११ असोज, काठमाडौं । नेपालमा भारतले गरेको हस्तक्षेपको विरोधमा विद्यार्थी संगठनहरुले सोमबार भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइमा विरोध प्रदर्शन गरिएको हो ।
अस्कल क्याम्पसमा जम्मा भएर विद्यार्थीहरु नाराबाजी गर्दै दूतावासतर्फ अघि बढेका थिए । र्यालीमा सहभागीहरुले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने केहीले चन्द्र सूर्य अंकित टिसर्ट लगाएका थिए । उनीहरुले अघोषित नाकाबन्दी फिर्ता गर, नेपालमा हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।
गेटमै पुगेर प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि प्रहरीले विद्यार्थीहरुलाई होटल एम्बास्डर नजिकै रोकेको थियो । त्यसपछि विद्यार्थीहरुले त्यहिँ कोणसभा गरेका थिए । कोणसभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले आन्तरिक मामिला मिलाउन नेपाल आफै सक्षम रहेको भन्दै अनावश्यक चासो नदिन र हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेका थिए ।
नेबिसंघ आएन
संयुक्त विद्यार्थी आन्दोलनमा आबद्ध नेपाली कांग्रेस निकट नेबिसंघ भने सहभागी भएन । अहिले भारतको विरोध गर्न उपयुक्त नहुने भन्दै नेविसंघ सहभागी नभएको अखिल क्रान्तिकारीका नेता मदन अर्यालले जानकारी दिए ।
तर, कार्यक्रममा संविधानको विरोध गर्दै आएका मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थीहरु भने सहभागी थिए । वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालले संविधानको विषयमा असहमति रहे पनि राष्ट्रियताको मुद्दामा सबै एक हुनुपर्ने भएकाले कार्यक्रममा सहभागी भएको बताए ।
र्यालीपछि आयोजित कोणसभालाई अनेरास्ववियूका अध्यक्ष किशोरविक्रम मल्ल, एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल, वैद्य नेतृत्वको अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकाल, अखिल छैटौंका अध्यक्ष अनिल किशोर घिमिरे, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी फेडरेसनका संयोजक दीपक जोशीलगायतले सम्वोधन गरेका थिए ।
प्रतिक्रिया 4