराहरु परिस्थितिमा भर पर्छ । नयाँ अवस्था कसरी श्रृजना हुन्छन्, हेरौँ । सरकार, निजी क्षेत्रका शेयरहोल्डरहरु, बोर्डको तहमा यो कुरा आइपुगेकै छैन । बिश्व बैंक निजिकरणको कुरा गरिरहन्छ, यसमा बोल्ने अधिकारी भनेको सरकार हो मेजोरिटी सेयरहोल्डर भएको कारणले । तैपनि मेरो व्यक्तिगत विचारमा यस बैंकलाई निजिकरण गर्ने बेला चाहिँ भएको छैन्।

राष्ट्र बैंकले हालै ल्याएको यो ८ अर्ब पूँजीको नीति तपाईँलाई कस्तो लाग्यो ?

च्याउसरह वित्तिय संस्थाहरु उम्रेको हाम्रो देशमा मर्जर र एक्विजिसनको आवश्यकता थियो । तर ‘मर्ज गर’ भनेर मात्र कोही अघि सर्दैन । मर्जर वा एक्विजिसनलाई प्रेरित गर्ने नीतिगत घोषणा त गर्नै पर्थ्यो, यो त्यही हो । कुनै व्यापारीको व्यक्तिगत स्वार्थमा धक्का लाग्यो भनेर देशले नीति फिर्ता गर्न हुन्न । अधिक संख्यामा साह्रै साना वित्तिय संस्थालाई निरन्तरता दिदा ती संस्था असफल भएर जनताको निक्षेप हराउने जोखिम हुन्छ । अर्कोतिर बलिया संस्थाले देशको आवश्यकतामा ठुला ठुला काम गर्न सक्छन् । यसैले पूँजी बढाउनु ठिक हो, समयानुकुल पनि छ । अब देशले संबिधान बनाएर विकासका ठुला ठुला काम गर्न पर्ने बेलामा बलिया बैंकहरुको जरुरी छ । बीचका दुई चार जनाको कुरा सुनेर राज्य वा संसदले पुँजी विस्तारको योजनालाई उल्टाउन हुन्न ।

भन्न त भन्नुभो, तर नेपाल बैंकमा मिलाउन पर्ने कुरा धेरै भएको सुनिन्छ । काम गर्ने संयन्त्र ढिलो छ, प्रोफेसनल कर्मचारीहरु कम छन्, संगठन चुस्त नभएको सुनिन्छ । सफ्टवेरको समस्या छ भनिन्छ । यस्तो संस्थामा तपाईले भने जस्तो सुधार होला र ?

समस्याहरु छन्, मैले संचालक समितिले गरेको निर्णय नीतिगत निर्णयको कार्यान्वयन गर्ने हो । नयाँ नीति बनाउन सुझाब दिने पनि हो । माइक्रो म्यानाजमेन्टमा म अल्मलिएँ भने ठुला मुद्दाहरु छायाँमा पर्न सक्छन् । मेरो विचारमा माइक्रो इस्युहरु पनि महत्वपूर्ण हुन्छन। त्यसैले यिनको समयमै सम्बोधन गर्न छुट्टै युनिट आवश्यक छ । यसैको लागि यस पटकको अर्गनाइजेसनमा शाखा व्यवस्थापन विभागलार्इ स्तरोन्नति  गरिएको छ । प्रधान कार्यालयमा मार्केटिङ युनिट पनिराखिएको छ । तपाईले सफ्टवेरको कुरा पनि राख्नु भो । हो, हामीकहाँ अहिले दुईवटा सफ्टवेरको उपयोग भइराखेको छ । कोर बैंकिंग खरिद प्रकया संचालक समितिमा बिचाराधिन छ ।

अब ५ बर्षपछिको बैंकको वित्तिय परिसुचकांक कस्ता हुनेछन् ?

मैले अहिले जे भने पनि त्यो हाइपोथेटिकल नै हुनेछ । ५ बर्षिय योजना बनाउने तयारी हुँदैछ । अर्को पटक अन्तरवार्ता लिन आउनु भो भने यी फिगरहरु बताउँला । हाललाई हामीले ड्राइभ दिने भनेको पुँजी योजना पुर्‍याउनमा हो । हाम्रो शक्ति यसैमा खर्च हुनेछ  किनकि पुँजी योजना पुर्‍याउनका लागि नाफा बढाउनु पर्छ, नाफा बढाउन सबैले काम गर्नु पर्छ, सजिलो हुँदैन । अब ५ बर्षमा कति नाफा होला, यो भोलिको अवस्थामा भर पर्छ  ।

यो बैंकले कुन बर्षमा पुगेर सेयरहोल्डरहरुलाई लाभांस देला त ?

मैले भनिसकेँ, पहिले पुँजी पुर्‍याउने हो, त्यसअघि नाफा भए पनि राष्ट्र बैंकले लाभांस घोषणा गर्न दिँदैन, लेखाको सिद्दान्तले पनि दिदैन । यति भन्छु, तपाईले सोचे भन्दा छिटो लाभांस दिइन्छ । कहिले भन्नु होला, धेरै कुर्न पर्दैन, तर कुन वर्ष भनेर अहिले नतोकुँ । कहीँ ४ वर्षपछि मात्र लाभांस दिइने भनिएको रहेछ, त्यसो हैन । सायद हामी सर्प्राइज दिनेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?