चितवनको लोथरका श्रीमन चेपाङको घरमा खाने अन्नको गेडो छैन । नगद त झन् परको कुरा ।
दारेचोक-८ ओरेकका दिलबहादुर चेपाङ र दाहखानी-६, कुयलघारीका ठूलाकान्छा थापामगरको अबस्था पनि श्रीमनको भन्दा फरक छैन ।
विगतका बर्षमा जसोतसो दसैं मनाउने गरे पनि यसपालि कसरी दसैं मनाउने भन्ने चिन्ताले सताएको छ उनीहरुलाई । किनकि गत वैशाख महिनाको भूकम्पले घर लडाइदिएपछि दसैं खल्लो भएको छ । आश्रयस्थलको सहारा लिइरहेका चितवनका पहाडी गाविसमा दसैंको माहोल छैन ।
दाहखानी गाविसमा ७० घर भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनेका थिए भने ३ सय ४० घरमा आंशिक क्षति पुगेको थियो । ठूलाकान्छा भन्छन्, ‘दसैं मनाउने खर्च छैन, खाने चामल छैन, चाडबाड खुसी भएर कसरी मनाउनु ?’
दसैंका लागि रेडक्रसले आठ बोरा नयाँ कपडा पठाइदिने आश्वासन दिए पनि आइनपुगेको उनको गुनासो छ ।
भूकम्प अघिसम्म लोथरका श्रीमन चेपाङका स-साना दुईवटा घर थिए । ती दुबै घर भूकम्पले भत्काइदिए । अहिले उनले गोठमा बस्नुपरिरहेको छ । गोठको एक कुनामा जमराका लागि टपरीमा मकै र जौं छरेका छन् उनले । जमरा लहलहाउँदै उम्रिए पनि उनको मुहारमा खुसीको लहर देखिँदैन ।
‘पोहोर साल गाउँले सबै मिलेर दसैं मनाइयाथ्यो, यसपालि त दसैं आए-नआएको पत्तै छैन,’ श्रीमन भन्छन्, ‘घर छैन, अन्न छैन, आफूलाई खाने अन्न छैन । इष्टमित्र बोलाउन पनि सकिएन ।’
उनीजस्तै चितवनको विकट पहाडी वस्तीमा अधिकांशको अवस्था यस्तै छ । सधैं खाद्यान्न अभाव झेल्नुपर्ने बस्तीमा भूकम्पले थप संकट आइलागेको छ । ज्याला मजदुरी गरेर अलिकति पैसा आइहाले पनि नाकाबन्दीले गर्दा आकासिएको मूल्यवृद्धिले थप मार परेको छ ।
भूकम्पले जमीन नै चिरा परेपछि सिमलढापको बेलघारीमा सामाजिक संस्थाले बनाइदिएको अस्थायी आश्रयस्थलमा ७४ घरपरिवार बस्दै आइरहेका छन् । कतिपय आफ्नै जग्गामा त्रिपाल टाँगेर बसेका छन् । तर पनि चिरा-चिरा परेको जमिनले कुयलघारीका बासिन्दालाई अझैपनि त्रसित बनाउँछ ।
‘फेरि भूकम्प आउने हो कि, पहिरो लड्ने हो कि,’ ठूलाकान्छा भन्छन्, ‘दसैंमा मन खुसी छैन ।’
दारेचोक-८ ओरेकका दिलबहादुर चेपाङ भूकम्पले घरको भित्तो भत्किएपछि चिन्तित छन् । दसैंको भन्दा बढी घरकै चिन्ता लागेको छ उनलाई । पानी पर्दा आश्रयस्थलमा ओत लाग्न जान्छन् । अरुबेला घर नजिकैको सानो गोठमा बस्छन् उनी ।
उनले भने, ‘बिहान बेलुका खान पुग्ने अन्न नहुँदा चाड आएजस्तो लागेको छैन ।’ दसैं सुरु भएपनि दसैं मनाउने खर्च नहुँदा उनको परिवारमा कुनै उत्साह र रौनक छैन ।
दारेचोकमा भूकम्पले १ हजार २ सय ८८ घरमा पूर्ण क्षति तथा ६ सय ४२ घरमा आंशिक क्षति पुगेको थियो । सरकारले घरमा पूर्ण क्षति भएकाहरुलाई १५ हजार र आंशिक क्षति भएकालाई ३ हजार रुपैयाँ दिएको थियो । तर, त्यो ‘हात्तीको मुखमा जिरा’ भनेजस्तै भएको छ ।
भत्केका घरलाई जसोतसो मर्मत सम्भार गरेर बसेकाहरु दसैंमा खुसी बन्नसक्ने अवस्था छैन । गाउँ पुरै सुनसान छ । जमिन चिरा परेकाले आश्रयस्थलमा बसेकाहरुले आफ्ना गाई, बाख्रा अन्यत्रै सार्न थालेका छन् ।
लोथरमा भूकम्पले २ सय ७० घरमा पूर्ण क्षति तथा ३ सय २० घरमा आंशिक क्षति पुर्याएको थियो । बैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्प तथा बाढी पहिरोबाट चितवनका १५ हजार ७ सय ४९ घरहरु प्रभावित भएका थिए ।
जसमध्ये ३ हजार ७ सय २५ घरधुरी पूर्ण क्षति र १२ हजार २४ घरमा आंशिक क्षति पुगेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
विप्लव काफ्लेबाट
प्रतिक्रिया 4