अरुण बराल
नेपाली कांग्रेसमा यतिबेला दुईखाले रुवाबासी छ : एउटा, सरकारमा गएर तर मार्न नपाएको रुवाबासी, अर्को : सत्ता समीकरणमा चिप्लिएर बाहिरिनुको रोदन ।
सत्तामा जान नपाएका र राष्ट्रपति हुा खोज्दा पनि नसकेका कांग्रेस महामन्त्री कृष्ण सिटौला यतिबेला कांग्रेसले गम्भीर गल्ती गर्यो भनिरहेका छन् । सत्ताबाट अघाएका डा. रामहरण महत चाँहि ‘कभी कभी ऐसा होता है’ भन्दै नेपाली कांग्रेस प्रतिपक्षमा बस्नु स्वाभाविक भएको सहज प्रतिक्रिया दिइरहेका छन् ।
तर, नेपाली कांग्रेसलाई यो हविगतमा पुर्याउनेमा सुडानकाण्डदेखि जस्ताकाण्डसम्मको बेथिती काम गरेको नेताहरुले अझैसम्म आत्मसाथ गर्न सकेको देखिँदैन ।
आखिर नेपाली कांग्रेसलाई यो हविगतमा पुर्याउने व्यक्तिहरु कोको हुन् ? सुशील कोइराला हुन् ? या खुमबहादुर खड्का, गोविन्दराज जोशी, गिरीजा कोइराला, सुजाता वा अन्यान्न हुन् ? यसबारे कांग्रेसवृत्तमा जति बहस हुनुपर्ने हो, त्यो भइरहेको देखिँदैन ।
नेपाली कांग्रेस यतिबेला आफ्नै दुबुर्द्धिका कारण पाहा पछारिएजस्तो पछारिएको छ । तथापि वीपी कोरालाको नाम लिएर सैद्धान्तिक रफू भर्न माहिर कांग्रेस उपसभापति रामचन्द्र पौडेल भनिरहेका छन् कि अब कांग्रेस जनताको वीचमा जान्छ र भोलि फेरि शक्ति आर्जन गरेर सत्तामा पुग्छ, अहिले नै रुवाबासी गर्न वा चिन्ता लिन कुनै जरुरी छैन ।
तर, के रामचन्द्र पौडेल वा रामशरण महथहरुले भनेजस्तो नेपाली कांग्रेसले हाइसञ्चो गरेर आरामले तास खेल्दै वीपीको गफ गरेर बस्ने अवस्था विद्यमान छ ? के विगतमा ३३ सीटबाट पहिलो पार्टी बन्न सफल भएजस्तै कांग्रेस फेरि पनि मुर्झाउने नेताहरुले देखेको सपना साकार हुने स्थिति अझै बाँकी रहेको छ ?
परिस्थिति रामचन्द्र पौडेलले भनेजस्तो सजिलो देखिँदैन । मुलुकमा करिब अढाइ दशकसम्म सत्तामा हाली मुहाली गरेको नेपाली कांग्रेसले गाउँदेखि केन्द्रसम्म भ्रष्टाचारको जुन संस्कृति विकास गरेको छ, त्यसको सही हिसाब-किताव भयो भने कांग्रेस ब्युँतिने सम्भावना निकै कम छ ।
सुडान काण्ड, धमिजा काण्डदेखि भूकम्पपीडितको जस्ता र त्रिपालमा समेत कमिसन खाने कांग्रेसजनहरुले जनताको चेतनास्तर ०१५ साल वा ०४७ सालकै जस्तो होला भनेर सोच्नु मूखर्तापूर्ण बुझाइ हुन सक्छ ।
शिक्षा मन्त्रालय सम्हालेकी चित्रलेखा यादवदेखि भौतिक निर्माण मन्त्रालय सम्हालेका विमलेन्द्र निधीसम्म भ्रष्टाचारका पर्याय मानिँदै आएका छन् । यस्तो भ्रष्ट नेतृत्व बोकेर कांग्रेसले फेरि वीपीको नाम भँजाउँदैमा शक्ति आर्जन गर्छ भनेर सोच्नु मजाकजस्तो प्रतीत हुन्छ ।
नेपाली कांग्रेस यतिबेला इतिहासको गम्भीर कठघरामा उभिएको छ । एमाले, एमाओवादी र राप्रपा नेपालको सरकारको असफलताले मात्रै अब कांग्रेसलाई जागृत गराउन सक्दैन । कांग्रेसको पुनर्जागरणका लागि त्यहाँभित्रका भ्रष्टाचारी एवं पछौटे नेताहरुको बहिर्गमन आवश्यक छ ।
कांग्रेसका लागि बाहिरी परिस्थिति पनि कम चुनौतीपूर्ण छैन । एमालेजस्तो बलियो र नेताहरुको टीम रहेको पार्टीसँग प्रचण्ड र कमल थापाको गठबन्धन कांग्रेसका लागि सामान्य चुनौतीको विषय होइन । यही अवस्थामा भोलि स्थानीय, प्रादेशिक एवं केन्द्रीय चुनाव भयो भने कांग्रेसको अवस्था के होला ?
त्यसैगरी अब हुने राजदूत लगायतका विभिन्न निकायहरुमा हुने राजनीतिक नियुक्तिहरुमा कांग्रेसको पकड गुम्ने निश्चित देखिएको छ । यस्तो अवस्थामा नेताहरुले खाने कमिसनका मुहानहरु सुक्न सक्छन् । सिंहदरबारदेखि जिल्ला सम्मका ठेक्कापट्टाहरु कांग्रेसको हातबाट गुम्न सक्छन्, जसले गर्दा कांग्रेसभित्र चर्को बेरोजगारी बढ्ने र आर्थिक संकट आइलाग्ने परिस्थिति देखिन्छ ।
सत्ता बाहिर रहँदासम्म रामचन्द्र पौडेलले आफ्ना छोरालाई गरीवी निवारणमा नियुक्त गराउने वा राज्यकोषबाट ५० लाख निकालेर वीपी गणेशमान शान्ति अभियानका नाममा आर्थिक चलखेल गर्ने परिस्थितिमा बिर्को लाग्न सक्छ ।
कांग्रेसका अगाडि अब दुईवटा विकल्प छन् : या त पार्टीमा भ्रष्टाचारलाई संस्थागत गर्ने कृष्ण सिटौला र रामशरण महत प्रवृतिबाट पार्टीलाई मुक्त गराएर आर्दशवान् पार्टी बनाउने, या त अनिच्छापूर्वक प्रजा परिषदको बाटो पक्डिने ।
गुणरत्नमा भनिएजस्तो सर्पले निलिरहेका बेलामा पनि भ्यागुतोले झिँगा खान खोजेजस्तो गरिरहने हो भने कांग्रेसले ओली नेतृत्वको सरकारमा जाने वा यो सरकारलाई ढाल्ने षड्यन्त्रमा लाग्ने कार्य गरे हुन्छ ।
यो कुरा निश्चित छ कि गलत आर्थिक नीति अवलम्बन गरेर यो मुलुकलाई गरीव बनाउने कार्यका कांग्रेसका डा. महतको भूमिका छ । त्यसैगरी प्रशासन र समाजलाई भ्रष्ट बनाउनेमा पछिल्लो समयमा कृष्ण सिटौलाको भूमिका छ । सभासद बनाइदिन्छु भनेर आफ्नै पार्टीका कार्यकर्ताबाट पैसा खानेहरु यतिबेला कांग्रेसको नेतृत्वमा छन् । कर्मचारी प्रशासनमा कांग्रेसीकरण गर्नु र विकास निर्माणमा घुस खानु त कांग्रेसको पुरानो आदत नै हो ।
अब कांग्रेसले आफूलाई गम्भीर समीक्षा गरोस् । सुडान प्रकरण नदोहोरियोस् । घैंटेहरुसँग आर्थिक सहकार्य नगरियोस् । तब मात्रै कांग्रेस सुधि्रएला कि ?
प्रतिक्रिया 4