१० पुस, काठमाडौं । नाइजेरियाको दक्षिणी भागमा एउटा ग्यास प्लान्ट विष्फोट हुँदा ठूलो संख्यामा हताहती भएको छ । विष्फोटपछि घटनास्थलबाट आगोको मुस्लो निस्किएको थियो ।
विष्फोटमा एक सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । कारखानामा काम गर्ने मजदुर तथा स्थानीयवासीहरु यसमा परेका छन् । अनाम्ब्रा राज्यस्थित न्नेवी शहरमा एउटा ट्रकले खाना पकाउने ग्यास अनलोड गरिरहँदा एक्कासी विष्फोट भएको बीबीसीले जनाएको छ ।
विष्फोटका बेला घटनास्थलमा रहेका प्रत्यक्षदर्शी चुक्वुमेरी उडुचुक्वुले क्रिसमसका दिन खाना पकाउन ठीक परेका मानिसहरु ग्यास सिलिण्डरहरु बोकेर ग्यास भर्न कारखानामा आएका थिए ।
विष्फोटपछि उनीहरु सबै चिन्न नसकिने गरी जलेको उडुचुक्वुले बताए । हालसम्म दर्जनौं संख्यामा लाशहरु बाहिर निकालिएको र अझै धेरै संख्यामा निकाल्न बाकी रहेको उनको भनाई छ ।
कारखाना नजिकै रहेका घरहरुमा पनि विष्फोटले क्षति पुर्याएको छ । विष्फोटको पाँच घण्टासम्म त्यहाँ आगो निभेको थिएन । रेडक्रस र दमकल अहिलेसम्म घटनास्थलमै छन् । एपिका एक पत्रकारले त्यहाँ एक सयभन्दा बढी शव देखेको बताएका छन् ।
स्थानीय प्रहरीले घटनाको पुष्टि गरे पनि अन्य विवरणहरु उपलब्ध गराएको छैन । मृतक तथा घाइतेहरुलाई न्नेवीस्थित न्नाम्दी आजिकीवे युनिभर्सिटी टिचिङ हस्पिटलमा लगिएको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4