+
+

सात हजार कन्टेनर भारतमा अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते ६:५६

Biratnagar-Jogbani-Naka
२ कात्तिक, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीका कारण चीन तथा तेस्रो मुलुकबाट नेपाल आउन लागेका करिब ७ हजार मालवाहक कन्टेनर भारतमा अलपत्र छन् । भारतले सीमा क्षेत्रमा असुरक्षाको कारण देखाउँदै सामान बोकेका ट्रक नेपाल छिर्न रोकेपछि कोलकाता बन्दरगाहलगायत अन्य भन्सारमा कन्टेनर अलपत्र परेका हुन् ।

समयमा कन्टेनर जाँचपास गरेर नेपाल भित्रिन महिनौं लागेपछि आयातकर्ता व्यवसायीले कन्टेनर रोकिएवापतको करोडौं रुपैयाँ बिलम्ब शुल्क तिर्नुपरेको छ । कन्टेनर र कार्गो आवागमनमा धेरै ढिलो हुँदा ठूलो नेपाली व्यवसायीले करोडौं रुपैयाँ विलम्ब शुल्क तिर्नुपरेको कोलकाताका लागि नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले बताएको नागरिकमा खबर छ ।

कोलकाता बन्दरगाह, कन्टेनर तथा कार्गो जाँच हुने भारतीय भन्सार र नेपाल–भारत सीमामा चीन तथा तेस्रो मुलुकबाट आएका ६ हजार ९ सय कन्टेनर अहिले भारतीय भूमिमा रोकिएको उनले कोलकाताबाट टेलिफोनमा जानकारी दिए । ‘भारतले निर्यात गर्ने सामानका ट्रक÷कन्टेनर त यसै रोकिएका छन्,’ उनले आइतबार भने, ‘तेस्रो मुलुकबाट आएका सामान यहाँ रोकिँदा बन्दरगाह, भन्सार, सिपिङ लाइनर्स (पानी जहाजका ढुवानीकर्ता) र ट्रक/रेलमा नेपालको सीमासम्म कन्टेनर ढुवानी गर्नेलाई समेत बिलम्ब शुल्क तिर्नुपरेको छ ।’

तेस्रो मुलुकबाट आएका सामान नेपालसम्म पुर्याएर समयमै कन्टेनर सिपर कम्पनीलाई फर्काउनुपर्छ । तर, छोटो अवधिमा उक्त काम पूरा गर्न सम्भव हुँदैन र बढी समय लाग्नासाथ कम्पनीले व्यवसायीलाई प्रतिदिन उच्च दरमा ‘डिटेन्सन चार्ज’ (ढिलाइवापत तिर्नुपर्ने जरिवाना) लगाउँछ । यही चार्ज तिर्न अहिले व्यवसायी हैरानी बेहोरिरहेको महावाणिज्य दूतावासले जनाएको छ ।

कोलकाता बन्दरगाहमा मात्र अहिले २ हजार ४ सय कन्टेनर जाँचपास हुन नसकेर थन्किएका छन् जसका कारण बन्दरगाह भरिएर अरू कन्टेनर ल्याएर राख्ने ठाउँसमेत नरहेको घिमिरेले बताए । उनका अनुसार बन्दरगाहबाट कन्टेनर पास नभई रोकिँदा व्यवसायीले सिपिङ लाइनर्सलाई प्रतिदिन प्रतिकन्टेनर १ सय ३५ अमेरिकी डलर (करिब साढे १३ हजार रुपैयाँ) बिलम्ब शुल्क डलर तिर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?