+
+

मेरी श्रीमती: जसले मेरा लागि आफ्नो करिअरलाई तिलाञ्जली दिइन्

श्रीमती जीवनभरकी साथी हुन्, त्यसैले सबैभन्दा महत्त्वपूर्ण हुन् । म त भन्छु, श्रीमतीबिनाको जीवन अपुरो छ । मेरा लागि श्रीमती साथी हुन्, घर हुन् । घर यस मानेमा कि बिहे अघिसम्म मैले के खोज्थेँ, थाहा छैन । तर बिहे भएपछि मैले घर खोज्छु । मलाई साँझ आफू बस्ने ठाउँ र्फकनैपर्छ । किनभने, त्यहाँ साथी वा श्रीमती छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १७ गते २०:१०

Dayahang-Rai-with-Wife

दयाहाङ राई, अभिनेता

श्रीमती जीवनभरकी साथी हुन्, त्यसैले सबैभन्दा महत्त्वपूर्ण हुन् । म त भन्छु, श्रीमतीबिनाको जीवन अपुरो छ । मेरा लागि श्रीमती साथी हुन्, घर हुन् । घर यस मानेमा कि बिहे अघिसम्म मैले के खोज्थेँ, थाहा छैन । तर बिहे भएपछि मैले घर खोज्छु । मलाई साँझ आफू बस्ने ठाउँ र्फकनैपर्छ । किनभने, त्यहाँ साथी वा श्रीमती छिन् ।

जे-जे कुराको तनाव हुन्छ, सुनाउने-बिसाउने श्रीमती नै हुन्छिन् । उनीसम्म पुगेपछि मनले आधार पाएको महसुस हुन्छ । मान्छेलाई कसैको न कसैको ख्याल चाहिन्छ नै । सानोमा हाम्रो ख्याल गर्ने आमा मात्र हुनुहुन्थ्यो भने, त्यसपछि ख्याल गर्ने श्रीमतीले नै हो । यस अर्थमा मैले श्रीमतीमा आमाको गुण पनि पाउँछु । यसो भन्दैमा श्रीमतीले मात्रै श्रीमान्को ख्याल गर्नुपर्छ भन्ने होइन, श्रीमानले पनि श्रीमतीको ख्याल गर्नुपर्छ । मैले पनि उनको ख्याल गरेको छु ।

सबै कुरामा मैले उनीसँग सल्लाह गर्छु । यो फिल्म खेल्दै छु, यो नाटक गर्दै छु, यहाँ जाने कुरा भएको छ, सबै कुरा मैले श्रीमतीसँग सल्लाह लिन्छु ।

पहिलो भेट र प्रेम प्रस्ताव

उनी एउटा गीतको रेकर्डिङमा जाँदै रहिछिन् । रत्नपार्कको रातोघर, जुन अहिले छैन, त्यहाँ उनले आफ्ना साथीहरुलाई कुरिरहेकी थिइन् । कुरा ०५९ सालतिरको होला । मिति सम्झन नसक्ने ठूलो कमजोरी छ मेरो ।

त्यतिबेला म उनका साथीहरुको साथी थिएँ, कला क्षेत्रको नाताले । रातोघरबाट हामी अनामनगरसम्म हिँड्दै आउँदै थियौँ । यही छोटो दूरीमा हाम्रो परिचय भयो- नाम बेनुका राई, पेशा गायिका, पुरानो घर खोटाङ, अहिले ललितपुर नख्खिपोट ।
हामी त्यति बेला भेट भयौँ, जति बेला म रंगमञ्चमा संघर्षरत थिएँ, खासै सफलता हात लागिसकेको थिएन । उनले व्यावसायिक ढंगले गाउन थालिसकेकी थिइन् । दुवै कला क्षेत्रको भएकाले हाम्रो भेट पनि कलाकै सिलसिलामा हुन थाल्यो ।

सांगीतिक कार्यक्रममा हाम्रो भेट हुन्थ्यो । आफू रंगमञ्चमा भएकाले मैले उनलाई कहिलेकाहीँ नाटक हेर्न बोलाउँथेँ । यसरी नै हामी नजिकियौँ । भेट भएको त्यस्तै एक वर्षभित्रै मैले उनलाई प्रेम-प्रस्ताव गरेँ । उनले स्विकारिन् । झन्डै सात वर्ष प्रेम सम्बन्धमै रह्यौँ । प्रेम सम्बन्ध भनेर त्यस्तो डेटिङ जाने, फिल्म हेर्न जाने भन्ने थिएन । कहिलेकाहीँ भेट्थ्यौँ ।
हुँदै जाँदा बिहे गर्ने निर्णयमा पुग्यौँ । मैले मेरो परिवारसँग कुरा राखेँ, उनले आफ्नो परिवारसँग ।

नख्खिपोटको घरमा म बिहेअघि एकपटक गएँ, देउसी खेल्ने बहानामा । उनको परिवारसँग भेट्नु थियो । किनभने हाम्रो सम्बन्धबारे उनको परिवारलाई थाहा थियो । उनका दाइहरुलाई त भेटिसकेको थिएँ, बुवालाई भेटेको थिइनँ । त्यतिबेला उनको बुवालाई भेटेँ, लाज लागेको थियो । बुवाले मेरो परिवारबारे सोध्नुभयो । बिहे गर्न साइनो लाग्छ कि भनेर होला, उहाँले खासगरी नातागोताबारे सोध्नुभयो । सबै मिल्ने भएपछि माग्न जाने कुरा आयो ।

केटी माग्न जाँदा

हितैषी साथीले लगाएको कपडा मन पर्यो, वा कुनै सामान मन पर्यो भने त माग्न अप्ठेरो हुन्छ, अर्काले जन्माई हुर्काएकी छोरी माग्नु भनेको त ठूलो निर्णय हो नि ।

अरुले कति मायाले हुर्काएको, दुःखले हुर्काएको मान्छे मलाई मन पर्यो भनेर माग्नु कतिसम्मको तनावको कुरा रहेछ भन्ने मैले त्यति बेलै महसुस गरेँ, जति बेला उनलाई माग्न मैले निकटकी एकजना भाउजूलगायत आफन्त लिएर गएको थिएँ । भाउजूमा लेखक राजन मुकारुङकी श्रीमती प्रगति राई हुनुहुन्थ्यो ।

उहाँले भाँती पुर्याएर कुरा राख्नुभयो- यस्तो-उस्तो, दुःख हुँदैन, केटो भलादमी छ, मिहिनेती छ, प्रगति गर्छ, आदि-इत्यादि । मैले चुपचाप सुनिरहेँ । लाग्यो- हो त, अर्काकी छोरी, भोलि सुख होला, दुःख होला, मैलाई भर गरेर त दिने हो । कुरा मिल्यो, २ फागुन ०६५ मा हाम्रो बिहे भयो । भेट भएको त्यस्तै सात वर्षपछि हामीले बिहे गर्यौँ ।

उनीसँग १० मिनेट पनि रिसाउन सक्दिनँ

हामी ठूलो झगडा अहिलेसम्म गरेका छैनौँ । मसिनो कुरामा असन्तुष्टि त हुन्छ । जस्तो कि महिलाहरु घर-कोठा व्यवस्थित भएको चाहन्छन्, बनाउँछन् । सरसफाईमा विशेष ध्यान दिन्छन् । उनलाई सबै सामान मिलाएर राख्नुपर्छ । कुन सामान कहाँ राख्ने भन्ने निश्चित ठाउँ हुन्छ । तर, म अलि अव्यवस्थित छु । कुन सामान कहाँ राख्ने भनेर त्यति ख्याल गर्दिनँ, यही विषयमा कहिलेकाहीँ सामान्य ठाकठुक जस्तो हुन्छ ।

मायामा यति त हुनुपर्छ जस्तो लाग्छ मलाई । तर, हामी झगडा नबोलेको भन्ने छैन । म त सक्दिनँ । बढी भनेको १० मिनेट नबोलुँला । त्यसपछि मलाई छटपटी भइहाल्छ । बुढी मात्रै होइन, कसैसँग पनि सामान्य ठाकठुक भयो भने मलाई नरमाइलो लाग्छ । १० मिनेट पनि नबित्दै जस्तो, फोन गरेर हुन्छ कि, बोलाएर हुन्छ, कुरा गर्छु । बुढीसँग त बढी भनेको १० मिनेट रिसाएको हुँला । मैले अहिलेसम्म उनलाई हात उठाएको छैन । झम्काझम्की त परिहाल्छ ।

म अलि एकोहोरो खालको छु । केही चाहियो भनेपछि चाहियो-चाहियो । जस्तो, आज केही खाने सल्लाह भयो भने मलाई त्यही खानुपर्छ । त्यो चिज वरिपरि पाइँदैन, लिन पर जानुपर्छ भने पनि जसरी हुन्छ ल्याउनुपर्छ । यस्तो बेला उनले सानो स्वरमा भनेको सुुनेको छु, ‘कस्तो आँधो छ भने नि !’ अनि मात्रै सानो कुरामा एकोहोरो भएँछु भन्ने थाहा पाउँछु ।

उनका गहना धितो राख्दा

बिहेपछि एकपटक हामीलाई निकै आर्थिक संकट परेको थियो । ०६८ सालतिरको कुरा हो, मण्डला नाटक घर स्थापनाको तयारीमा थियौँ । यसका लागि आ-आफैँ पैसा उठाउँदै थियौँ । मैले पनि साथी, आफन्तसँग सरसापट गरेँ । तर पनि केही पैसा पुगेको थिएन । म पैसाको अभावले चिन्तामा थिएँ । यस्तो संकटका बेला श्रीमती हामीभन्दा बढी चिन्तित हुँदा रहेछन्, बाहिर नदेखिए पनि । र, सुझबुझ पनि राख्दा रहेछन् । उनले सुझाइन्, गहना धितो राख्न ।

उनको कुरा सुन्दा सुरुमा त मेरो मन भारी भएको थियो । के बुढीको गहना धितो राख्नुजस्तो लागेको थियो । फेरि मैले बुढीको गहनाबारे सोचेकै थिइनँ । तर, उनले जोडै दिएर भनिन् । मैले बिहेमा दिएको, पछि कमाएर दिएको भन्दा पनि उनले पहिलेदेखि नै जोहो गरेर राखेको गहना बढी थियो ।

अन्ततः हामी गहना धितो राख्ने निर्णयमै पुग्यौँ । केही नलगाई राखेको गहना थियो, केही फुकाल्नुपर्ने थियो । उनले फुकालेर दिइन् । चित्तचाहिँ दुख्दो रैछ । गहना धितो राख्न जाँदा मलाई अप्ठेरो, असहज भएको थियो ।

अर्को मनले सोचेँ, ठीकै पनि हो, संकटका बेला आफूसँग भएकै चिजको त प्रयोग गर्ने हो ।

बिहेअघिका पल

मेरो खासै कमाइ थिएन । कहिले रेडियो नाटकमा काम पाउँथेँ, कहिले स्टेज प्रोग्राम पनि पाउँथे, कहिले नाटकमै अभिनय गर्थें, यही नै थियो मेरो आम्दानीको स्रोत । कहिले कहिले हजार, कहिले दुई हजार, कहिले २०-२५ हजार पनि हुन्थ्यो । यो बेलाबखतको कमाइले खासै पुग्दैनथ्यो ।

अलिअलि पैसा भइहाल्यो भने पनि कि किताब कि फिल्मको डिभिडी किन्नुपथ्र्यो मलाई । प्रेमिकासँग घुम्न अलिअलि खर्च त भइहाल्छ । विवाहअघिको प्रेम-सम्बन्ध वा अफेयरका बेला भनौँ हामी फिल्म हेर्न जाने, होटल-रेस्टुरेन्टमा भेट्ने त्यति धेरै भएन । डेटिङ जाने भन्ने पनि त्यति थाहा भएन मलाई ।

कहिलेकाहीँ फिल्म हेर्ने कुरा उठ्थ्यो । पैसा नभएको बेला मैले सीधै भन्थेँ, ‘मसँग पैसा छैन नजाउँ ।’ उनले मसँग छ जाउँ भन्थिन् ।

उनको तीनजनामा सबै लाहुरे हुनुहुँदो रहेछ, दुईजना इन्डियन आर्मी, एकजना बि्रटिस आर्मी । त्यसैले उनलाई सामान्य खर्चको समस्या थिएन रैछ, पछि थाहा पाएँ ।

छोरालाई जन्म दिँदा

हाम्रो एउटा छोरा छ, साम्दुङहाङ, अहिले तीन वर्षको भयो । राई भाषामा साम्दुङहाङको अर्थ आशीर्वाद हुन्छ ।  कर्कस फिल्मको सुटिङ सकिएको थियो । त्यो साँझदेखि उनलाई अलि गाह्रो भएजस्तो भयो । अनि, त्यस्तै रातको ३ बजेतिर मैले उनलाई पाटन हस्पिटल लिएर गएँ, साथमा उनकी दिदी पनि हुनुहुन्थ्यो । कोठामा उनलाई ख्याल गर्न मेरी कान्छी बहिनी थिई, अहिले पनि सँगै छे ।

Dayahang-Rai-with-son

बच्चालाई जन्म दिन अप्रेसन गर्नुपर्ने भयो । अप्रेसन गर्ने अनुमति दिन मैले हस्ताक्षर गर्नुपर्दो रहेछ । हस्ताक्षर गर्दा दुःख लाग्दो रैछ, के के सोचिँदो रैछ । अप्रेसन सक्सेस भएपछि पहिले बच्चा ल्याइयो, अप्रेसन सक्सेस भयो भनेर बच्चा ल्याउने सबै खुसी थिए, बच्चा देखेर म पनि खुसी भएँ । बच्चा त नर्सले आमाभन्दा अगाडि ल्याइदिँदा रहेछन् । बच्चालाई उसका फूपूहरुले, ठूलीआमाले काखमा लिँदै थिए । तर, बच्चा आएको त्यस्तै आधा घन्टासम्म आमा आइनन् । म अप्रेसन थियटरको गेटमा पर्खिरहेको थिएँ, भित्र जान नपाइँदो रहेछ । यो आधा घन्टाको समय मलाई निकै लामो लाग्यो । बच्चा जन्मेको एउटा खुसी, आमालाई हेर्ने अर्को हुटहुटी । मलाई लाग्छ, सायद यही बेला साँच्चिकै एउटा पुरुषले प्रसूतिपीडा महसुस गर्न सक्छ । अप्रेसनपछि उनको होस आउन समय लाग्ने बताइएको थियो । किन होस आउन समय लाग्यो ? खानपिन पुगेन कि ? स्याहार पुगेन कि ? धेरै कुरा मनमा खेल्दो रहेछ ।

आधा घन्टापछि उनी आइन्, हाँस्दै । भर्खरै अप्रेसन भएको पीडा हुँदो हो । तर, सन्तान जन्म दिएको प्राप्तिमा भनौँ, उनको अनुहारमा बेग्लै खालको खुसी थियो । आफ्नो कुनै खुसीको क्षणमा मान्छेले भन्छन् नि, त्यो पल मैले संसार जितेको थिएँ भनेर । त्यो आधा घन्टाको प्रतीक्षापछि उनको उज्यालो अनुहार देख्दा मलाई पनि साँच्चिकै संसार जितेको महसुस भएको थियो ।

मन परे मन पर्यो, नपरे ठीकै

मैले अहिलेसम्म २४-२५ वटा फिल्ममा अभिनय गरेको छु । डिग्री माइला, माइला डट कम, घुमि्रएको कपाल, जिरो जिरो जेड, मीतज्यू, सिरुमारानी, वैतरणी क्याफे लगायत नाटक निर्देशन गरेको छु ।

मैले खेलेका फिल्ममध्ये आधाजसो सँगै बसेर हेरेका छौँ । मैले अभिनय, निर्देशन गरेका नाटक पनि हेरेकी छिन् । मेरो काम उनलाई मन पर्यो भने मन पर्यो भन्छिन् । मन परेन भने ‘ठीकै’ भन्छिन् । कस्तो लाग्यो भनेर सोध्छु । उनले ‘ठीकै’ भनिन् भने मैले बुझ्छु कि राम्रो भएनछ ।

म त्यसै भावुक हुँदा

त्यस्तो खास सम्झनायोग्य दुःखमा त होइन, फेरि पनि हामी धेरैपटक सँगै रोएका छौँ, सँगै दिल खोलेर हाँसेका छौँ ।
म अलि भावुक प्रकृतिको छु । साना कुराले छुन्छन् मलाई । म सामान्य किसान परिवारमा जन्मेको हुँ, भोजपुरको खावा गाविसमा । अहिले मेरो बुवा हुनुहुन्न, बुवालाई गुमाएको दुई वर्ष भयो । आमाहरु हुनुहुन्छ गाउँमा, दुइटी आमा हो हाम्रो । मेरो एक दाइ र दुई बहिनी छन् ।

मेरो एसएलसी ०५४ सालको सायद । भोजपुरमै इन्टर पढ्दै थिएँ, ब्याक ल्याग्यो, त्यही निहुँमा काठमाडौं आएँ । सुरुमा म काकाकाकीसँग बस्थेँ । बिहेपछि म घट्टेकुलो बस्न थालेँ ।

मैले सहरमा जसरी संघर्ष गरेँ, त्यो मेरो परिवारले देखेन । म आमाबुवालाई सम्झेर कहिलेकाहीँ त्यत्तिकै भावुक हुन्थेँ, यस्तो बेला उनी पनि मसँगै भावुक भइदिन्थिन् ।

अहिले मेरो परिवारलाई गाउँमा बेसरी दुःख भएको पनि होइन र मैले परिवारलाई यहाँ ल्याएर राख्न नसक्ने पनि होइन । तर पनि म कहिलेकाहीँ घर, आमा सम्झेर भावुक हुन्छु । थाहा छैन, यो मेरो कमजोरी हो कि, शक्ति के हो !
म कहिलेकाहीँ त्यसै एकोहोरिएका बेला उनले सोध्छिन्, ख्याल गर्छिन् । यस्तो बेला लाग्छ कि उनै त छन् जीवनमा ।

मैले आमालाई जति माया गरे पनि एकछिन फोनमा बोल्छु, आदर व्यक्त गर्छु, त्यत्ति हो । तर, उनले मेरी आमासँग धेरै कुरा सोध्छिन् । उनको कुरामै थाहा हुन्छ कि उनले आमाप्रति पूरै मन दिएकी छिन्, जो मैले दिन सकेको छैन, पाएको छैन । यो आमाप्रतिको मेरो जिम्मेवारी पनि उनले जसरी वहन गरेकी छिन्, यसले उनीप्रति मेरो भरोसा चुलिन्छ भनौँ ।
उनी पक्का आमा छिन् । छोराको अति नै ख्याल गर्छिन् । आफ्नो मात्रै होइन कि उनले अर्काको बच्चालाई ख्याल गरेको पनि मैले देखेको छु । उनी बच्चाहरुलाई औधि माया गर्छिन् ।

मेरा लागि व्यावसायिक गायन छाडिन्

Benuka-Raiसाह्रै शालिन छिन् । उनको मलाई मन पर्ने गुण, स्वभाव यही हो भन्न गाह्रो हुन्छ । सबै कुरा मन परेरै होला त उनीप्रति आजसम्म मेरो कुनै गुनासो छैन ।

आज मलाई धेरै दर्शकले मन पराउनुहुन्छ, माया गर्नुहुन्छ । तर, उनले मलाई त्यतिबेला साथ दिइन्, जतिबेला म संघर्षरत थिएँ । उनले मेरो सपनालाई साथ दिइन् । उनी त्यति बेला व्यावसायिक रुपमा गाउन थालिसकेकी थिइन् । जब हामीले प्रेमको महसुस गर्यौँ, उनले आफ्ना सपनालाई भुलिन् । मसँग बिहे गरेपछि उनले व्यावसायिक ढंगले गाउन छाडिन् । भनिन् कि ‘म एकेडेमिक तवरले संगीत पढ्छु । व्यावसायिक ढंगले गाउँदिनँ ।’

बिहेपछि उनले कलेज मात्रै पढिन्, गाउनतिर त्यति ध्यान दिइनन् । अहिले ललीतकलामा म्युजिकमा मास्टर्स गर्दै छन् ।

उनले आफ्नो करिअरलाई तिलाञ्जली दिएर मलाई साथ दिइन् । उनको यही नै मप्रतिको सबैभन्दा ठूलो गुन हो ।

(तस्वीर बेनुका रार्इको फेसबुक पेजबाट लिइएको हो)

प्रस्तुति: ध्रुवसत्य परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?