क्यान्सर भन्नेबित्तिकै मानिसहरू तर्सिन्छन् । क्यान्सरले मानिसको ज्यानै लिन सक्ने भएकाले तर्सिनु अस्वाभाविक होइन ।
हो, क्यान्सरले ज्यान लिन्छ । तर, चाँडै उपचार गरे यो निको पनि हुन्छ । धेरै नेपाली क्यान्सरको उपचार गर्न विदेश जान्छन् । महँगो खर्च व्यहोर्छन् । तर, क्यान्सरको उपचार नेपालमै सम्भव छ । एकाध अवस्थाबाहेक क्यान्सरको उपचारका लागि विदेश जानुनपर्ने चिकित्सक बताउँछन् ।
क्यान्सर दिवसका अवसरमा यस रोगबारे नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष डा. सुदीप श्रेष्ठसँग अनलाइनखबरले गरेको प्रश्नोत्तरः
क्यान्सर के हो ?
क्यान्सरलाई नेेपालीमा अर्बुद रोग भनिन्छ । मानिसको शरीर असंख्य कोशिका मिलेर बनेको हुन्छ, जसरी एउटा घर असंख्य इँटाहरूले मिलेर बनेको हुन्छ । ती कोशिकामा कुनै कारणवश खराबी उत्पन्न भएर त्यसले क्यान्सरको रूप लिन सक्छ । क्यान्सरले ग्रस्त कोशिकामा यस्तोे गुण उत्पन्न हुन्छ, जसले गर्दा अरू धेरै क्यान्सरग्रस्त कोशिका जन्मिन्छन् । यसबाट त्यो स्थानमा मासुको डल्लो विकास हुन्छ । यस्तो डल्लोलाई ट्युमर पनि भनिन्छ ।
क्यान्सरको सबैभन्दा खतरनाक लक्षण भनेको एकै ठाउँमा सीमित नभई शरीरका विभिन्न भागमा फैलिनु हो । समयमा उपचार नभए बिस्तारै पूरा शरीरमा फैलिन्छ र बिरामीको मृत्यु हुन्छ । तर, सुरुकै अवस्थामा उपचार भएमा यो निको हुन्छ ।
कुन-कुन अंगमा लाग्न सक्छ ?
क्यान्सर शरीरको कुनै पनि अंगमा लाग्न सक्छ । टाउकोदेखि गोडासम्म जहाँ पनि । यद्यपि, विश्वव्यापी रूपमा हेर्दा पुरुषको हकमा फोक्सोको र महिलाको हकमा पाठेघर र स्तनको क्यान्सर सबैभन्दा बेसी पाइन्छ ।
कुन उमेर समूहमा धेरै खतरा हुन्छ ?
भर्खर जन्मेको बालकदेखि वयोवृद्धसम्म जसलाई पनि लाग्न सक्छ । यद्यपि, अक्सर ३० वर्षमाथिका व्यक्तिलाई बढी हुन्छ ।
के क्यान्सर वंशाणुगत रोग हो ?
करिब पाँचदेखि १० प्रतिशत केसमा वंशाणुगत कारण क्यान्सर भएको पाइन्छ ।
कुन चरणमा उपचार असम्भव हुन्छ ?
क्यान्सरका चार चरण हुन्छन् । पहिलो र दोस्रो चरणमा क्यान्सरको उपचार सम्भव हुन्छ । तेस्रो चरणमा पुगेपछि उपचार गर्न कठिन हुन्छ, यद्यपि असम्भव हुँदैन । चौथो चरणमा भने असम्भव हुन्छ । त्यसपछि आयु लम्ब्याउने काम मात्र हुन सक्छ ।
कुन अंगको क्यान्सर सबैभन्दा जटिल वा खतरनाक मानिन्छ ?
रगतको क्यान्सर वा मस्तिष्कको क्यान्सर जटिल र खतरनाक हुन्छ । यद्यपि, प्रारम्भिक अवस्थामा पत्ता लाग्यो भने निको हुन सक्छ ।
क्यान्सरका प्रारम्भिक लक्षण के-के हुन् ?
क्यान्सरको लक्षण अंगअनुसार फरक-फरक हुन्छन् । तथापि, शरीरमा कुनै पनि रोगको उपचार गर्दा एक महिनाभन्दा लामो समयसम्म बिसेक भएन भने सशंकित बन्नुपर्छ ।
फोक्सोको क्यान्सर हुँदा खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, तौल घट्ने, श्वासप्रश्वास बढ्ने आदि लक्षण देखिन्छन् । पाठेघरको मुखमा क्यान्सर हुँदा सुरुमा सानो घाउ देखापर्छ । श्रीमान्सँग शारीरिक संसर्ग गर्दा रगत बग्न सक्छ । यसैगरी सेतो र गन्हाउने पानी बग्ने, ढाड दुख्ने, तल्लो पेट दुख्नेलगायत लक्षण हुन्छन् । महिनाबारी रोकिएका प्रौढ महिलाको हकमा पाठेघरबाट रगत बग्यो भने क्यान्सरको आशंका गर्न सकिन्छ ।
त्यसैगरी महिलालाई स्तन क्यान्सर हुँदा सुरुमा सानो गिर्खा देखिन्छ । चाँडै उपचार भएन भने पछि स्तनभन्दा बाहिर फैलिन्छ ।
मुखको क्यान्सर हुँदा मुखभित्र जिभ्रो, गिजा वा गालाको भित्री भागमा सानो घाउ देखिन्छ । सुरुकै अवस्थामा उपचार भएन भने यो बढ्दै जान्छ र मुख बाउन समेन नसक्ने हुन्छ । यदि लामो समयसम्म स्वर भासिएको छ भने भोकल कर्ड अर्थात् घाँटीमा रहेको आवाज निकाल्ने जालीको क्यान्सर भएको हुन सक्छ । छाम्दा थाहा हुँदैन ।
घाँटी दुख्ने र ठोस खानेकुरा निल्न नसकिने भयो भने पनि क्यान्सरको आशंका गर्न सकिन्छ । पेटभित्र आमाशयको क्यान्सर हुँदा ग्यास्टि्रक भएजस्तै खाना खाएपछि पेट पोल्ने, पेट ढुस्स हुने लक्षण देखिन्छ । शरीरको तौल घट्दै जाने तथा दिशामा कालो रगत देखिने, रगत वान्ता हुने लगायत लक्षणले पनि क्यान्सरको संकेत गर्छन् । यसको डाइग्नोसिस गर्न इन्डोस्कोपी गराउनुपर्छ । पेटभित्र पाइप छिराएर घाउको वायोप्सी गर्नुपर्छ ।
पेटभित्र ठूलो आन्द्राको क्यान्सर भएमा दिशामा रगत देखिने र कब्जियत हुने लक्षण हुन्छन् । मलद्वारको क्यान्सर हुँदा पनि दिशामा रगत देखिन्छ । कलेजो वा प्यांक्रियाजको क्यान्सर जन्डिसका कारण हुन सक्छ । त्यसैले जन्डिस हँुदा डाक्टरसँग परामर्श नगरी जथाभावी औषधि खानुहुन्न । आयुर्वेदिक औषधि पनि त्यत्तिकै खानुहुन्न ।
छालामा क्यान्सर हुँदा घाउ देखिन्छ । कोठीको आकार र रंगमा परिवर्तन हुन्छ । रगतको क्यान्सर हुँदा साँझपख आउने, तौल घट्ने र खाना नरुच्ने लक्षण हुन्छन् । नाकबाट रगत आउने वा छालामा नीलो धब्बा देखिने पनि हुन सक्छ । हड्डीको क्यान्सर हुँदा जोर्नी दुख्छन् र बिस्तारै सुन्निन्छन् ।
क्यान्सरमा खानपिन र जीवनशैलीको कति भूमिका हुन्छ ?
एकदमै धेरै हुन्छ । झन्डै एकतिहाइ क्यान्सर खानपिन र रहनसहनको गडबडीले भएको पाइन्छ ।
क्यान्सरबाट जोगिन के खानुहुँदैन र के खानुपर्छ ?
अत्यधिक मासु खानु हुँदैन । त्यसमा पनि रातो मासु, बढी बोसोयुक्त मासु र पोलेको मासुबाट सकभर जोगिनुपर्छ । नुन बढी खानु हुँदैन । यस्तै पुरानो र बासी एवं ढुसी परेको खाना पनि खानु हुँदैन । केमिकल मिसाएको खानेकुराबाट पनि जोगिनुपर्छ । मध्यपान, धूमपान सेवनमा नियन्त्रित गर्न आवश्यक छ ।
क्यान्सरबाट बच्न फलफूल तथा सागपात धेरै खानुपर्छ । शारीरिक कसरत गरेर तौल बढ्नबाट रोक्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
क्यान्सर एक व्यक्तिबाट अर्को व्यक्तिमा त सर्दैन नि ?
क्यान्सर सरुवा रोग होइन । सामान्यतः यो एक व्यक्तिबाट अर्कोमा सर्दैन । यद्यपि, कुनै-कुनै क्यान्सर भाइरसका कारण पनि हुन्छ, जस्तै पाठेघरको मुखको क्यान्सर । भाइरस एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ ।
क्यान्सर शतप्रतिशत निको हुन सम्भव छ ?
शतप्रतिशत निको हुन सक्दैन । निको हुने भनेको ७०-८० प्रतिशतसम्म हो ।
एकचोटि उपचार भइसकेको क्यान्सर फेरि बल्झिन सक्छ ?
क्यान्सर बल्झिन सक्ने खतरा धेरै हुन्छ । त्यही भएर उपचार सकिएपछि पनि बिरामीले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । समयसँगै यो बल्झिने खतरा कम हुँदै जान्छ ।
नेपालमा क्यान्सरको उपचार सम्भव छ ?
सम्भव छ । अपवादबाहेक बाहिरी देशमा जस्तै उपचार नेपालमा हुन सक्छ । उपकरण अभावमा कुनै-कुनै अवस्थामा क्यान्सर निदान गर्न गाह्रो हुन्छ । त्यस्तो बेला हामी बिरामीलाई अथवा उसको घाउको नमुनालाई परीक्षणका लागि बाहिर पठाउने गछौर्ंं । यसैगरी कहिलेकाहीँ अत्याधुनिक मेसिनको कमीले जटिल खालका केस बाहिर सिफारिस गर्ने गरिएको छ ।
क्यान्सर उपचारका लागि धेरै नेपाली किन विदेश जान्छन् ?
यसका विभिन्न कारण छन् । कतिपयलाई नेपालमा क्यान्सरको उपचार हुन्छ भन्नेसमेत थाहा छैन । थाहा हुनेमध्ये पनि धेरैलाई नेपाली अस्पताल र चिकित्सकप्रति भरोसा छैन । कोही अरुको लहैलहैमा विदेश जान्छन् । परिवार, आफन्त वा साथीभाइले जोड गर्छन् कि विदेश नै जानुपर्छ । एकाध केसमा भने चिकित्सकले नै विदेशमा जान सिफारिस गर्छन् ।
विदेशमा गएर क्यान्सरको उपचार गर्न नेपालीलाई कति सहज छ ?
सहज छैन । धेरै नेपाली उपचारका लागि विदेश पुगेर दुःख पाएको हामीले देखेका छौं । विदेशमा गएर सही अस्पताल र चिकित्सक भेटाउन सहज छैन । उपचारका नाममा ठगी गर्नेको सिकार पनि बनेका छन् धेरै । त्यसैले हामीले भन्दै आएका छौं कि बाहिर जाने नै हो भने पनि एकपटक नेपालका कुनै विशेषज्ञ चिकित्सकलाई भेटेर सल्लाह लिनु आवश्यक छ ।
नेपालमा र विदेशमा उपचार गर्दा खर्चमा कति फरक पर्ला ?
आकाश-जमिनकै फरक हुन्छ । सामान्यतः नेपालमा भन्दा बाहिर उपचार गराउँदा १० गुणा महँगो पर्न जान्छ । एउटा औसत क्यान्सर रोगीले सम्पूर्ण उपचार प्रक्रिया पूरा गर्दा नेपालमा दुईदेखि तीन लाख खर्च गर्नुपर्छ । जब कि विदेशमा यति पैसाले छोप पनि हुँदैन । सबैले क्यान्सरको उपचार स्वदेशमै गराउने हो भने ठूलो धनराशि बिदेसिनबाट जोगिन्छ ।
कस्तो अवस्थामा क्यान्सरको उपचारका लागि चिकित्सकले विदेश रिफर गर्छन् ?
यस्ता केस थोरै हुन्छन् । जस्तो कि नाक, कान, घाँटी एरियामा ठूलो अपरेसन गर्नुपरे रिफर गरिएको छ । अथवा, फोक्सोको क्यान्सर छ र भित्र नसा छोइरहेको छ भने नेपालमा टेक्निकल्ली अलिकति गाह्रो हुन्छ । अनि, रेडियोथेरापी गर्नुपर्दा नेपालमा भएको मेसिन अलिकति पुरानो भएकाले कहिलेकाहीँ अलिकति असुविधा हुन्छ । कुनै संवेदनशील अंगलाई बचाएर गर्नुपर्दा अत्याधुनिक मेसिन चाहिन्छ । कुनै क्यान्सरको अपरेसन गर्नुअघि पेट स्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा पेट स्क्यान मेसिन नभएकाले यस्तो अवस्थामा बाहिर पठाउनुपर्छ । कस्तो केसलाई बाहिर पठाउने भन्ने कुरा सबै विशेषज्ञलाई थाहा छ । आफूखुसी विदेश जानुपर्दैन ।
नेपालमा क्यान्सर रोगी कति छन् ?
यति नै भनेर यकिन साथ भन्न सकिँदैन । यसमा कुनै सरकारी तथ्यांक पनि छैन । डब्लुएचओको तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा अनुमानित १४ हजार व्यक्ति क्यान्सरका कारण मर्छन् । यद्यपि, यो विश्वसनीय सर्वेक्षणका आधारमा निकालिएको तथ्यांक नभएर अरु मुलुकको आधारमा गरिएको अनुमान मात्रै हो ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4